यसो गरे कसो होला ?

-रमेश गौतमपाल्पाली” / धुम्वाराही, काठमाडौं

मनको भ्रम र शङ्काहरू बगाउन

कुलेसोमा अड्दैन भने

खिया लागेका बाँधका ढोकाहरू

उदाङ्गो पारेर खोली दिए

कसो होला ?

°°°°°°°°°°°°°°°°°°°° 

स्रष्टा र द्रष्टा बन्न छेकबार हाल्ने

लोभानी, पापानी र कुत्सित भावनाहरू छिँदाल्न

सहमति र सहकार्यको ढोका बन्द भए पनि

नांगा आङ र भोका पेट हेर्न सके

कसो होला ?

 °°°°°°°°°°°°°°°°°°°°

भ्रमको खेती र त्रासको आगो बालेर

कलिला हातहरूमा

इँटाका टुक्रा दिनु भन्दा

कापी र कलम दिन पाए

कसो होला ?

°°°°°°°°°°°°°°°°°°°°

आफ्नै मुटु कलेजो चुँडाल्न

पसिना बगाउने कुपुत्रको दुखेसो देख्दा पनि

दयाले फतक्क गलेकी आमाका आँसु पुछ्न

केही दिनको लागि सत्ताको मोह छोड्दा

कसो होला ? 

[email protected]

तपाइँको प्रतिक्रिया