साततले

कपिल अधिकारी / ताइपे, ताइवान

हात, गाला, कन्चटमा कालो पोतिएर

नमो बागे भन्दै

कालो पाटी बोकेर नमुना झर्दा

उकालो लाग्दा

चारै तिर दगुर्दा देखिन्थ्यो सात तले

पहारिलो घामले नुहाएर

थुम्कोमा गजक्क फुलेर बसेको

दङ्ग पर्थ्यो

गर्ब गर्थ्यो मलाई घुरेर

सल्ला घारी

वा

बाग बगेंचा

त्रिशुलीको किनारा

जता ततै छरिन्थ्यो सात तले

घाम को न्यानो किरण जस्तै

+++++++++++++++++

म  लिलिपुट

पढिन्थ्यो, पढाइन्थ्यो

सुनिन्थ्यो, सुनाईन्थ्यो

यो एकीकरणको मिसाल

नयाँ “नेपाल” को नमो बागे यहीँबाट सुरु भएको रे

भैरबीको गजूर सँगै

यो नयाँ नेपालको गजुर

+++++++++++++++++

पहाडको तालुमा कसरी उभिए होलान

कसरि उभ्याइए होलान् यो अजङ्ग

कौतुहलता अनि गर्ब

नेपाली हुन पाएकोमा

नेपाली भन्न पाएकोमा

मलाई जस्तै हुँदो हो दौंतरीलाई

अगुवा -अग्रज लाइ,

पछाडीकालाइ

+++++++++++++++++

यो सधैँ सुटुक्क आएर

म भित्र सुत्थ्यो

र सुत्छ

घर भएर,

गाउँ भएर,

सिंगो देश भएर

नेपाल भएर

सबै भित्र यसरि नै सुत्यो होला

सुत्छ होला,
करोड मुटुमा

जुग जुग सम्म

+++++++++++++++++

यो सानो मुटु भित्र कसरि अटाउँदो रहेछ

यत्रो सात तले,

यो सिङ्गो देश

मन भरि छन्
आँखा भरि छन् झल् झली

सधैँ सधैँ

+++++++++++++++++

अहिले उनको उत्पत्ति प्रतिनै आपत्ति

मिसाल प्रति नै औँला उठाई रहेको बेला

धावा बोलिरहेको बेला

उ समयलाई बुझ्न नसकी

आश्चर्यले निहुरि रहेको बेला

भन्न मन लाग्छ

सबै संग

“यो इतिहास सँग जोडिएको सात तले

हाम्रो मन मन सँग जोडिएको छ”

के यो मुटु उन्ने नुवाकोटे सात तले

मुटु- मुटु बाट छुट्याउन होला र

विस्थापित गर्न होला र ?

+++++++++++++++++

पुर्खालाई धारे हात लगाई

आफू बहादुर

आफू सन्त बन्नु साटो

अर्को कुनै गौँडामा

त्यही हातले

बनाउन सकिन्न र

उभ्याउन सकिन्न र अर्को सात तले

जोडन सकिन्न र नजोडिएका मुटुहरूलाई

सयौं फूलका मालाहरूले

तपाइँको प्रतिक्रिया