छुटेका पल र अनुभूती
-विद्या सापकोटा ‘निर्जला’
केही पलको लागी के विदा मागेथेँ मागेथेँ ??
ममा केही बाँकि रहेन, केवल शून्य अनि शून्यता ।।
बेहोसिमा ढलेथेँ,
भिजेका सिरानी वीच, कसैले सुस्तसुस्त मेरो घुम्टो उठायो,
मैले देखेँ……….. सूर्यको रक्तिम किरणमा मेरो……….ऊ ।।
कल्पनामा झुमेछु क्यार म पुनः पल्टिएँ
निस्लोट भएर…………………………..
आजको दिन….आजको रात…..तिमी कहाँ म कहाँ ? ?
सपनीमा फुस्फुसाउदैं थियो मेरो…………..ऊ ।।
म सपनीमै अलमस्त थिए सायद !
विहानीको पहिलो प्रहरमै,
कसैको तातो चुम्बनले झस्किँदै ब्यूझिएँ,
रविको पहिलो किरण बनेर आएछ मेरो………..ऊ ।।
चाडवाडको माहौल थियो, सबै आफैँका ब्यस्त,
पिङको प्रत्येक झड्का-झड्कामा
मेरो एकांकीलाइ भङ्ग गर्दै
मायालु स्पर्शमा आइरह्यो, मेरो……………….ऊ ।।
जव म,
उचालिँदैं प्रत्येक डाँडाकाडाको वीचमा निहार्थे,
हिमालसँगै मुस्कुराइरहेको हुन्थ्यो, मेरो………………..ऊ ।।
पहाडका प्रत्येक खोंचखोंचको वीचबाट
झरनाको प्रत्येक झंकारसँगै
विद्या……विद्या…… सुसेलिरहेको हुन्थ्यो, मेरो…………ऊ ।।
पवनको प्रत्येक स्पर्शमा,
मेरा पर्खाइका प्रत्येक पलपलमा,
मैले लिएका प्रत्येक निश्वासमा
मैले हेरेका प्रत्येक बस्तु बस्तुमा
मैले पाएँ मैरै ………………………………………..ऊ ।।
अनि पो मैले बुझें,
म छुट्टिएको नै कहाँ रहेछु र ? ?
म भागेर पनि कहाँ भाग्न सक्ने रैछु ? ?
साँच्चै, समाहित भैसकेछु उसैमा,
मेरो कल्पनाको ……………………………………..ऊ
मेरो सपनाको………………………………………..ऊ
मेरो चाहना/उत्मत्तताको ………………………….ऊ
बेखबर मलाइ हराउने ‘एक्लो विजेता’………..मेरो ऊ ।।
संपर्क- [email protected]