एक मात्र विदेशीले पाएको नेपाली पुरस्कार

नेपालको विकास र अनेक क्षेत्रमा विशेष योगदान गरेबापत निकै विदेशीले पाए नेपालको पुरस्कार र सम्मान । राजाको शासनमा चाकरी गर्दापनि पुरस्कार र समान धेरैले भित्र्याए । गोरखा दक्षिण बाहु थियो सबै भन्दा बढि बाँडिएको । तर नेपालको यो यस्तो पुरस्कार हो- जुन एक पटक एक जना विदेशीले मात्रै पाए ।

यो हाम्रा पूर्व राजाहरू महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले मकै बाँडेझैं बाँडिने पुरस्कार होइन । किन होला ? को हो त्यस्तो भाग्यमानी विदेशी ? कहिले पाए उनले ? किन पाए ? कसले दियो ? र यो पुरस्कारका बारेमा धेरैलाई अहिलेसम्म पत्तोपनि छैन ।

यो पुरस्कारको नाम गोर्खा क्रस हो । कति नेपालीले पाए थाह छैन । तर विदेशीलाई भने एक पटक मात्रै दिइएको छ । ती भाग्यमानी हुन् फ्रान्सेली नागरिक मोरिस हेर्जोग । सन् १९५० को जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मोरिस हेर्जोगको नेत्रित्वमा अन्य फ्रान्सेली आरोही लुइ लास्नाल, गास्टोन रेबुफा, लिओनेल तेरी, मार्सेल इसाक, जँ कुजी, मार्सेल साज, ज्याक उदोले हाम्रो अन्नपूर्ण जेठो हिमालमाथि आरोहण गरे । आठ हजार अग्लो हिमालमाथिको यो विश्वमै पहिलो आरोहण थियो ।

यीनीहरुले अन्नपूर्ण हिमाल चढेपछि विश्वभरिनै व्यापक प्रचार प्रसार भयो । सारा विश्वले बल्ल नेपाल चिन्यो । यही आरोहणपछि बल्ल नेपालका हिमालको व्यापक प्रचार प्रसार हुन थाल्यो । अग्ला हिमालमाथिको आरोहण हुन शुरु भयो ।

त्यतिखेर नेपालमा राणाको शासन थियो । प्रधानमन्त्री थिए मोहन शमशेर (राप्रपा नेता पशुपति शमशेर राणाका हजुर बुवा) राणा । फ्रान्सेलीले अन्नपूर्ण हिमाल चढे रे ‘ भन्ने थाह पाएपछि उनले दरबारमा बोलाएछन् । र मोरिस हेर्जोकको दललाई “तिमीहरूले ठूलो बहादुरी गर्‍यौ” भनेर बधाई दिएछन्। हिउँले हात गोडाका औँला खाएर गुमाउनुपर्ने अवस्थामा पुगेका थिए मोरिस हेर्जोक । यो आरोहणको सबै तयारी मिलाएका थिए त्यतिबेला भारत स्थित फ्रान्सेली दूतावासका कूटनीतिज्ञ फँसिस द नोईयलले ।

त्यही बहादुरीको कदर गर्दै प्रधानमन्त्री मोहन शमशेर राणाले मोरिस हेर्जोगलाई त्यति बेलाको सम्मानित पुरस्कार गोर्खा क्रस दिएका थिए । यसपछि दर्झनौं दर्जन पुरस्कार पाइसके उनले । तर उनी अझैपनि यसलाई अरू कुनैपनि पुरस्कारलाई भन्दा बढि संझिन्छन् । गौरव महसुस गर्छन् । भेटमा सुनाउँछन्- मलाई महाराजाले बोलाएरै ‘तिमिले बहादुरी गर्‍यौ भन्दै गोर्खा क्रस दिए । यो मैले मात्रै पाएको हो, अरू कसैले पाएको छैन ।

यो गोर्खा क्रसमा “सर्वे गोर्खा स्यावर जडमम तडासा भासित” भन्ने लेखिएको छ । तर त्यसको अर्थ चाहिँ के हो मलाई थाह छैन । आफ्नो विश्व प्रसिद्ध आरोहणको प्रसंग निक्लिँदा हेर्जोक यो गोरखा क्रसपनि देखाउन भुल्दैनन् ।

तपाइँको प्रतिक्रिया