विद्यार्थीलाई किताब फालेर बन्दुक बोक्ने सल्लाह

नेताका कुरा के हुन् के बुझ्नै सकिन्न । बोलेको सहि हो कि पार्टी दस्तावेजमा उल्लेख सहि हो । पालुङटार बैठक सकिनासाथ माओवादी अध्यक्ष प्रचण्डले आफूहरू शान्ति र संविधानका पक्षमा रहेको बताएका थिए । त्यसैलाई सफल पार्न अन्तिमसम्म प्रयास गर्ने विश्वास दिलाएका थिए । उता पार्टीका दस्तावेजहरूमा चाहिँ दीर्घकालीन जनयुद्दनै गर्ने उल्लेख छ । तर हिजो एनेकपा (माओवादी) को जन वर्गीय संगठन अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनमा गएर चाहिँ उनले पालुङटार बैठकपछि व्यक्त गरेका प्रतिबद्धता भन्दा फरक द्रिष्टिकोण मात्रै राखेनन् डरलाग्दो संकेत पनि गरे ।

उनको भनाईलाई सत्य मान्ने हो भने निकट समयमै नेपालका हरेक क्याम्पस र विश्व विद्यालय अब सैनिक क्याम्पमा परिवर्तन हुनेछन् । त्यहाँ कापी, कलम र किताबको चहल पहल हुने छैन । बन्दुकको खात लाग्ने छ । गोलीका आवाज पड्किने छन् ।  बारुदका मुस्लोहरू छुट्ने छन् ।  किनभने उनले अब छिट्टै सबै क्याम्पस र विश्व विद्यालयलाई सैनिक क्याम्प मा बदल्न र विद्यार्थीहरू भौजी रूपमा बदलिन तयार हुनुपर्ने बताए ।

विद्यार्थीहरूलाई राम्रोसित अध्ययन गर्न र शैक्षिक क्षेत्रका समस्याहरूलाई समाधान गर्न सुझाव दिएनन् । विद्यार्थीहरूकै हक हितका मुद्दाहरूलाई प्रमुखताका साथ उठाउनुपर्छ भन्ने रायपनि उनको थिएन । बरु उनले त विद्यार्थीहरूलाई अब आन्दोलनमा होमिन तम्तयार भएर बस्न निर्देशन दिए । जनताले प्राप्त गरेका सीमित अधिकार खोस्ने, जनताको शान्ति र संविधानको चाहनालाई असफल पार्ने कोसिस भैरेहेकोले क्रान्तिकारी विद्यार्थीहरूलाई चनाखो रहन उनले सुझाव दिए ।

आम जनताको चाहना क्रान्तिकारी परिवर्तन हुँदा हुँदै त्यसलाई तुहाउने षडयन्त्र भएको भनाई राखे । त्यसलाई जसरीपनि एनेकपा माओवादीले पूरा हुन नदिने ठोकुवा गरे । उनले त्यसका विरुद्ध अन्तिम प्रहार गरेर जनताको विजयका लागि सबै क्याम्पस र विश्वविद्यालय सैनिक क्याम्प बनाउनु पर्ने, सबै विद्यार्थी सैनिक भूमिकामा उत्रिनुपर्ने बताए । देश एकदम गम्भीर मोडमा पुगेकोले त्यसलाई बचाएर परिवर्तन गर्न देशका लाखौँ लाख विद्यार्थी आन्दोलनमा उतार्न तयारी गराउन उनले विद्यार्थी नेताहरूलाई निर्देशन दिए ।

तपाइँको प्रतिक्रिया