कथा : नीलो तृष्णा
-विद्या सापकोटा
म यसैपनि अन्तर्मुखी स्वभावको मान्छे,शान्त वातावरण र साना ठूला बोटबुट्यानहरु । हर बिहान म आफ्नो ओछ्यानबाटै बाहिरी दुनियाँ नियाल्थे । चिया पिउने मेरो बानी थिएन/छैन, झन्डै एक चिया बसाइमै शीतले सफा पारेका चुत्राका पातहरू आफ्ना रङ्ग बदल्थे । त्यो कुनै जादु थिएन सिवाय चराचुरुङ्गीको बदमासी । घामको चहकसँगै ती अझ टल्कँदै जान्थे । बदलिएको रङ्ग, रूप र बिरुपतामा मलाई एक्लै हाँसो उठ्थ्यो । एकसाथ रंगिनताको मीठो आभास म भित्रै संचार भए झैँ पनि लाग्थ्यो ।
हुनतः म यहाँ सरुवा भएर आएको एक वर्ष मात्रै हुन लागेथ्यो । मान्छेको जंगलमा अभ्यस्त भइसकेको म, साँच्चैको यो जंगल, त्यसमा पनि घामले आक्कलझुक्कल मात्र चियाउने ओसिला कोठाहरू । बाफरे शुरुमा त म अत्तालिएको थिएँ । धन्न इन्टरनेट सुविधाले हाँस्न नसके नि बाँच्न सक्नेसम्म बनाइदियो । बिस्तारै, ब्यारेकभन्दा केही माथिको घमाइलो भूई फलैँचामा बसेर घामका किरणहरू ओढ्दैं ल्यापटपसँग हराउने बानी पर्न लाग्यो । पछिपछि, उही परिवेश आफ्ना लाग्न थाले जहाँ म सोचाइका दरभंगाहरु तर्दा तर्दै कता कता हराउँथें/हराइदिन्थें, उसकै यादमा ।
मेरो यो जंगल बसाइ उसकै कारणले सहज भएको थियो । ऊ अर्थात् थोरै चुलबुले, धेरै प्यारी मेरी बि । ऊ म भन्दा सानी थिई, धेरै सानी सायद कच्चा पनि । मुख्य कुरा त उसको बालापन गएकै थिएन । उसमा भर्खरै मात्र चञ्चलताका बहाउहरू देखा पर्न लागेका थिए । भावनाका गहिराइमा पौडिरहेकी हुन्थी ऊ । एक्लै एक्लै मुस्कुराउँथी, हावासँगै उडिदिन्थी, पानीसँगै बगिदिन्थी, जून हाँस्दा हाँसिदिन्थी, शीतसँगै रोइदिन्थी पनि । उसको त्यो निश्चल हाँसो,निर्मल मन र बालापन मिश्रित भावले नजानिँदो पाराले मलाई उसैतिर खिच्दै लगेथ्यो, म खिचिदैं गएथें ।
ऊ सँगको भेट पनि कम्ती रोमाञ्चकारी थिएन । एक रापिलो बिहान, म ल्यापटप काखमा राखेर समाचारका साइटहरू चहारिरहेको थिएँ । यसैबीच एक चाख लाग्दो पाठक प्रतिक्रियामा मेरो आँखा पर्यो । को होला यस्तो लेख्ने सोच्दा नसोच्दै परिचय मिल्यो ‘सपना र चाहनासँग उडिरहेकी एक बच्ची’ साथैमा अझ जिज्ञासु बनाउने खालको इमेल ठेगाना । म कसैसँग सम्पर्कमा आइहाल्ने बानीको मान्छे पक्कै होइन तर खै के रहर चल्यो ।
”म तिमीसँग कुरा गर्न चाहन्छु, मलाई च्याटमा भेट्न सक्छौं ?” सररर टाइप गरे ।
”हो है, लौ के कुरा हो गरौं न त । ” ऊ नेटमै रहिछ, अंग्रेजी अक्षरहरू राम्रै फर्माए ।
यस्तैमा हाम्रा कुराकानीका सिलसिला शुरु भए । उसले बडो आनन्दसाथ आफ्नो नाम बताइदिई ‘म विभुती शर्मा ‘।
रसिली, फरासिली, उत्साही रहिछे ऊ । त्यो भन्दा बेशी मलाई उसको बारेमा खासै थाहा भएन ।
जमाना संचारको छ । नेटको छ । संजालको छ जहाँ दुनियाँ भेटिन्छ । सुरादेखी सुन्दरीसम्मको कुरा हुन्छ, सडकदेखि सदनसम्मको बहस चल्छ, ऊ भेटिनु कुनै नौलो कुरा थिएन । संयोगबश हामी पनि भेटियौं । छोटो समयको अन्तरालमै, हाम्रो मित्रताको डोर कसियो । बीस-बाइसमा दौडदै गरेकी आधुनिक युवती । चालीस बयालीसको अधबैँसे पुरुषका अतुलनीय रहरहरु, भोगाइहरु तपशिलमा परें ।
जहाँ जसरी पनि रमाउनुपर्छ । हाँसेर बाँच्नुपर्छ भन्ने उसको सिद्धान्त थियो । ऊ सधैँ उत्साहको कुरा गर्थी । सफलताको सपना देख्थी । हर कुरालाई सकारात्मक रुपले हेर्ने लोभलाग्दो आँखा/मन उ सँग थियो । उसका प्रियतमहरूको लिस्टमा नछुटीकन पर्थे परिवार, साथी,पुस्तक, कम्प्युटर, टि.भी., कलम र प्रकृती ।
”के गर्दैछु बि”, म प्रेमपूर्वक सोध्थें ।
”गर्नु नै के छ र, सुम्निमा सकाउन लागेँ । ”
”भोली-पल्पसा क्याफे, पर्सि फलानो फिल्म, साथीहरूसँग भेटघाट, स्व-लेखन …………………………” एक न एकसँग सधैँ मस्त मक्ख ।
छि कस्तो झुर केटीसँग भेट भएछ ? आफू त्यो लिस्टमा अटाउन नसक्नुको क्षोभले दिक्दारी पोख्थें म, ”छोड न, त्यो तिम्राहरुको कुरा, केही आफ्ना कुरा बताऊ ।”
मेरो चिडचिडाहटको किन पर्वाह गरोस् र ऊ, कल्पनामा कावा खादै बोलीदिन्थी ”अरे बाबा, मेरो बारेमा जान्ने त्यत्रो उत्सुकता हुनेले खुरुक्क पल्पसा क्याफे पढ्नु नी, त्यो पल्पसा म नै हुँ क्या । ”लौ आफ्नो रोजाइमा कहिल्यै पर्न नसकेको पुस्तक, उसलाई जान्न पढ्नैपर्ने भो ।
आफूलाई खुला किताब बताउने ऊ मलाई भने बडो रहस्यमयी लागी, लागिरही ।
‘आकांक्षाको म्याराथनमा दौडिरहेकी कुशल धाविका रहिछे ऊ’, प्रत्यक्षभेटपछिको मेरो अन्दाज ।
उसको आगमन मेरो लागि सुखद रह्यो । उ सँगको कुराकानीले मेरा सारा थकान भाग्थे । त्यसैले त घामको बर्को उछिट्टिएर शीतको पछ्यौरी लपक्क भिजिसक्दा पनि प्रतिक्षा चियाइरहन मन पराउथें म । कहिलेकाहिं बेखबर रहिदिँदा, आफूले आफूलाई के सम्झँदि हो यो केटी ? मुरमुरिदैं निदाउथें म, प्रतिक्षाको देउरालीमा भिमसेनपाती चढाउँदै बिउँझिन्थ्यो मन ।
पछिल्ला दिनहरूमा ऊ अझ व्यस्त रहन थाली, हाम्रो भेट पातलिदैं गयो । यसो हुनु के थियो,मेरा संकटका पलहरू शुरु भए । मलाई अनौठो भूमरीले थिच्न लाग्यो । बेला न कुबेला त्यसको निश्चल हाँसो मलाइ बिथोल्न आउन लाग्यो । यादहरूमा लहराउन लागी ऊ । “सुनेनौं काग कराएको, मैले सन्देश पठाएथें त,” कल्पना मै जिस्काउन लागी । लौ बाबा, त्यो फुच्ची त कुन बेलादेखी मेरो मुटु मै अखडा जमाएर बसेकी रहिछ, मलाई थाहै भएन । त्यसका बेहिसाब घच्घच्याइले मन त्यसै विचलित हुँदै गयो । म बडो समस्यामा परेँ । घर, परिवार, सम्मानित जागिर, गाउँ समाजमा प्रतिष्ठा भएको परिपक्व पुरुष म, सब थोक भएर पनि केही नभए जस्तो, कोही नभएजस्तो आफैंभित्र थलिदैं गएँ, थिचिदैं रहेँ ।
जे हुँदै थियो मैले चाहेर भएको थिएन । मैले सोचेर गरेको थिइन । कसलाई के भन्नु । आफैंले पनि के मान्नु । प्रेम/आकर्षण, भ्रम/यथार्थ, उमेर /चाहना, प्राप्ती/त्याग, प्रतिष्ठा/अभिप्सा, ऊ/म दुविधैं-दुविधामा पिल्सिदैं गएँ म । दुनियाँलाई भन्नु-नभन्नू, कसैले मान्नु-नमान्नू फरक कुरा । तर आफैँलाई ढाँट्नु सम्भव थिएन । यता म प्रेममा परिसकेथें, उसलाई चाहन थालिसकेको थिएँ, सम्पुर्णरुपमा । उता ऊ जस्ताको तस्तै कलेज, साथीभाई, घरपरिवार, पुस्तक, टिभी, आफ्नै सपनाको संसार बस् बिन्दास् । मलाई उसको बेफिक्रीमा रिस उठ्थ्यो । ‘मलाई बेहाल पारेर हराउन पाउन्नस् तँ’ झपार्न मन लाग्थ्यो ।
एक्लैएक्लै चिच्याउँथे म/ भित्रभित्रै कराउँथे, “म तेरो प्रेममा परें फुच्चू ।”
तल्काल आफैंभित्र काँप्थें, ‘मेरो प्रेमलाई कतै वासनाको उपमा दिइयो भने’?
दिनानुदिन ऊ ममाथी हाबी हुँदै गई । कसैलाई बताउन नसकिने अनौठो रोगले मलाई गाल्दै गयो । म आफैँभित्र पिल्सिएर, थिचिएर, लत्रिएर उसको प्रतिक्षा गर्न लागे । भेट्ने बहानाहरु खोज्दै ऊ कहाँ पुग्न लागे, पुगें ।
एक फुर्सदिलो साँझ अस्विकृतीको झापड ब्रजनेछ भन्ने जान्दाजान्दै पनि उसको मन बुझ्ने दुस्साहस गरें मैले । ”अब कति यताउता लड्खराउँछौ बि, आफ्नो पनि घरजम गर्ने बेला भएन र?”
”घरजम……हजुरले भन्नुभयो अब सोच्नुपर्ला की ‘अंकल’?” आफ्नो प्यारो प्रतिकारात्मक शब्द अंकल जोडेर प्रश्नको आशयलाई नै उडाइदिई उसले ।
”भन त तिमीलाई कस्तो केटा मनपर्छ ?” मलाई सुन्नु थियो ।
”दुःखको कुरा, मलाई कुनै केटा नै मन परेनन् ।” पुरानै उत्तर ।
”मलाई ढाँटेकी पो हौं कि, कोही प्रेमी?”
”अब ढाँटेकै भएपनि आफ्नो प्यारो मान्छेलाई नभनेर घरजम कसरी पो होला र ?” आफ्ना चञ्चल आँखाहरू मेरो मुर्झाएको अनुहारमा सर्र दौडाउँदै खित्का छाडी उसले ।
”ठट्टा नगर न बि”, थाकेको आवाज मेरो थियो ।
”अरे कहाँ ठट्टा गरिराछु र, साँच्चै मलाई कोही मनै परेनन् त म के गरूँ?” केही गम्भीर देखिई ऊ ।
”अनि बिहे ?”
”म्यारिज ब्यूरो खोल्नुभयो कि क्या हो ? म त मेरो बाबाले रोज्नुभएको केटासँगै विवाह गर्छु है । ” हाँसेर टार्ने उसको पुरानो आदत ।
”तैपनि भन न, तिम्रो रोजाइको पुरुष कस्तो हुनेछ ?” मैले आफ्नो अडान छोडिन ।
”अब के भने नी, मैले त्यस बारेमा सोचेकै छैन भन्नैपर्दा मलाई ठ्याक्कै मेरो बाबा जस्तै पुरुष मनपर्छ जो आकर्षक होस्, समझदार होस् अनि मलाई बेहद प्रेम गरोस् ।”
मलाई हाँसो उठ्यो, ”बाबाजस्तै भन्दा त कुनै चालिस बर्षेले म तिमीलाई अत्ति माया गर्छु भनिदियो भने ?” ठट्यौलो सोधाइ ठट्टा थिएन ।
”ओहो ! विभुती अनि बूढो ? कस्तो नसुहाएको, केही त शुभ बोल्नुस्…. आ ! म तिमीभन्दा बीस बर्ष पछि जन्मिएँ, के गरुँ त प्रिय ? सायद ! म यस्तै भन्छु होला । ”ऊ जोड जोडले हाँस्न लागिथी । त्यो हद भागी प्रेमी मै हुँ भन्ने थाहा पाउँदी हो त हाँसोको पारो कति बढ्दो हो? मलाई आफैंमाथी दया लागेर आयो ।
हुनपनि कसैले भन्यो भन्दैमा ऊ किन मानिदेओस् ? म त्यो लोग्नेमान्छे,जसले आफ्नी स्वास्नीलाई माया गर्न जानेन, त्यसले फूलको चाह गर्नु मात्र पनि कम्ति दुखदायी थिएन ।
के भनौं न के भनौंको मनोदशामा धन्न कहाँबाट फुर्यो, ”कथाको प्लट मीठो सुनियो, शिर्षक के राख्छौ नी बी……?”
अन्ततः बाह्र बर्षे जलयुद्ध खेपेर आएको कठोर प्रहरी अधिकृत, एउटी फुच्चीसँग नराम्ररी हार्यो ।
आक्रान्त पारेर गुलाफी मुस्कुराहट ओझेल पर्यो । तड्पाएरै मार्ने इरादा थियो की ?
यस्तो सहिनसक्नु, भनिनसक्नुको रोगले ममा उत्साह, जाँगर, मनोबल भन्ने कुराको शुन्यान्त नै गराइसकेको थियो । काममा ध्यान लगाउन सकिरहेको थिइन । सारा वातावरण नै बोझिलो लाग्थ्यो, ल्यापटप त खोल्नै छाडिदिएको थिएँ । सम्हालिने हजार प्रयासको बाबजुत पनि ऊ बारबार मलाई गिजोल्न आउथी उही चञ्चलता, चाहना र उत्साहको पछ्यौरीमा ढाकिएर । यस्तैमा एउटा आकर्षक कार्ड मेरो हातमा पर्यो । मेरी फुच्चु विवाह गर्न लागिछे………’ओहो ! विभुती अनि बूढो, कस्तो नसुहाएको, केही त शुभ बोल्नुस् ।’ म बूढो, उसको अशुभ/मेरो प्रेम एक नीलो तृष्णा बग्यो सललल…..।
”मेरो प्यारो मान्छे Ûमलाई विश्वास छ, प्रतिक्षारत आँखाहरू थाक्ने छैनन् । ” उसका सुन्दर हस्ताक्षरहरूले मेरो खिसी उडाउन छाडेनन् । म निस्सासिएँ, छटपटिएँ । रिसले, आवेगले, संवेगले, तनावले एकैचोटी छट्पटाएँ ।
विवाह भनिएको दिन, अन्तस्करणको भुनभुनसँगै मेरा पाइला छिटोछिटो अगाडी बढ्दैथे । कता ? सायद यही प्रश्न गर्दैथ्यो, शिरिशको फूलभित्र सुरक्षित उही निमन्त्रणा-पत्र ।।
-हालः शंकरदेव कलेज, काठमाडौं




