के थाहा बिचरा !
– डा. हरिकुमार श्रेष्ठ / ताइपेई, ताइवान
के थाहा बिचरा !
हिजोआज उ आफू निदहराम हुँदै गएको छ,
कालो धन र दौलत कमाउने एकसुरे मन्त्र जपाउँछ,
आफ्ना साथी सहपाठी सबैलाई पटमूर्ख ठान्दछ,
अनि, पढन्ते र अनपढबीच फरकको सबक सिकाउँछ ।
++++++++++++++++++++++
तर, के थाहा बिचरा !
ज्ञान र सीपको ज्योति व्यवहार र अनुभवबाट पनि पाइन्छ भन्ने,
फगत, उसलाई त कोरा डिग्रीको घमण्ड छ,
समकक्षी सहपाठीलाई पनि अनपढ नै ठान्दछ,
अनि, नसाको रसताल र सुरा सुन्दरीको साथमा बसेर दिमाग घुमाउँछ ।
++++++++++++++++++++++
तर, थाहा छैन विचरा !
“विनाशकाले बिपरित बुद्धि”
छिमेकीको खरबारी नाश गर्न झोसेको आगोले,
आफ्नै सुन्दर घरबारी र बस्ती नाश हुन्छ भन्ने ।
++++++++++++++++++++++
के थाहा बिचरा !
आफू निदहराम भैसकेको,
आफ्नै कुबुद्धिले आफैँ सिकार भएको,
अनि त, दिनरात न त चयन न त चमक नयनमा,
उसको अनुहार मलिन र उजाड बन्दैछ,
उहिले बाजेका पालामा “पाप धुरीबाट कुर्लन्छ” भन्थे,
सोच्छु मेरो मित्रको पनि हालत यस्तै, उस्तै र त्यस्तै ।
++++++++++++++++++++++
के थाहा विचरा !
आफ्नै लँगौटी फुस्किई नग्न भएको,
तापनि उ अरूलाई कुरी कुरी भन्न छाड्ने हैन,
सायद, अब त बानी परिसकेर नै होला,
लजालु मानवीय स्वभाव पशुजन्य भएर नै होला ।




