जीवन बराबर अभिनय

−अनुकुल प्रकाश

भन्छन्….

जगत एक रङ्गमन्च

जीवन बराबर अभिनय

ऊ प……….र

पहरासङ्ग ल्हाक्पा खेल्दै

प्रीतमा मदमस्त लहरालाई हेरत !

ए साँच्चै हेरत !

त्यो प्रेमिल आलिङ्गनको

स्पर्शमा स्खलित

पहराका कापहरु

रेशा रेशा भएर

कतै कुलुकुलु सुलुसुलु

कतै कलकल सलसल

कतै छङ् छङ् छङ् छङ्

बगीरहेछ बगी….रहेछ

नि..र..न्त..र

त्यो अटुट प्रेमको अभिनय हैन र ??

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

भन्छन्…..

जगत एक रङ्गमन्च

जीवन बराबर अभिनय

यता बागमा

वेफिक्री निस्फिक्री

फूलको वैँशमाथि

घरिघरी मनपरी

गरिरहेछ भँमरा

र पनी

अझै लुटिन लुटाउन उद्देलित

हावाका पातलआ रेशमहरुसङ्गै

लहराउँदै फहराउँदै

वेपर्वाह मस्किरहेकी फूललाई हेरत !!

के यो अभिनय समर्पण हैन र ??

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

भन्छन्

जगत एक रङ्गमन्च

जीवन बराबर अभिनय

एकोहोरो एकोहोरो

गगन नियाली

वुँद वुँद मायाँको आशमा

आफ्नो छातीको क्यानभाषमा

कैयन् सजीव स्रीष्ट्रिचित्र

खोप्न, रोप्प्न, फूलाउन, फलाउन

आँखाभरी बग्रेल्ती

बसन्ती सपना सजाएर

लमतन्न पोल्टो फैलाएर

सत्रङ्ङ पल्टिरहेकी धर्तीलाई हेरत !!

के यो अभिनय विश्वासको

प्रतिक्षाको चरमसीमा हैन र ??

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

भन्छन्

जगत एक रङ्गमन्च

जीवन बराबर अभिनय

हो यदी

तिमीपनी यही मान्छौ भने

आउ यो समयपर्दामा

यि भञ्ज्याङगमा

लाँकुरीलाइ साक्षी राखी

एउटा जीवन्त अभिनय गरौं

जहाँ

तिम्रो कथा मेरो व्यथा

मेरो कथा तिम्रो व्यथाको फ्युजन होस् !!!

तपाइँको प्रतिक्रिया