स्वदेशको राजनीतिले विदेशमा नेपालीको तानातान
-सन्तोष न्यौपाने / बेल्जियम
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेल्जियममा विगत लामो समयदेखि अस्थिरता रहँदै आएको छ । स्वदेशमा रहेको रोगले जनवर्गिय संगठनकारूपमा विदेशी भूमिमा रहेका दलहरुलाईपनि ग्रस्त पार्नु एउटा दुःखद कुरा नै हुन आउँछ । तर पनि प्रवासी भूमिमा बसेर राजनीतिमा लुछाचुँडी गर्नु त्यति उपयुक्त देखिँदैन ।
बेल्जियममा जन सम्पर्क समितिको स्थापना भएको पनि एक दशक भएको छ । यो अवधिमा यहाँ धेरै खिचातानी र उथल-पुथल भएको देखिन्छ । ध्रुव पौडेलको अध्यक्षतामा स्थापना भएको जनसम्पर्क समिति निस्कृय भएको भन्दै जन-आन्दोलनताका गोपाल सापकोटाको अध्यक्षतामा पुन अर्को समिति गठन भएको थियो । रमाइलो कुरा के छ भने पौडेल र सापकोटाका दुबै समितिहरूमा महासचिव चाहिँ एउटै व्यक्ति भए । त्यसपछि यहाँ प्रायः दुई समिति संचालनमा रही आएका छन् ।
जनआन्दोलन पश्चात् दुइ समितिलाई एक बनाउने उद्देश्य अनुरूप सन २००६ अक्टोबर महिनामा दुबै समिति बीच एकता भयो । एकताको लगत्तै तत्कालीन पार्टी महामन्त्री रामचन्द्र पौडेलको उपस्थितिमा समितिको प्रथम महाधिवेशन सम्पन्न भएको थियो । जुन अधिवेशनले इन्द्र क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गर्यो । नयाँ समिति गठन भएको ६ महिना पनि नपुग्दै फेरी मनोज के.सीको अध्यक्षतामा नेपाली कांग्रेस प्रजातान्त्रिकसँग सम्बद्ध जनसम्पर्क समिति गठन गरियो । नेपालमा काँग्रेस दुइ चिरामा रहेको बखत यहाँ पनि तत्कालीन अवस्थामा मनोज के.सीको समिति गठन हुनु स्वाभाविक नै रहेको थियो । तर क्षेत्री समितिले यसलाई स्वाभाविक ढङ्गले लीन सकेन ।
खास गरि पहिले अध्यक्ष र अन्त्यतिर महामन्त्री के.सी समिति प्रति बढी पूर्वाग्रही रहे । नेपालमा दुई काँग्रेसको एकता पश्चात् यहाँ पनि दुई समितिहरू एक भए । पद समायोजनको क्रममा प्रजातान्त्रिकका अध्यक्ष के.सी र मूल पक्षका महामन्त्री गंगाधर गौतम खोसुवामा परे । पहिले देखि नै महामन्त्री लगायत केही वरिष्ठ व्यक्तिहरूको असहयोग,गुटबन्दी र बेइमानी झेल्दै आएका अध्यक्ष क्षेत्रीमाथि निर्णायक प्रहार शुरु भयो । महामन्त्री पद गुमाएका गौतमलाई मनाउन क्षेत्रीले वरिष्ठ उपाध्यक्षको नयाँ पद सिर्जना गरि बढुवा गरे । त्यही नै क्षत्री समितिको पतनको कारण बन्यो । बेल्जियम काँग्रेसलाई छिन्न-भिन्न हुनबाट रोक्न क्षत्रीले कार्यकाल पूरा नगर्दै दोस्रो महाधिवेशन आह्वान गरि दिए ।
तत्कालीन का.वा. सभापति सुशील कोइरालाको उपस्थितिमा नेपाली जनसम्पर्क समिति बेल्जियमको दोस्रो महाधिवेशन सन् २००८ मा सम्पन्न भयो । महाधिवेशनमा वरिष्ठ सदस्यहरूको सहमतिमा गंगाधर गौतम अध्यक्ष भए । लिखित सहमति पत्र अनुसार कार्य समिति गठन गर्नका लागि १३ सदस्यीय कार्यदल बनाइयो । जसमा इन्द्र क्षेत्री,राम थापा, उल्का घिमिरे, घनश्याम शाही, विजय मल्ल, सुरज खड्का, ध्रुव पौडेल, गोविन्द सुवेदी, जानकी गुरुङ, गोपाल सापकोटा, बलीराम झा,पदम अधिकारी र पदम गुरुङ सदस्य रहेका थिए । सहमतिमा कार्यसमिति गठन गर्न गठित उक्त समितिको एउटा पनि बैठक नबोलाइ अध्यक्षले मनोमानी पूर्ण ढंगले कार्य समिति गठन गरे । यसैबाट बल्ल-तल्ल एक भएको बेल्जियम कांग्रेसमा फेरी विभाजनको बीउ रोपियो ।
अधिवेशनको एक वर्ष पनि नपुग्दै उल्का घिमिरेको अध्यक्षतामा बेल्जियम कांग्रेस पुनः बिभाजित भयो । घिमिरेको समिति गठन भए पश्चात् दुइ धारमा विभाजित भएकै कारण एन आर एन आइ सि सि सदस्य पदमा जनसम्पर्क समितिले उठाएका उम्मेदवार प्रेम गुरुङ पराजित हुन पुगे । चुनावमा संगठनले उठाएको उम्मेदवारलाई हराउनमा उल्का समूह माथि दोष थोपर्दै संगठनको उच्च तहबाटै अन्तर्घात भएको भन्ने चर्चा अझै सेलाएको छैन ।
बेल्जियम कांग्रेसको टुट-फुट र विभाजनमा शुरु देखि नै वर्तमान अध्यक्ष गंगाधर गौतमलाई जिम्मेवार ठहर्याउँछन, बेल्जियमका कांग्रेसहरु । स्मरणीय छ, ध्रुव पौडेल,गोपाल सापकोटा र इन्द्र क्षेत्रीको अध्यक्षताका तीन वटै समितिमा गौतम महामन्त्री रहेका थिए । अरूको अस्तित्व स्विकार नगर्ने, बने जतिका पद आफैलाई चाहिने, कार्यकर्ताहरूलाई खेताला सम्झिने र विरोध गर्नेलाई देखि नसहने उनको स्वभाव नै बेल्जियम कांग्रेसको दुर्गतिको कारक ठान्छन् धेरै कांग्रेसीहरु । “उहाँको यस्तो प्रवृत्तिको चपेटामा बेल्जियम मात्र हैन युरोपियन कांग्रेस समेत परेको छ” भन्छन् निवर्तमान अध्यक्ष इन्द्र क्षेत्री । उनको तर्क छ, “एक व्यक्ति एक पद भन्ने मान्यताका साथ अघि बढेको युरोपियन कांग्रेसले ले गौतमकै कारण अल्पायूमै मृत्यु वरण गर्न पुगेको छ” ।
अध्यक्ष गौतमले गत वर्ष लिस्बन नाटक रचेर युरोपियन कांग्रेसको महामन्त्रीको पद आफैँ कुम्ल्याएको आरोप उनीमाथी रहि आएको छ । जसको वरिष्ठ नेता शेरबहादुर देउवाकै अगाडी व्यापक विरोध भएको द्रिष्य ताजै छ भने यसै कारण युरोपियन कांग्रेसको अस्तित्व समेत समाप्त भएको कुरा क्षेत्री बताउँछन् । यसै कारण बेल्जियम समितिको बैठकले सर्वसम्मतिले युरोपियन समितिमा भाग नलिने निर्णय गरेको थियो । समितिको निर्णय अनुसार युरोपियन कांग्रेसलाइ केन्द्रीय कार्यालयले मान्यता नदिएसम्म र विधिवत् ढंगले युरोपेली समितिको सम्मेलन नगरेसम्म सो समितिमा भाग नलिने भन्ने थियो । “सो निर्णयको मसी सुक्न नपाउँदै अध्यक्ष गौतमले स्पेनमा पुगेर त्यस निर्णयको ठीक बिपरित बेल्जियमबाट विभिन्न पदमा गरि ९ जना कार्यकर्ता भर्ती गरेर सो निर्णयलाई धोती लगाइदिए” भन्छन् क्षेत्री । उपाध्यक्ष माधव सापकोटा भन्छन् “यस प्रकरणमा अध्यक्षले कि त समिति समक्ष माफी माग्नु पर्छ होइन भने समितिको सर्वसम्मत निर्णयको उल्लंघन गर्ने अध्यक्षलाई एक मिनट पनि पदमा बस्ने नैतिक अधिकार छैन । ”
कार्य समिति सदस्य राधाकृष्ण अधिकारी भन्छन्,”कृयाशील सदस्यहरूको प्रतिनिधि चुन्न पाउने अधिकारको अपहरण गरि समितिबाटै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चुन्ने र त्यसमा अध्यक्षले मतदान गर्ने जस्तो अलोकतान्त्रिक र निकृष्ट काम अध्यक्षबाट भएको छ” । कार्य समितिका अधिकांश पदाधिकारी, सदस्य तथा आम कृयाशील सदस्यहरूबाट अधिवेशन वा साधारण सभा वा भेला गरि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चुन्न गरिएको अनुरोधलाई नेतृत्वले स्विकार गरेन ।
विधानतः समितिको यो अधिवेशन वर्ष हो । अधिवेशनको तयारी गर्नु त कता हो कता अध्यक्ष लगायत कतिपय जिम्मेवार पदाधिकारिहरूबाट अधिवेशनै नहुने वा भए पनि नाम मात्रको अधिवेशन हुने भन्ने खालका बिचारहरू सम्प्रेषण गरिन थालेका छन् । अझ समिति पुनर्गठनको हल्ला समेत चलाइएको छ । यस सन्दर्भमा विधान मस्यौदा समितिका संयोजक समेत रहेका निवर्तमान अध्यक्ष क्षेत्री भन्छन्,”समितिको नयाँ विधान लागू भइसकेको अवस्थामा अध्यक्षलाई समितिलाई छुने सम्म अधिकार छैन । हामीले नयाँ विधान अनुसार समिति बिस्तार गरेर ३१ पुर्याएका छौं भने पार्टीको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य नयाँ विधानका आधारमा चुनिएका हौं । कसैले विधान बिपरित काम गर्छ भने त्यसको समाधान विधानले नै दिनेछ । जहाँसम्म अधिवेशनको कुरा छ त्यो कसैले टारेर टर्ने विषय नै होइन ।” सामान्य अवस्थामा त दुइ वटा समिति बन्न सक्ने विगतलाई हेर्दा यदि समिति पुनर्गठन हुने हो वा अधिवेशनमा आलटाल हुने हो भने यस पल्ट बेल्जियम कांग्रेस यथार्थमै संकटमा पर्ने देखिन्छ ।
त्यसो त सबैका भनाई आआफ्नै छन् । दाबीपनि आफ्नै । अर्का उपाध्यक्ष प्रेम गुरुङ भन्छन्,”एनआरएन बेल्जियमको अधिवेशन जून महिनामा हुँदै छ । त्यस अघि नै जनसम्पर्क समितिको अधिवेशन गरी विद्यमान सबै समस्याहरूको समाधान गरेर एक ढिक्का भएर एनआरएनमा लाग्नुपर्नेमा हामी लागेका छौं । तर नेतृत्वले त्यस्तो छाँटछन्द देखाएको छैन ।” हालै सम्पन्न मिनेन्द्र रिजालको अन्तरकृया कार्यक्रममा कांग्रेसका जिम्मेवार व्यक्तिहरू उपस्थित देखिएनन् । महासमिति सदस्य लगायत उपाध्यक्षहरू र कतिपय कार्य समिति सदस्यहरू मिनेन्द्र रिजालको भाषण सुन्न मात्र उपस्थित भएको देखियो । यसबाट बेल्जियम कांग्रेसको बिबाद छर्लङ्गिन्छ । सो कार्यक्रम बारे उल्का घिमिरे भन्छन्,”अध्यक्षले कसैसँग सल्लाहै नगरि, बैठकै नगरि र उपस्थिति धेरै देखाउन बेल्जियम कांग्रेसले नेकपा एमाले निकट नेपाली लोकतान्त्रिक मञ्चमाथि उसको कार्यक्रममा पनि नजाने र उसलाई आफ्नो कार्यक्रममा पनि नबोलाउने भनी लगाएको प्रतिबन्ध एकलौटी ढंगले फुकाएर गरेकोले यस्तो हुन गएको हो । ”
यो पंक्तिकारले सो कार्यक्रममा कांग्रेस कार्यकर्ताहरूको उपस्थिति अत्यन्तै न्यून देखेको थियो । माओवादी, एमाले र राप्रपालाइ अलग राख्ने हो भने ३० जना पनि कांग्रेस कार्यकर्ता पुर्याउन गाह्रो थियो । यसबाट जिम्मेवार व्यक्तिहरूले समयमै बिचार नपुर्याउने हो भने बेल्जियम कांग्रेस विगतमा जस्तो खेलाँचीपूर्ण होइन कि वास्तविक विभाजनको संघारमा रहेको प्रष्ट हुन्छ ।
(न्यौपाने उज्यालो एफएम र न्युज २४ का बेल्जियमस्थित संवाददाता हुन्)




