यसो गरे कसो होला ?
-रमेश गौतम “पाल्पाली” / धुम्वाराही, काठमाडौं
मनको भ्रम र शङ्काहरू बगाउन
कुलेसोमा अड्दैन भने
खिया लागेका बाँधका ढोकाहरू
उदाङ्गो पारेर खोली दिए
कसो होला ?
°°°°°°°°°°°°°°°°°°°°
स्रष्टा र द्रष्टा बन्न छेकबार हाल्ने
लोभानी, पापानी र कुत्सित भावनाहरू छिँदाल्न
सहमति र सहकार्यको ढोका बन्द भए पनि
नांगा आङ र भोका पेट हेर्न सके
कसो होला ?
°°°°°°°°°°°°°°°°°°°°
भ्रमको खेती र त्रासको आगो बालेर
कलिला हातहरूमा
इँटाका टुक्रा दिनु भन्दा
कापी र कलम दिन पाए
कसो होला ?
°°°°°°°°°°°°°°°°°°°°
आफ्नै मुटु कलेजो चुँडाल्न
पसिना बगाउने कुपुत्रको दुखेसो देख्दा पनि
दयाले फतक्क गलेकी आमाका आँसु पुछ्न
केही दिनको लागि सत्ताको मोह छोड्दा
कसो होला ?





