नेपाली सारीमा दंग वीरेन्द्रकी फ्रान्सेली साथी
स्वर्गीय राजा महेन्द्र र वीरेन्द्रकी पनि साथी । आलन ल ब्रेक । पछिल्लो पटक उनीसित भेट भएकोपनि एक वर्ष बितेछ । जति पटक भेट्यो उति ज्ञानका अथाह कुरा सुन्न पाइन्छ उनीसित । सधैँ नयाँ नयाँ प्रसंग सुनाउँछिन् । युरोपमा हाम्रो राजपरिवार बारे निक्कै जान्ने बुझ्ने मध्ये सायद ल ब्रेक परिवार माथिल्लो श्रेणीमा पर्छन् । उनको घर नै नेपालको संग्रहालय जस्तो छ । विशाल कोठा पुरै नेपाल संबन्धि पुस्तक र सामाग्रीले भरिएका छन् । पछिल्लो पटक भेट्न जाँदा उनले नेपाली सारी झिकिन । नेपाली सारी भनेपछि हुरुक्कै हुने रहिछिन् । राजा वीरेन्द्रको बिहेमा जाँदा किनेको रहेछ यो सारी ।
तर लगाउन जाने पो । जानासाथ तुलसी चिया बनाउँ है भन्दै चिया टक्र्याएपछि झिकिन नेपाली सारी । वल्टाइ पल्टाइ गरिन् । कसरी लाउने होला ? निकै मुस्किल पर्ने रहेछ । सारी लगाएपछि त नेपाली महिला ओ हो हो हो कति सुन्दर ! सुनाइन उनले । उनीपनि त्यो लगाएर सुन्दर हुन खोज्ने रहिछन् तर लगाउनै नसक्ने । नेपालको माया र राजा वीरेन्द्रको परिवारको संझनालाई ताजा राख्न उनले लगाउन नजानेपनि जतनले राखेकी रहिछिन् । बेला बेला हेर्ने रहिछिन् निकालेर ।
यिनको घर नेपालको संग्रहालय जस्तै छ अझैपनि । बुद्द त्यहिँ गजधम्म परेर बसेका छन् । नेपाली झण्डा त्यहिँ फर्फराएको छ । मुजुरका प्वाँख त्यहिँ सजिएको छ । नेपालका देवी देवताका ससाना मूर्ती त्यहिँ ठडिएका छन् । नेपालकै थान्का ओछ्याइएको छ ।
नेपालमै बनेको दियो, अर्ग देखि रु दशको नोटसम्म वर्षौं भयो त्यहाँबाट हलचल भएका छैनन् ।
![DAAFE-1[1]](http://www.nepalplus.com/wp-content/DAAFE-11.jpg)
हाम्रा हिमालमा गीत गाउँदै कुर्लने डाँफेपनि उनको भित्तामा देख्न पाइन्छ ।
यि सारा नेपाल संबन्धि पुस्तक हुन् । यिनमा नेपालबारे लेखिएका अति दूर्लभ पुस्तकपनि छन् जुन सायद नेपालमापनि कतै पाइँदैनन् । यि पुस्तक नेपालको पर्यटन संबन्धि पहिलो खाका कोर्ने उनैका पती जर्ज लब्रेकले जम्मा परेका पारेका हुन् । कुनै उनी आफैले लेखेका हुन् । यि आमै नेपाल संबन्धि एउटा पुस्तक देखाउन खोज्दै थिईन ।

मायापनि कति धेरै नेपालको हेर्नु त ! सन् १९७५ को फर्वरी महिनामा तराईको टाइगरटप्स पुगेका रहेछन् । त्यतिबेला रापती नदीबाट ल्याइएको ढुंगोपनि असाध्यै जतनले राखेका छन् ।
फ्रान्स लगायत युरोपका अन्य भागमा पर्यटन फस्टाएको र नेपाललाई बाहिरी जगतमा चिनाउने हो भने बिदेशीका लागि नेपाल खुल्ला गर्नुपर्ने त्यो बेलाका फ्रान्सेली राष्ट्रपती चार्ल्स द गोलले महेन्द्रलाई सुझाएपछि उनले तत्कालिन पेरिसको पर्यटन बिभागका जर्ज ल ब्रेकलाई नेपालको पर्यटनको खाका कोरिदिन लगाएका रहेछन् । त्यहि भएर यो ल ब्रेक परिवार राजा वीरेन्द्र र महेन्द्रसित निकटका मित्र बने । त्यहि संझना स्वरुप होला भित्तामा महेन्द्रको तस्विर ।
एक्कै वर्षको अन्तरालमा यि आमै निक्कै (पहिलो तस्विर्) गलिछन् । दुई वर्ष अघिसम्म पनि यी निकै हट्टा कट्टा र फूर्तीली देखिन्थिन । असाध्यै हास्थिन । हँसाउँथिन् । फ्रान्सेली अन्वेषकहरुको संस्थामा नेपालबारे प्रवचन दिन, आफ्ना अनुभव सुनाउन जाने गर्थिन । अहिले त मैलेपनि नभेटेको एक वर्ष भयो के भइन होला ? !!!
उनैसँग संबन्धित तलका ब्लगपनि हेर्नुस-
![Lebrec-6[1]](http://www.nepalplus.com/wp-content/Lebrec-61.jpg)

![LEBREC-Home[1]](http://www.nepalplus.com/wp-content/LEBREC-Home1.jpg)

![Lebrec-4[1]](http://www.nepalplus.com/wp-content/Lebrec-41.jpg)





