फ्रान्समा पनि छन् गोरखा र पनौती
सुन्दै अचम्म लाग्न सक्छ फ्रान्समा पनि छन् गोरखा र पनौती भन्दा । तर छन् । ती सींगै गोरखा र पनौती गाउँ नभएर फ्रान्सका दुई गल्लीका नाउँ हुन् । तिनले गोरखा र पनौती गाउँको माया, ममता, स्नेह, संझना र मित्रताको चिनो भने बोकेका छन् । नेपाली र फ्रान्सेलीबिच ती पहिचानको रूपमा रहेका छन् । फ्रान्समा यो नेपालीको लागि तिर्थस्थलका रूपमा समेत रहेका छन् ती गल्ली । कसले राख्यो त्यसको नाम ? कसरी हुन गए गोरखा र पनौती ?
फ्रान्सको सेनेमार जिल्ला अन्तर्गत ख्रेजी ले मोबाट सांसद बनेका रोबर्ट ल फल सन १९८२ मा पहिलो पटक पनौती पुगेका थिए घुम्नकालागि । ख्रेजी ले मो शहर राजधानी पेरिसबाट करिब ६०, ७० किमी टाढा पर्छ । काठमाडौं शहर नजिक त्यति सुन्दर कृषि योग्य हरियो फाँट देखेपछि उनको मनमा उब्जियो- क्रिषी औजारका सामानहरू निर्माण गर्ने एउटा शिक्षालय भए नेपालमा कति राम्रो हुने थियो ।
यसैकालागि फँस नेपाल ब्रि पनौती नामको एसोसिएसन उनैको सक्रियतामा खोले । यो क्षेत्रबाट उनी सांसद थिए त्यो बेला । फ्रान्सको संसदमा नेपाल हेर्ने समूहको प्रमुखपनि । उनले आफ्नो ब्री भन्ने क्षेत्रलाई काभ्रे जिल्लासँग मित लगाए । फ्रान्सेलीहरुले पनौती शहरमा काम गरिसकेकाले पनौतीलाई पनि राखे । सन् १९७८ मा फ्रान्सेलीहरुले यूनेस्कोको माध्यमबाट पनौती शहरको एउटा मन्दिर जीर्णोद्धार गरेका थिए ।
त्यसपछि उनले पनौतीवासीसँगपनि एउटा एसोसिएसन खडा गर्न अनुरोध गरे । उनीहरूले पनौती ब्रि नेपाल फँस नामको एसोसिएसन खडा गरे । फ्रान्समा भएको नामको ठ्याक्कै उल्टो । त्यसपछि उनले पनौतीका जनताको उनीहरूको प्राथमिकतामा के पर्छ ? कुन क्षेत्रमा परिवर्तनको खाँचो छ भनेर सोधे । उनले शिक्षालाई प्राथमिकता दिन चाहे । युवाहरूलाई तालिम । अन्त्यमा त्यहाँको मन्दिरहरू पुनर्स्थापना र जीर्णोद्धारमा उनले चाख दिए । किनभने मन्दिरहरूको जीर्णोद्धार गर्नु भनेको नेपाली संस्क्रितिलाई आदर र सम्मान गर्नु थियो । त्यसैले उनले त्यहाँका ससाना दुई तीनवटा मन्दिरको जीर्णोद्धार थाले ।
जति बेला त्यो क्षेत्रको सांसद थिए त्यति बेला विदेशीहरुबिच सम्बन्ध बिस्तार गर्ने चाहना उनमा निकै थियो । आफ्नो वडाको विकास गर्ने क्रममा उनलाई के लाग्यो भने त्यसले एउटा अन्तर्राष्ट्रिय संबन्ध देखाओस् । ती गल्लीहरूले सदाकालागि अन्तर्राष्ट्रिय सम्बन्ध देखाउन् ।
त्यसैले पहिलेका फ्रान्सेली नाम परिवर्तन गरेर एउटा गल्लीको नाम गोरखा र अर्को गल्लीको नाम पनौती राख्ने निर्णय गरे । किनभने उनको एसोसिएसनले गोर्खा र पनौतीमा काम गरेको थियो । त्यही संझनालाई जीवन्त राख्न पनि उनले त्यो निर्णय गरेका थिए ।
पनौतीमा उनले थुप्रै काम गरे बीसौं बर्ष लगातार । हाल सिटी भिटी अन्तर्गत सञ्चालनमा रहेको प्राविधिक क्याम्पस उनको नेत्रित्वमा बनेको हो । त्यसबाहेक मन्दिरहरूको जीर्णोद्धार, गोरखामा स्कूल बनाउन आर्थिक सहयोग लगायतका थुप्रै काम गरे । मनाङमा हाल सञ्चालनमा रहेको स्वास्थ्य चौकी पनि उनैको देन हो । त्यो क्रममा उनले थुप्रै नेपाली साथीपनि बनाए ।
त्यो समयमा यहाँ काम गरेको भए उनले निकै पैसा कमाउथे । तर उनले त्यस्तो ठानेनन् । पैसाका पछाडि कुदेनन् । नेपाललाई मत्रीभूमीको रूपमा ठानेर सेवा गरे । उनी अहिलेपनि गोरखा र पनौती गल्लीहरू हिँड्दा ती क्षेत्रहरूको ताजा संझना गरिरहने बताउँछन् । त्यसैले ती गल्लीको प्रसंग निकाल्दा उनी भन्ने गर्छन् “यहाँका गोरखा र पनौती गल्ली हिँड्दा मलाई ती क्षेत्रहरूको संझना ताजा भइरहन्छ । गोरखा र पनौती गल्लीको नामाकरण ती दुई ठाउँका साथीलाई,चिनजान, ईष्ट्रमित्रसँगको मित्रताको प्रतीकपनि हो ।”
ल फल त्यो नगर पालीकाको नगर प्रमुख हुँदा जम्मा ७०० थियो जनसंख्या । तर त्यो संख्या डेढ वर्ष अघिनै साँढे चार हजार पुगिसकेको थियो । त्यस गल्लीमा बस्ने मानिसहरु मध्ये अधिकांशलाई त्यो नाम किन राखियो, कसरि राखियो भन्ने जानकारी छैन । तर त्यस बारेमा केहिलाई भने जिज्ञासा भने छ । आफ्नै गल्लीको नाम त्यहि भएर उनीहरु गोरखालाई ‘गोका’ र पनौतीलाई ‘पानोती’ भनेर संबोधन गर्छन् त्यहाँ बस्नेहरु । नेपालको कुनैपनि संघ संस्था वा सरकारी तवरबाटपनि त्यस गल्लीको नामबाट नेपाललाई चिनाउने अहिलेसम्म प्रयास गरेका छैनन् । नेपाल, नेपाली, नेपाली संस्क्रितिको प्रवर्धन, नेपाललाइ पहिचान गराउने भनेर फ्रान्समा गठन भएका संस्था भने पाँचबिस जति पुग्न लागिसके ।






