को जिल्लियो ? भारतकी माओवादी ?
माओवादीको स्थायी समिति बैठकमा एमाले अध्यक्ष खनाललाई प्रधानमन्त्री चुनावमा मत हाल्ने नहाल्ने विषयमा चर्का चर्की नै पर्यो । वैद्य र भट्टराई समूह मत नहाल्ने पक्षमा थिए । प्रचण्ड पक्षको बहुमत पुगेकाले खनाललाई मत दिने पक्षमा निर्णय गरियो । तर भट्टराई पक्षकाले नोट अफ डिसेन्ट लेखेर त्यो निर्णयको विरोध गरे । उनीहरूको दाबी थियो- यस पटक भारतलाई जिल्ल्याइयो । हाम्रो देशको प्रधानमन्त्री निर्वाचनमा भारतले खेल्न खोजेकाले त्यसलाई रोक्न सफल भइयो । तर अहिले हेर्दा स्पष्ठै देखियो- भारत होइन रहेछ त जिल्लीएको, माओवादी रहेछ ।
माधवकुमार नेपाललाई सधैँ भारतीय आशीर्वादको भनेर आरोप लगाइरहे माओवादीले । केपी ओली सधैँ भारतीय गोटीमा चल्ने आरोप लगाए । नेपालको शान्ति र संविधान भाँड्न भारतले फेरीपनि नेपालमा प्रधानमन्त्रीको चुनाव हुन दिन नचाहेको । यही सरकारलाई घसार्दै लगेर जेठ १४ पछि राष्ट्रपतीय सरकार लाद्ने । वा माधव नेपाललाई नै टिकाएर देशमा हत्या र हिंसा मच्चाउने । त्यसलाई रोक्न माओवादीले एमाले अध्यक्ष झलनाथ खनाललाई भारत विरोधी देखे । भारतले झलनाथ लाईपनि प्रधानमन्त्री बन्न दिँदैन किनभने खनाल भारत विरोधी हुन् भनेर व्याख्या गरे । माओवादीको यो बुझाइ र भनाइ गलत रहेछ ।
भारत विरोधी भनिएका खनाल त भारतकै मान्छे पो रहेछन् । प्रचण्डसित गरिएको सात बुँदे सहमति भारतकै चलखेलका कारण खनालले नटेरेको आरोप लगाएका छन् । आफूहरूले ईमान्दारिपूर्वक प्रधानमन्त्रीमा समर्थन गरेको एमालेलाई तर भारतीय प्रभावमै परेर एमालेले त्यो सहमति पालना नगरेको आरोप प्रचण्ड र बाबुराम भट्टराई दुबैले लगाएका छन् ।
भारतीयहरूको दबाब र प्रभावकै कारण खनालले माओवादीसितको सहमति पालना गर्न खुट्टा कमाएको, यो सरकारको विश्वास नभएको आरोपपनि लगाएका छन् । हप्ता दिन भित्रैमा पक्कैपनि खनाल भारतीय पक्षका बनेका त होइनन् होला । एमालेको सबै गुट र पक्षलाई भारतले हालसालै मात्रै प्रभावमा पारेको त अवश्यै होइन होला । जसलाई समर्थन गरेपनि, जसको प्रधानमन्त्रीत्वमा बनेपनि आखिर भारतकै हात माथि हुने रहेछ । विजय कुमार गच्छदार त भारतीयनै भए । रामचन्द्र पौडेलपनि भारतीय चाखकै । प्रधानमन्त्री भएको तेस्रो दिनबाटै माओवादीसितको सहमति पालना गर्न नमान्ने र भारतीयका कुरा सुन्ने खनाललाई चिन्न नसक्नु कसको गल्ति हो ? खनाललाई प्रधानमन्त्रीमा जिताएर भारतलाई जिल्ल्यायौं भन्ने माओवादी जिल्लिएको रहेछ कि भारत ?




