नेपालमा झोलुंगे पुल बनाउन फ्रान्समा नेपाली साँझ
नेपालको अति दूर्गम ठाउँ सोलुखुम्बु जिल्ला । त्यसको पनि नुनथला भन्ने गाउँ । काठमाडौंबाट करिब १२ घण्टा बस चढेर जिरी पुगेपछि कस्सिएर ४, ५ दिनपछि बल्ल त्यो गाउँ पुगिने रहेछ । स्कूल छैन । बाटो घाटो हुने कुरै छैन । बिजुली बत्ती त तिनले देख्ने कुरै भएन । यातायातका साधन त सुनेर जिल्ल पर्ने मात्रै हो । त्यही माथि नेपालका खोला । अर्कालाई आकर्षण थप्न निस्केका हुन् । स्थानीय जनतालाई कष्ट । स्कूल, क्याम्पस बनाएर तिनको स्वास्थ्य, सौर्य उर्जा बनाइदिएर तिनको दुखमा गत १७ वर्षदेखि साथ दिँदै आएको फ्रान्सेली संस्था नेपाल ए भू (नेपाल र तपाई) । यसले अस्ति शनिवार साँझ नेपाली साँझ आयोजना गर्यो । अबको उद्देश्य करिब ४५ लाख नेपाली रुपियाँमा त्यही गाउँमा झोलुंगे पुल बनाइदिने । त्यही पैसा उठाउन यीनले पेरिसबाट करिब ५५ किमी टाढा मोतातेयर भन्ने ठाउँमा यो साँझ आयोजना गरेका थिए ।
नेपाल ए भूका अध्यक्ष जँ पियर मेर्सिएले आयोजना गरेको कार्यक्रम अन्यत्र भन्दा विशेष हुन्छ । किनभने उनी त्यहाँको नगरपालिका र क्षेत्रीय कार्यालयका सल्लाहकार हुन् । त्यसैले यो कार्यक्रममापनि क्षेत्रीय कार्यालयका उप महा निर्देशक, नगरपालिकाकी उपमेयर लगायत महत्वपूर्ण ब्यक्ति आएका थिए । तिनले मन खुलेर नेपालको प्रशंसा गरे । आफूहरू दयालु भएको भनेर तारिफपनि गरे । हाम्रा राजदूत मोहनक्रिष्ण श्रेष्ठले नेपाल र फ्रान्स बीचको सौहार्दपूर्ण संवन्धका बारेमा चर्चा मात्रै गरेनन् । फ्रान्सेलीहरूको सहयोगको सराहना गरे । अनि नेपाल पर्यटक वर्ष २०११ को चर्चा गर्नपनि भ्याए । उनले नेपालको प्राक्रितिक स्रोत र साधनको आँकडा सुनाउँदा ओ हो हो यत्रा धेरै चुचुरा छन् है नेपालमा भन्दै क्षेत्रीय कार्यालयका अधिकारीहरु जिल्ल पर्दै थिए । लामो समयपछि नेपालमा नयाँ सरकार गठन भएको, नेपालमा शान्ति र सुव्यवस्थामा सुधार भएको नयाँ नयाँ लगानी तथा पर्यटन विकासका लागि नेपाल सरकार खुल्ला र आतुर रहेको भन्दै फ्रान्सेली भाषामै बोलेर प्रचार गर्न भ्याइहाले ।
नेपालको विविध क्षेत्र र पक्षका बारेमा उजागर गर्ने तस्विरहरु प्रशस्त थिए । प्रवेशद्वारमै रहेका यी तस्विरले धेरैको ध्यान तानेको थियो ।
झट्ट हलमा पस्दा नेपालको कुनै मन्दिरझैं लाग्ने बनाएका थिए । पुरै ध्वजा र पताका हाम्रै मन्दिरमा झैं हल्लिएका थिए ।

झोलुंगे पूल बनाउन लाग्ने लाग्ने करिब ४५ लाख दाल भात बेचेर मात्रै हुन्छ ? अनेक तरिकाले उठाउनुपर्छ रकम । उनीहरुले हरेक पटक नेपाल जाँदा नेपाली टोपी, थैली, अगरबत्ती, बाला, झोला, टप लगायतका सामान ल्याउँछन् । नेपाली साँझका दिन यसैगरि बिक्रि गर्छन् । यसो गर्दा नेपाल चिनाउँछ र केहि रकमको जोहो पनि गर्छ ।
सकारात्मक पक्ष । गतसाल यो संस्थालाई सहयोग गर्न पुग्ने म एक्लो नेपाली थिएँ । नाम नेपाली साँझ भनेपनि फ्रान्सेली साँझा वा भारतीय साँझ भने जस्तो । नेपाली साँझ भनेपनि सहभागि फ्रान्सेली । आयोजना सबै फ्रान्सेली । नेपाली खाना पकाउनेपनि फ्रान्सेली। काम गर्ने फ्रान्सेली । नाच्ने चाहिँ मोरिससका भारतीय । यो पटक झण्डै एक दर्जन नेपाली भइयो । लबिना (पहिलो) र आमोद (दोस्रो) ले नेपाली न्रित्य देखाए थोरै भएपनि । काजी शेर्पा नेपाली खाना पकाउन पुगे । एक अर्काबिच सांस्क्रितिक आदान प्रदान पनि गर्ने उद्देश्य संस्थाको भएकाले यो पटक फ्रान्सेली नाच (तेस्रो) र मोरिससका भारतीयको नाच (चौथो) पनि थियो । गतसाल नेपाली दूतावासको सहभागिता थिएन । उनीहरुले, ज्यादै दुख पोखेका थिए मै सित । यस पटक हाम्रा राजदूत मोहनक्रिष्ण श्रेष्ठ पुगेकोमा ज्यादै हर्षित भए ।

यी सबै न्रित्य र संगितमा नाच्दै सहभागिहरु ।
फ्रान्सेली दिदीलाई क्या सुहाउने है नेपाली ढाकाको चौबन्दीमा नेपाली खाना बाँड्दै हिँड्दा ?
मोतातेयरकी उप नगरपालीका प्रमुख हुन् यी महिला । नेपाल कहिल्यै नपुगेकी । तर नेपालप्रेमी । यीनलाई नेपाल घुम्न निम्तो दिँदै नेपाल ए भु का अध्यक्ष जँ पियर मेर्सिए ।
यहि संस्थाले अघिल्लो वर्ष गरेको कार्यक्रम














