नेपालका फूल खोज्दै तिन हजार रात

-जँ फँस्वा दोब्रेमे / वनस्पती विशेषज्ञ

म पहिलो पटक १९५० मा नेपाल गएको थिएँ । त्यो बेला मेरो उमेर २८ वर्षको थियो । मैले वनस्पतिविद बन्न आवश्यक पर्ने विश्वबिद्यालयका सबै परिक्षा उत्तीर्ण गरेको थिएँ । शुरुमा म पुष्पविद बनें । जिम्मेवारि झन बढेको थियो । मैले नेपालमा जम्माजम्मी १० वर्ष काम गरें सक्रियतापूर्वक । ४० वर्षको उमेरसम्म । म वनस्पति र फूल हेर्न मात्रै नेपाल गएको थिइन । सारा हिमालय पर्वत श्रृङखला, तिब्बती संस्कृति र इतिहासका लागि पनि गएको थिएँ । नेपाल साहसिक यात्राको थलो पनि हो । 

त्यो बेलासम्म नेपालका वनस्पति र फूलहरूमा कुनै पनि फ्रान्सेलीले अध्ययन गरेका थिएनन् । त्यस्तो अध्ययन ब्रिटिस म्युजियमले गरेको ठूलो आरोहणको प्रारम्भतिर मात्रै शुरु भएको थियो। जापानी वनस्पतिविद पनि पुगेका थिएनन् । वनस्पतिको लागि स्विस नागरिकबाट चो ओयु र सगरमाथाको आरोहण भएको थियो तर फ्रान्सेली भने कोहि थिएनन् । तैपनि आल्प्स क्षेत्र र हिमालय पर्वतका फूलहरूमा थुप्रै समानता छन् भनेर हामीले पहिल्यै शंका गरेका थियौं । आल्प्स र हिमालय पर्वत क्षेत्रका फूलहरूको संरचना (ओर्गानिजासियोँ) मा पनि समानता हुनसक्छ भन्ने शंका गरिएको थियो ।

मेरो पिएचडीको शोध नै ठूला हिमालय पर्वत श्रृङ्खलाका तरिकामा सामूहिक संरचना (सिस्तेम ओर्गानिजास्यों कम्युनोंते ) विद्दमान हुन्छ भनेर देखाउनु थियो । मैले मानवशास्त्री, समाजशास्त्री र भूगोल शास्त्रीहरूसँग पनि निकै काम गरें । हामी सबैले हिमालयमा गरेको अध्ययन र अवलोकनले हाम्रो यूरोपेली हिमालको इतिहासबारे धेरै सिक्न मद्दत गर्‍यो किनभने यूरोपेली हिमालको इतिहास सबै हराइसक्यो ।

डोल्पो पुग्दा त तिन खिल्ली !

मेरो एक भतिज छ– मध्ययुगको इतिहासविद । यसले मध्ययुगमा आल्प्स हिमाली क्षेत्रमा घुमन्ते भएर संगित सामाग्रि बेच्दै हिँड्ने (ईतिनेरँ) ब्यापारी संबन्धमा विशेषज्ञता हासिल गरेको छ । ऊ मसित के ब्याख्या गर्र्छ भने त्यो बेला केही मानिसहरूले ढाडमा सामान बोकेर हिँड्थे । उनीहरू तिन महिनासम्म त्यसरि घुमफिर गरिरहन्थे ।

मैले पनि उसलाई के सुनाएँ भने नेपालमा पनि भरियाहरु बिस्कुट र चुरोट ढाडमा बोकेर गाउँतिर जान्थे । त्यो त मैले नै देखे भेटेको हुँ । उनीहरू जति माथि जान्थे, उति एक, दुइ, तिन, चारवटा गरेर बिस्कुट घटाउँदै जान्थे । मुल्य एउटै हुन्थ्यो । पोखराबाट हिँड्दा एक रुपियाँ पथ्र्यो । दिनभरि हिँडेपछि भोलीपल्ट जहाँ पुग्छन्, त्यहाँ पनि एक पाकेटको एक रुपियाँ नै पर्थ्यो तर एउटा बिस्कुट घटिसकेको हुन्थ्यो । डोल्पो पुग्दा पनि मुल्य त एक रुपियाँ नै हो तर बिस्कुट भने २० वटाबाट घटेर चार वटा मात्रै बाँकि हुन्थ्यो । जति टाढा पुग्यो उति मूल्य बढाउनुभन्दा बिस्कुटका चक्कि घटाउँथे ।

चुरोट पनि त्यस्तै हो । बिस खिल्लीको आशा चुरोटको बट्टामा डोल्पो पुग्दा तिन खिल्ली मात्रै बाँकि हुन्थ्यो । अहिले त त्यो चलन हरायो । अनि मैले मेरो भतिजलाई मध्ययुगमा पनि त्यस्तै हुन्थ्यो कि खोजि गर्नु भनेको थिएँ । ब्यापारको नियमितीकरण गर्ने एउटा गज्जबको तरिका होइन त त्यो ? नेपाली समाजमा एक पाकेट आशा चुरोट र एक पाकेट नेबीको बिस्कुटको एक एक रुपियाँ पर्छ भनेर भिजिसकेको थियो । त्योभन्दा बढि भए किन्दैनथे । त्यो १९७० तिर देखेको हुँ मैले । म अझै संझन्छु कि हामी एकदम उत्तर मनाङ, मुस्ताङ, डोल्पोतिर जाँदा चिया र सलाई उपहार लगिदिन्थ्यौं ।

(नेपालमा वर्षौं वर्षदेखि विविध अध्ययन, अनुसन्धान अनुभव लिएका विशिष्ठ फ्रान्सेलीहरुको नेपाल अनुभव बारे मेरो प्रकाशोन्मुख पुस्तकको सानो अंश हो यो । विनोद ढुंगेलले सम्पादन गरेको यो पुस्तक जगदम्बा प्रकाशनले प्रकाशित गर्न लागेको हो । पुस्तक वैशाखको पहिलो साता बजारमा आउनेछ )

तपाइँको प्रतिक्रिया