मुटु रोगको निहुँमा पारसलाई छुटाउने तयारी

के निहुँ पाउँ कनिका बुकाउँ भनेझैं भएको थियो दरबारीया र तिनका समर्थकलाई कसरि पारसलाई छुटाउने भनेर । सरकारको ह्याउ हुन्न भन्ने सोचेर पहिले दरबारीया समर्थकहरुले ‘लौ त तिन घण्टा पक्रेर देखाओस् त’ भनेर चुनौती दिइहले । नभन्दै सरकारले पोखराबाट झ्याइँकुटी पार्दै ल्यायो भरतपुर । कोच्यो प्रहरी खोरमा । राजा हुँ भन्दै मनपरी गर्दै हिँड्नेको यो भन्दा ठूलो बेइज्जत के हुने ? परेन त आपत ? अब जसरी पनि निकाल्नु पर्छ भनेर जुक्ति निकाले- मुटुको रोगी छ, उपचार गर्नुपर्छ भन्दै छुटाउने पारसलाई ।

कसरी छुटाउने त ? कानुनको सहारा त लिनै पर्छ । कानुनका दफा पल्टाउँदै जाँदा ठ्याक्क फेला पर्‍यो- सार्वजनिक मुद्दा ऐन २०४९ को दफा २१ । त्यसमा गम्भिर रोगका रोगीहरुलाई स्वास्थ्य जाँच गराउन जमानत राखेर कस्टडी सस्टडीबाट छुटाउन पाइने व्यवस्था रहेछ । हो त्यहि प्रवाधान फेला पारे काठमाडौंबाट गएका पारस शाहका अधिवक्ताहरु सर्वोच्च अदालतका पूर्व रजिष्टार श्रीप्रसाद पण्डित, अधिवक्ता रामप्रसाद रिजाल  र चितवनका अधिवक्ता शिवप्रसाद पाण्डेले ।

त्यसैको आधारमा आजै उनलाई जमानतमा छुटाउने प्रयास ति वकिलहरुले गरेका छन् । त्यसकोलागि पहिले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्ने रहेछ । आज त्यसलाई चितवनमा दर्ता  गराउने तयारी गरेका छन् । निवेदन दर्ता भैसकेपछि प्रमुख जिल्ला अधिकारीले निर्देशन दिने रहेछन् जमानतमा रिहा गर्ने । अन्य कुनै समस्या वा लफडा भएन भने पारस शाह आजै प्रहरीको खोरबाट रिहा हुने छन् ।

तपाइँको प्रतिक्रिया