अनमिन जानासाथ भारतबाट हतियारको ओइरो

देख्नु भो किन रहेछ नेपालको शान्ति संझौता निगरानी गर्न भनेरै बोलाइएको संयुक्त राष्ट्र संघिय अनुगमन निकाय अनमिनलाइ लखेटेको ? शुक्रबार अनमिनको औपचारिक बिदाइ गरियो । त्यसको लगत्तै हिजो भारतबाट हातहतियार र विस्फोटक पदार्थ भित्र्याउने निर्णय गरेको छ सरकारले । अन्मिन बसुन्जेल जलसेना र नेपाली सेना दुबैले त्यसरी हातहतियार ओसार पसार गर्न पाउँदैनथे । पाउन त अहिलेपनि पाइन्न नै । तर अनुगमन गर्ने कसले ? कसले विरोध गर्ने अब अनुगमन गर्ने निष्पक्ष निकायनै नरहेपछि ? 

हिजो भारतबाट प्रकाशित इन्डियन एक्सप्रेस दैनिकले त्यसबारे सार्वजनिक गरेको हो । नेपाली अधिकारीहरू भने त्यसबारे मौन बसेका थिए । इन्डिया टु रेजुम आर्म्स् सप्लाई टु नेपाल शीर्षकमा प्रकाशित एक्सप्रेसको समाचार अनुसार भारतले नेपाली सेनालाई अत्यावश्यक हतियार र बन्दोबस्तीका सामान आपूर्ति गर्न सम्पूर्ण तयारी गरेको छ ।

अनमिनको बहिर्गमन हुनासाथ वाम अतिवादीलाई नियन्त्रण गर्न नेपाली सेनालाई उपलब्ध गराउन लागिएको उल्लेख छ । रिपोर्टका अनुसार सरकारलेनै गत महिना भारत सरकारसित हातहतियार, विस्फोटक पदार्थ लगायतका केही सामाग्री तुरुन्तै उपलब्ध गराउन माग गरेको रहेछ । राइफलको विस्फोटक पदार्थ, तालिमका क्रममा प्रयोग गरिने विस्फोटक सामाग्री, बारुदी सुरुङ विरुद्ध परिचालन गरिने सवारे साधन लगायत माग गरिएको रहेछ । नेपाल सरकारको औपचारिक आग्रह अनुसार भारतीय उच्च निकायसमक्ष त्यसको माग गरेकाले भारतले तत्कालै त्यो माग पुरा गरिदिएको हो । 

यसअघि भारतले उपलब्ध गराएको बख्तरबन्द गाडी, गोली गट्ठा र पुरानो ईन्सास राइफल कमसल रहेको, विद्रोहीको भन्दा कमजोर रहेको गुनासो रहँदै आएको थियो । भारतले नेपाललाई थोत्रा र कमसल हतियार बिक्री गरेकोले आरोपनि लगाइएको थियो । त्यसैले गर्दा अहिले  त्योभन्दा आधुनिक हतियार र बन्दोबस्तीको सामग्री नेपाललाई उपलब्ध गराउन लागेको पत्रिकाले हिजो उल्लेख गरेको छ । 

भारतीय स्थल सेनाध्यक्ष विजयकुमार सिंहले गत महिना नेपालको भ्रमण गरेका थिए । त्यतिबेलै  माओवादी र सरकार बीचको शान्ति संझौता भएपछि अवरुद्ध सैन्य सहयोग सुचारु गर्न सरकारले माग गरेको थियो । त्यस अगाडि देखिनै सैन्य हातहतियार भित्र्याउन पटक पटक प्रयास गरिएको थियो । तालिमका लागि नभै नहुने भन्दै केही पटक त यस अघिपनि भित्र्याइएको थियो । तर खुल्लमखुल्ला रूपमा यसरी भित्र्याउन भने अनमिनको निगरानीले गर्दा संभव भएको थिएन । अहिले अनमिन जानसाथ सरकारले हातहतियारको ओइरो लगाउने निर्णय गरेको हो ।

तपाइँको प्रतिक्रिया