कविता: कता हरायो बिजय ?

-कपिल अधिकारी / ताइपेइ, ताइवान

बसन्तको मधूर बतास जस्तै फुस्फुसाँउथ्यो
बहन्थ्यो
अनी
आकाश पातालको कुरा गर्थ्यो
कहिले बत्तिएर झुल्कन्थ्यो
अनी एकै सासमा ओकल्थ्यो
उ भित्रको उ
सँधै नयाँ संसारको कुरा
पर छितिजतिर हेरेर
सुस्तरी  चल्थे उस्का ओठहरू
सबैलाई उसैसँग हिंडाउन खोज्थ्यो
सबैलाई उसैसँग मिलाउन खोज्थ्यो
मलाई उ उसँगै  बिलाउन खोज्थ्यो
ताजुब लाग्थ्यो
कती संसार बुझेको होला यो सानो मान्छेले ?
झिन्जट लाग्ने गरी महापुराण
सोच्थें
यो मान्छे जे भन्छ के मन ले भनी रहेछ ?
अथवा   
उस्का मुख मात्र चलीरहेछ
कुनै धर्मशालाबाट  आइरहेछ कि
मेरो धर्म परिवर्तन खातिर
भननी र गरनी को फरक देखेका हामी
कसलाई विश्वाश गर्ने ?

++++++++++++++++++

कालन्तरमा

रिमाल को उधघोस् जस्तै
बिशाल आँधी आयो
पछ्याए बिचारहरूलाई पात बनेर थुप्रैले
बेजोड आँधिमा
उ बढेको खबर आयो
उ लडेको खबर आयो
घाइते भएर समाचारमा छायो
भेटें एक दिन उसलाई
फेरी उस्तै फुस्फुसायो
गर्ब का साथ हेर्यो र देखायो
गोली लागेको पाखुरा
मानौं उस्लाई केही भाछैन
शायद मटेङ्रा लागे
आन्दोलन बोकेको पाखुरामा
देख्नेलाई डर
सोचें
मरेको भए शाहीद भनिन्थ्यो

++++++++++++++++++

आज मेरो अगाडि उभिएको छ गर्वको साथ
मसँगै बात गरी रहेछ
हिँडिरहेछ
जिउँदो शहीद
सोचें
यो भननी र गरनी को फरक नभयको मान्छे
बागमतीमा पानी बगिरह्यो
पानी मिसिएर दुर्गन्ध बगीरह्यो
एक दिन उस्ले खुसुक्क भन्यो
पिण्डम स्थान पिण्डम भए जस्तो छ
शहीद को सपना कुल्चिन लागे जस्तो छ
केही बुझिंन 

++++++++++++++++++

चुनाव आयो बोकियो उ
उ भाषाण ठोक्ने बन्यो
भोट तान्ने मेशिन बन्यो
चोक चोकमा भोट मज्जाले सोहर्ने भो
मित्रको लागि
बिजयले बिजयको कुरा गर्‍यो
नयाँ संसार को कुरा गर्‍यो
घाइते र सहिद को प्रतिनिधि गर्दै

++++++++++++++++++
लामो अन्तराल सम्म देखिन उसलाई
कता गयो  उ
कता हरायो आज उस्को सपना
बिग्रेको को हो कि मति उस्को 
भुमिगत भो कि ?
उस्का  दौँतरि र उस्का मित्र
झन्डा हालेर कुदी रहे छन
उस्ले उहिले भनेको नयाँ संसारको कुरा
अहिलेपनि  गरीरहेछन
एजेण्डामा छ भनीरहेछन
झन्डा हालेपछी
उचाई बढे पछी नयाँ संसार
आफ्नै हो कि अरूको पटक पटक बोली रहेछ्न 

++++++++++++++++++

फुस्फुसाउन छाडेर कता हरायो उ  ?
सोच्छु
कतै निमोठिएको सपना को पीडाले हो कि
लुक्यो उ
हरायो  उ
हारको जीत
जीत को हार भईरहेको बेला
कता हरायो बिजय ?
कता हरायो  हाम्रो बिजय ?

तपाइँको प्रतिक्रिया