लेखनाथ काफ्ले / ताइपेइ, ताइवान 

 आदिम काल देखी आफ्नै लागि भौतारिरहेको

समाज भित्रको एउटा छुट्टै समाज हुँ

म एक म हुँ

म मान्छे हुँ । 

++++++++++++++++++++ 

चार किल्ला तोकेर भन्ने हो भने

सबै किल्ला भन्दा बाहिर रहने

सधैँ अवसरको खोजीमा सबै धामहरूको दर्शन गरी रहने  

सधैँ माथि जान खोज्ने

सबै जानेको स्वाङ पार्ने

नेपालमा बसाइ सरेको

नेपाल भित्र कै परदेशी

नेपाल भित्र कै काँठे हुँ ।

आफ्नै कर्म भूमिबाट उछिट्टिएको  

एकलकाँटे हुँ ।

म मान्छे हुँ । 

++++++++++++++++++++ 

आफ्नो भोक टार्न

अरूको गाँस लुट्न सक्छु,

म जस्तै अरू म जुटाएर

सडक, शहर बन्द गर्न सक्छु ।

तर

माथि पुग्ने

छिटो धेरै धनी हुने मेरो रहर बन्द गर्न सक्दिन ।

किन कि

म, रहरहरूको धरहरा हुँ ।

म मान्छे हुँ । 

++++++++++++++++++++ 

अरूको होइन

देशको पनि होइन

जनताको त हुँदै होइन

म मेरै म हुँ । 

++++++++++++++++++++ 

समूहमा आगो बोल्ने

एक आपसमा आगो बाल्ने

त्यही आगोको रापले

आफ्नो आङमा तातो लगाउने 

सब ब्युह खडा गरेर

अर्काको मुहारमा कालो पोत्छु ।

आफ्नो निधारमा रातो लगाउँछु । 

++++++++++++++++++++ 

आड गर्नेको लँगौटी बन्छु 

सत्ता दिनेलाई 

शक्ति दिन्छु

शहश्र भक्ति दिन्छु ।

तर

म माथि औँला उठाउनेहरुलाई

ती कथित देशभक्त, समाजसेवी र जनताका आफन्तहरूलाई

ईमान होइन

बेइमान पनि ईमानदारिताका साथ नगर्ने

अनुग्रहले दान गरिएका तक्मा र पदकहरूको पत्रै पत्रले छोपिएर

सुकिला वस्त्रहरूले लपेटिएको 

जान्ने सुन्ने हुँ

म आजको मान्छे हुँ । 

++++++++++++++++++++ 

माफ गर्नुस् म जस्ता बाहेकका टाउकाहरु

म आफ्नो वर्ग प्रति गर्व गर्छु

दाबीका साथ भन्छु

म भन्दा बाहिर केही सोच्न न सक्ने म

अपवाद बाहिरको नेपाली हुँ

म मान्छे हुँ ।

आजको आम नागरिक हुँ ।

तपाइँको प्रतिक्रिया