निर्धा निमुखालाई राहत कहिले

-डा. हरिकुमार श्रेष्ठ / ताइपेई, ताइवान

उजाड छन् मेरा गाउँ, अनि सबै टोल बस्ति ।

त्यही ठाउँका केहीलाई भने अझै भाछ मस्ति ।।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°

खेतबारी चुम्बन गर्दै डूल्ने, हाम्रा किसानवर्ग कस्ता ।

दिनरात मेहनत छ तापनि, दुःखी छन् अझै यस्ता ।।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

छैन चयन रत्तिभर पनि, चाउरी छन् गाला कन्चट ।

आयस्रोत कमी छ विचरा, जीवन गुजार्नै झण्झट ।।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°

लालाबालाको पठनपाठनमा, भइराछ धेरै मुस्किल ।

कुबेरजस्ता वर्गलाई भने, सुविधा सम्पन्न स्कूल ।।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°

जति सरकार परिवर्तन भएनि, किन विभेद यस्तो ।

सबै वर्गले पढ्न सक्ने, कहिले हुने शिक्षा सस्तो ।।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

ब्यापार छ शिक्षामा, नाफा कति कति कमाउने ।

जनतालाई शोषण गरी, गगनचुम्बी महल बनाउने ।।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°

आयआर्जन कति भयो, छैन पारदर्शिता कत्तिपनि ।

आयकर तिर्न पर्ने कति हो, छैन चिन्ता रत्तिपनि ।।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°

नीति नियम कार्यान्वयन छैन, लाचारीपन कत्तिको ।

नेतागण धनाढ्य भइहाले, मालिक छन् चाहे जत्तिको ।।

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°

निर्धा निमुखालाई सेवा दिन, चिन्ता छकि कसैमा ।

नेतागणमा विनम्र अनुरोध, अगाडि बढ्नोस् होसैमा ।।

तपाइँको प्रतिक्रिया