गुणस्तरीय वैज्ञानिक चाहिएको छ

डा. हरिकुमार श्रेष्ठ / पाटन, नेपाल

मैले सुनेको छु

मैले बुझेको छु

अनि मैले सम्झेको पनि छु कि

मेरा पुख्र्यौलीका पुख्र्यौलीहरुले

विकास गरेका बोटबिरुवाहरु त

निकै कमजोर थिए रे

त्यसैले त

सानातिना वातावरणीय हलचलले पनि

निकै असर पार्ने भयो रे ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

तर

मेरा सामिप्यमा रहेका पुख्र्यौलीहरुले

विकास गरेका बोटबिरुवाहरु भने

साधारण रोग, कीरा र प्रतिकूल मौषमको धक्काले पनि

खासै असर नपर्ने भए रे

अनि त होला

छत्तिस, छयालिस र बैसठ्ठी त्रिसठ्ठीमा आइपुग्दा त

निकै फलदायी भए रे ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

वातावरण परिवर्तन भैरहेछ

सायद त्यसैले होला

हिजो आजका रोग तथा कीराहरु त

वातावरणीय प्रभावसँग मुकाविला गर्दै

रुप परिवर्तन गर्नेसम्म भए रे

हुँदा हुँदा मेरा पुख्र्यौलीहरुले

विकास गरेका बोटबिरुवाहरु त

मन्दमन्द गति र प्रवाहमा

दिन प्रतिदिन क्षीण बन्दै गएको देखेर

हाम्रा कृषकहरु र वैज्ञानिकहरु त आश्चर्य चकित पर्न थाले रे ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

किनकि

हाम्रो देशमा पनि विदेशबाट आयातित

हुलका हुल बिध्वंशकारी कीराको चलखेल बढ्न थाल्यो रे

तराईको लहलहाउँदो धान, गहुँ र तरकारी बाली

नाश गर्न पल्केका कीराहरु त पहाडी क्षेत्र छिचोल्दै

मुस्तांग र सोलु क्षेत्रका स्याउ, अंगुर, खुर्पानी

अनि फापर, आलू, जौ र उवा बाली नाश गर्न पुगे रे ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

त्यतिमात्र कहाँ हो र

तिनीहरु त प्रतिकूल वातावरणमा पनि

निकै नै प्रतिरोधि भए रे

अनि त

हिजो आज हाम्रा देशका

होनाहार कीट वैज्ञानिकलाई पनि

यसको नियन्त्रण गर्न हम्मेहम्मे पर्यो रे

त्यसैले त हाम्रा कृषि व्यवसाय गरी बस्ने

बिचरा दुखी र दरिद्री कृषकहरु त झनै हाल बेहालै भए रे

तापनि कताकति त

एकदुई डोज नयां ब्राण्डको विषादि छर्न सकेकाले

त्यसले त्यति क्षति गर्न भ्याएन रे ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

तर

आजकलका बोटबिरुवाहरुभने

हाम्रा शहीदका रगतले सिंचित माटो

अनि कठिन बारुदे धुवाधुलोको

मुस्लोमा पनि हुर्कन थालेकोले

प्रतिकूल मौषममा पनि निकै प्रतिस्पर्धि बन्न थालेको छ

बिध्वंशकारी कीराहरुको असर पनि निकै क्षीण बन्दै गएको छ ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

सायद आजकलका बिरुवामा

जीन परिवर्तिन भएकोले

प्रतिकूल मौषम पनि सहन सक्ने भएर पो हो कि

वा, आक्रमणकारी कीराको

बंशाणुगत गुणमा आएको ह्रासले हो

बाली नालीको उत्पादकत्व ह्वात्तै बढेको छ

तापनि,

गुणस्तरभने नकारात्मक दिशातिर लम्केको छ

त्यसैले त आज हाम्रो देशमा

यी क्षेत्रहरु अनुसन्धानको विषय बनेका छन्

केही प्रतिवेदनहरु पनि तयार भएका छन् ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°

तर

समस्याको जड पत्ता लगाई सही उपचार दिने

वैज्ञानिकको भने अभावै खड्किएको छ

विदेशबाट आयातित रोगकीराको निर्मूल पारी

भोका पिडित जनतालाई दिनमा दुई छाक टार्ने

गुणस्तरीय खाना चाहिएको छ

त्यसैले त हाम्रो देशमा अझै

उपयुक्त गुणस्तरीय वैज्ञानिक चाहिएको छ ।

तपाइँको प्रतिक्रिया