नौ जिल्ला ठप्प पार्ने यस्ता फुच्चे पो ?

(अपडेट-सङ्घीय लिम्बूवान राज्य परिषदले अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएको छ। )

केन्द्रमा सत्ताका लागि भाँडभैलो भएपनि पूर्वका नौ जिल्ला यति खेर ठप्प छन् । बाटो बन्द गरिएको छ । व्यापार व्यवसाय शून्य छ । जनतामाथि बन्दको मारले थप सास्ती दिएको छ । तर सत्ताको माखे साङ्लामा मात्रै रमाउने दल, नेता र त्यसैको झोली पिट्ने सञ्चार माध्यमहरूले यसलाई खासै वास्ता गरेका छैनन् । अहिले अरुण पूर्वका नौ जिल्ला ठप्प पारेका छन् संघिय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले । आन्दोलनकर्ताले आम जनताको सहभागिता रहेको भनेको आन्दोलनमा कस्ता मान्छे सहभागी छन् हेर्नुस् त ।

तस्विर आफैँ बोल्छ । सबै भर्खरका किशोर किशोरी । संघिय राज्य परिषदका मागहरूमा यदि ती नौ जिल्लाका जनताको समर्थन, विश्वास हुने हो भने किन आन्दोलनमा यस्तो सहभागिता ? सबै अल्लारे उमेरका । यी मध्ये अधिकांशको उमेर २० पनि कटेको देखिँदैन ।

संघिय लिम्बुवान राज परिषदले विभिन्न राजनीतिक  माग राख्दै अरुण पूर्वका नौ जिल्लामा आन्दोलन गर्दै आएको निकै भयो । उनीहरूको मुख्य माग संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर,धनकुटा इलाम झापा, मोरङ र सुनसरीलाई  स्वायत्त लिम्बुवान राज्य घोषणा गरिनुपर्ने । त्यही माग पुर गराउन गत २२ गते धनकुटामा शान्तिपूर्ण आन्दोलन गरेका रहेछन् उनीहरूले । तर त्यस दिन उनीहरूको भनाईमा सरकार र एमाले मिलेर तोडफोड गरि त्यो दोष लिम्बुवानलाई लगाउने लगाएछन् । अनि आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै हिजो अर्को आन्दोलन गरे । आफ्ना कार्यकर्तालाई बिना शर्त रिहाइ र माग २२ मा तोडफोड गर्नेमाथि सख्त कारवाही । अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्ने संवैधानिक तरिकाले । यो माग पुरा नभएसम्म अनिश्चितकालिन सडक बन्द गरिने रे ।

यो राजनीतिक माग हो । सबैलाई संविधानले दिएको छ आफ्ना माग राखेर आन्दोलन गर्ने अधिकार । र सबै जात जाति, भाषा भाषी, धर्म संस्क्रिति र संस्कारकाले समान अधिकार, आफ्नो पहिचान कायम गर्न पाउनुपर्छ । तर जनताको नाममा गरिने आन्दोलनले, आफूले राखेका मागले जनतालाईपनि त जगाउन सक्नुपर्छ नि हैन ?

नौ जिल्लाका सारा जनता जागेका छन्, हाम्रो समर्थन छ भन्ने अनि यस्सो एकाध सय यस्ता किशोर किशोरीलाई मात्रै ल्याएर के त्यो दाबी सिद्द सकिन्छ र ? देशको नौ जिल्लालाई स्वायत्त घोषणा गर्ने के जोक हो र ? यस्ता किशोरहरू उचालिएकै भरमा चल्छ ? किनभने माग जसले पुरा गर्नुपर्ने हो उसलेपनि त आन्दोलनको औचित्य, जनताको सहभागिता र आन्दोलनकारीको शक्ति हेर्ला नी हैन ?

(फोटो सौजन्य- संघिय लिम्बुवान राज्य परिषद)

तपाइँको प्रतिक्रिया