संस्क्रिति गुम्दाको पीडा पोख्दै पेरिसमा तमु समाज

“यस पटक तमु ल्होसार मनाएका दिन मैले केही खाइन । खानै मन लागेन” पेरिसमा झण्डै साँढे दुई दशक बिताएका लक्ष्मण गुरुङ हिजो असाध्यै भावुक बनेर यसपाली पहिलो पटक गुरुङ जातीको ल्होसार मनाउँदाको हर्ष पीडामा पोख्दै थिए ।  उनी पेरिस आउँदा गन्दापनि  औँलाको भागै नपुग्ने रहेछ गुरुङको संख्या । अनि ल्होसार कसरी मानाउने ? कसले मिलाइदिने ? कोसित बसेर मनाउने ? दशैं आउँछ । तिहार झुल्किन्छ । तीजको चहलपहल देखिन्छ । अरू यस्तै यस्तै पर्व आउँछन् । रमाउँछन् आआफ्ना । टिक लगाउँछन् । आफ्नो पर्व हाँसी खुशिले मनाउँछन् सात समुद्र पारी नै भएपनि ।

तर आफ्नो चाड, आफ्नो पर्व । आफ्नै रीतिथिति । आफ्नै पाराले त्यत्रा वर्षसम्म मनाउन नपाउँदा कसको मन दुख्दैन ? आत्मा रुँदैन ? ल्होसारको मिति मनसम्म त आइपुग्छ । मनाउने रहर जाग्छ । तर एक्लै दुक्लै कसरि मनाउने ? त्यो आफ्नो घरसम्मपनि नभित्रिँदै सम्झना बोकेर टाढिन्छ । साथी भाइ र परिवार सित हाँस्दै रमाएका सम्झनाले घोचेर त्यो बाटो लाग्दा ।  कसलाइ पीडा हुन्न अरू जातिले आफ्ना पर्व मनाएको झल्झली देख्दा ? आफ्नो पर्व मनाउने रहर कसको मनलाई नहोला ?

विधिवत् रूपमा हिजो पेरिसमा तमु समाज गठन गर्न जुटेका तिन दर्जन गुरुङ साथीभाइहरु यतिका वर्षसम्म विदेशमा बसेर आफ्नो संस्क्रिति र पर्व मनाउन नपाउँदाको पीडाले निक्कै भावुक बने । जहाँसुकै हौं हामी, आफ्नो संस्क्रिति र संस्कार छैन भने के गुरुङ ? म गुरुङ हुँ भन्न त गुरुङ संस्कार र संस्क्रिति जोगिनु पर्छ कि नाई ? त्यसको पालना गर्नु पर्छ कि पर्दैन ? न गुरुङ संस्क्रिति, न संस्कार र भाषानै । केही छैन भने त मिस्टर जँ फँस्वा भनेर लेखेपनि भैगो’नि । जातीय पहिचान गुम्यो भने आफ्नो जातै गुम्यो नि । यस्तै तर्क वितर्क गरे । गुरुङ समाजको संख्या र सक्रियता यतिका वर्ष नुहुँदा आफ्नोपनबाट टाढिनुको पीडा कति हुन्छ मुक्त कण्ठले पोखे । 

सिक्लिस हिमालको काख । गुरुङ समाजको बाहुल्यता । स्वच्छ हिमाललाई साक्षी राखेर सफा मनले बसेको । हाँसेको । खेलेको । कञ्चन पानीको स्वाद । गाउँमा स्कूल र धारापनि पधेँरोनै किन नहोस् तिनको निर्माणमा नेत्रित्व समातेर बस्दाको आनन्द र गुमाउँदाको हुटहुटी सुनाएर देवीजंग गुरुङ (माइला भेना) ले तीतो पोखे । दशक भन्दा धेरै बिताउँनेहरुले आफ्नो गाउँ ठाउँ, आफ्नै वस्तिको आफ्नोपन, आफ्नै गुरुङ पारा र पर्व गुम्दाका पीडा सुनाउँदा युवा युवती मुक्त कण्ठले सुनिरहेका थिए ।

हामी गुरुङ जाति गुरुङ भाषै आउन्न, गुरुङको रीतिस्थिति नै बुझिन्न, आफ्ना केटाकेटीलाई सिकाउनै सकिएन भने त हाम्ले आफूलाई किन गुरुङ भन्ने ? पुष्प गुरुङ (अनिता दिदी) सुनाउँदै थिइन । शान्ति गुरुङ अघिल्ला वर्षमा ल्होसार मनाउन नसकेकोमा मन कुड्याउँदै थिइन् । “हाम्ले ठूला कुरा नगरम, जे जे सकिन्छ गर्दै जाम, राम्रो काम गरम, हाम्रो तमु भनेको के कस्तो जाति हो भन्ने कुरो हाम्ले त भुल्नै भएन अरूलाई नि सिकाम भनेर जोसिँदै थिए नारायण गुरुङ । दुबै मोहन गुरुङ त्यसैगरी हौसिएका थिए ।

सबै जना तमु समाज गठन गर्ने, आफ्नो संस्क्रितिलाई फैलाउने, छरिएर रहेका तमुहरूलाई खोजी खोजी संगठित गर्ने, सानोतिनो समस्याले जेलिएर बाटो पहिल्याउन नसकेकालाइ सकेको सहयोग गर्ने उद्देश्यलेपनि तमु समाज गठन गर्नैपर्छ भन्ने निचोडमा पुगे ।

तमु समाज गठन त गर्ने । कसरि ? प्रस्ताव गरेकै भरमा बन्दा कोठामा पद र कुर्सी बाँडिदिएर के काम ? लट्ठी उभ्याइदिए’नी भो नि पदका लागि मात्रै हो भने त ! त्यसैले बहस गर्नुपर्छ । छलफल गर्नुपर्छ । तर्क र सबैका राय माँझेपछि बल्ल त्यो सक्षम बन्छ भन्दै केही बेर कस्सिए । अनि गठन गरे तमु समाज पेरिस ।

सर्वसम्मतिले लक्ष्मण गुरुङको अध्यक्षतामा ११ सदस्य भएको समिति बन्यो । उपाध्यक्षमा नारायण गुरुङ, महासचिव देवीजंग गुरुङ, सचिवमा हेमा तमुस्यो (गुरुङ जातिको पुरुषलाई तमु र महिलालाई तमुस्यो भन्ने चलन रहेछ), कोषाध्यक्षमा पुष्प तमुस्यो (अनिता दिदी), सह कोषाध्यक्ष अमित तमु छानिए । सदस्यहरूमा तुलाराम गुरुङ, मोहन गुरुङ, राजकुमार गुरुङ, भानु तमुस्यो, सिद्धान्त गुरुङ, शोभा तमुस्यो, गणेश गुरुङ, शान्ति तमुस्यो, दिलीप गुरुङ, पूर्ण गुरुङ, धनेश घले, चन्द्र तमुस्यो, ममता गुरुङ र नारायण गुरुङ चुनिए । शान्ति तमुस्योको संयोजकत्वमा सांस्क्रितिक समिति र नारायण गुरुङको संयोजकत्वमा खेलकुद समिति मात्रै होइन समितिले के कस्तो काम गर्‍यो यस्सो हेरेर सुझाव र खुराक दिनेपनि जाने बुझेका चाहिन्छन् भनेर पेरिसका अनुभवी मोहन गुरुङ मुख्य रहेको सल्लाहकार समितिसमेत गठन गर्न भ्याए ।

तपाइँको प्रतिक्रिया