स्विजरल्याण्डमा गरे नेपालीले साम्राज्यवाद विरोधी प्रदर्शन

-आशीष / स्विजरल्याण्ड

स्विट्जरल्यान्डको डाबोस सहरमा भइरहेको विश्व आर्थिक मंच तथा साम्राज्यवादको विरोध गर्दै स्विट्जरल्यान्डको एक प्रमुख सहर सेन्ट गालेनमा शनिवार नेपालीहरूले प्रदर्शन गरे ।

स्विस कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी स्विट्जरल्यान्ड, स्विस मजदुर संगठन, टर्किस कम्युनिस्ट पार्टी (माओबादी),पेरू कम्युनिस्ट पार्टी (माओबादी) तथा नेपाली ऐक्यवद्यता मंच (नेसोफ स्विस) लगायतका प्रगतिशील संगठनहरुको आयोजनामा भएको सो विरोध प्रदर्शन भव्य रूपमा सम्पन्न भएको थियो ।

शनिवार दिउँसो १४.०० बजे बानफ प्लाट्जबाट सुरु भयको विरोध र्‍याली सहरका विभिन्न क्षेत्रको परिक्रमा गरि सोही ठाउँमा गएर बिसर्जन भएको थियो ।

अमेरिकी र युरोपीय साम्राज्यवाद र पुँजीवादको होडबाजीको बीचमा विश्वका कयौं सर्वहारा किसान र गरिब जनताको हक अधिकारलाई कुण्ठित गर्ने तथा सधैँ तल्लो दर्जामा राखेर हेरिने र त्यही अनुसार व्यवहार गरिनुले पनि डाभोसमा भइरहेको उक्त सम्मेलनको विरोध तथा भन्डाफोर गरिएको आयोजकको तर्फबाट जानकारी गराइएको थियो । सो अवसरमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले यसलाई तुरुन्त बन्द गरिनु पर्ने कुरामा जोड दिएका थिए । गरिब जनता र मजदुरहरूले तिर्ने करबाट पुँजीपति वर्ग र पुँजीवादी देशहरूलाई जम्मा पारेर सर्कस प्रदर्शन गरेको भन्दै यस्ता सर्कसहरू तुरुन्त बन्द गरिनु पर्ने माग अधिकांशले गरेका थिए ।

संसार का मजदुरहरू एक हौ, एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओबादी) लेखिएको ब्यानर बोकेर नेसोफ स्विसको टोलि विरोध प्रदर्शनमा सहभागी भयको थियो । साथै प्रदर्शनमा प्रगतिशील वामपन्थी माओबादी श्रीलंकाली कम्युनिष्टहरुलेपनि सोही ब्यानरका साथ संयुक्त नगर परिक्रमा गरेका थिए । सो टोलि र ब्यानर स्थानीय संचार माध्यम र जनमानसमा चासोको विषय बनेको थियो ।

नेपाल र नेपाली जनक्रान्तिको बारेमा साथै नेपालमा चलिरहेको शान्ति प्रक्रियाको प्रगति लगायतका विषयमा स्थानीय संचार माध्यम र सर्वसाधारणले र्‍यालीका सहभागीहरूसँग जिज्ञासा राखेका थिए । स्मरण रहोस् नेसोफ स्विसले आफ्नो स्थापनाकालदेखिनै साम्राज्यवाद तथा बिस्तारबाट विरोधी कार्यक्रमहरू मा सक्रिय सहभागिता जनाउँदै आएको छ ।

तपाइँको प्रतिक्रिया