कुटौंला झैं गरेपछि आफैं चिसिए फ्रान्सेली आरोही
नाम सुनेको थिएँ, उनी बिना प्राणवायु (अक्सिजन) सगरमाथा चढ्ने पहिलो फ्रान्सेली हुन् । पेरिस नजिकको शहर मोतातेर पुग्दा एक जना नेपाल प्रेमीले सुनाएका थिए त्यो । उनले बिजुली पत्रको ठेगाना पनि दिए । संपर्क गरेको, रहेछन् अर्जेन्टिनामा । फ्रान्सेली मान्छे अर्जेन्टिनामा नेपालका हिमाल बारे प्रवचन दिँदै । मार्क बाता नामका यी ‘हिमाली किरा’ को नाम, काम सारा रहेछ हिमाल संबन्धि । अर्जेन्टीना, पाकिस्तान र नेपाल लगायत थुप्रै देशका हिमाल चढेका । हिमाल र हिमाली जीवन उनको दैनिकी रहेछ ।
नेपालमा पनि कुन कुन चढे चढे हिमाल त । आमाडब्लम । ल्होत्से । धौलागिरी । सगरमाथा पनि केही पटक । आफू सँग सँगै थुप्रै फ्रान्सेली पनि लगेछन् हाम्रा हिमाल देखाउन । ‘तपाईसित भेटेर नेपालका हिमाल बारे तराईको अनुभवलाई उन्न मन लगेको छ’ मैले खबर पठाएँ । जवाफ तु दिए- म अर्जेन्टिनामा नेपालका हिमालबारे प्रवचन दिन आएको । हप्ता दिनपछि मलाई फलानो फोन नम्बरमा घण्टी मार्नु अनि भेटघाटको मेसो मिलाम्ला ‘ ।
उनले भनेको समयमा फोन गरेँ । एउटा ट्राभल एजेन्सीमा कन्सल्टेन्टको काम समेत गर्ने रहेछन् । फोनमा सोधे- के का लागि होला ? कुन प्रसंगका लागि होला ? ‘नेपालप्रेमी फ्रान्सेलीहरूका देखाई र भोगाइबारे किताब लेख्न खोजेको । त्यही भएर यहाँसितपनि भेट्न मन लागेर हो’ मैले भनेँ ।
ए ए, यस अघि ककसको अन्तर्वार्ता गर्नु भयो ? आठ हजार मिटर अग्ला हिमालको विश्वमै पहिलो पटक आरोहण गर्ने फ्रान्सेली आरोही मोरिस हेर्जोकसित भेटेर अन्तर्वार्ता गरेको प्रसंग के सुनाएको थिएँ उनी त आगो भैहाले । हिमालबारे जहाँपनि फ्रान्सेलीहरुले मोरिस हेर्जोगको नाम लिन्छन् । उनलाई देख्न र भेट्न जो पायो उसले मौकै पाउँदैन । उनलाई भेट्ने मौका पाउने मान्छे भेट्दापनि अचम्म मान्छन् बरु । मोरिस हेर्जोगको अन्नपूर्ण जेठो हिमाल माथिको उनको आरोहणका कथाले विश्व हल्लाएको थियो सन् १९५० को दशकमा ।
उनीसितै प्रत्यक्ष भेटेर अन्तर्वार्ता गरेको सुनाउँदा अरूसित सहज हुने गरेको थियो । त्यही सोचले शुरुमै मोरिस हेर्जोगको नाम लिएँ । ठ्याक्कै उल्टो भयो उनी त जंगिए । भक्कु गाली गर्न पो थाले एकोहोरो- “त्यो मोरिस हेर्जोग भन्ने मान्छे घमन्डी हो । उ अरुलाई आदर गर्दैन । त्यो मूर्ख हो । उसले आफू मात्रै आरोही ठान्छ । त्यसलाई त म मान्दै मान्दिन । त्यस्ता मूर्ख, आची जस्तो मान्छेलाई भेटेर अन्तर्वार्ता गर्ने तपाई सितपनि म भेट्दिन । त्यो मोरिस हेर्जोग भाको किताबमा म कुनै हालतमा हुन चाहन्न । भयो मलाई नभेट्नुस ।”
आपत् पर्यो के गर्ने के ? सोच्दै नसोचेको घटना भयो । कसो गर्ने ? उनीसित त्यहाँ रिसाएर हुँदै भएन । भनेँ -‘हुन्छ हुन्छ तपाईका कुरा भन्नुस । तपाईले आफ्ना कुरा राख्नुस अनि म मेरा कुरा भनौं तपाईलाई ? मेरा कुरापनि सुन्नुहोला नि त होइन?’ उनलाइ पड्किन दिएँ केही बेर । “तपाईका कुरा मैले सुनेपछि मेरा कुरापनि त तपाईले सुन्नुहोला नि होइन” भनेर सोधेपछि उनी अलि चिसिए । फेरी तीनै मोरिस हेर्जोकलाई मन नपराउने कुरा दोहोर्याए । उनीसित रिसाएर आ भनेर छोड्ने कुरै भएन । त्यसो गर्दा आफैं असफल हुने भइयो । आफु सफल त उनलाई विश्वासमा लिन, चित्त बुझाउन सकियो भने न हुने हो ।
केही बेरपछि ‘ल भन्नुस अब तपाईका कुरा सुन्छु’ भने उनैले । मैले तर्क दिएँ- एक जना लेखकका लागि रिक्सावाला होस कि प्रधानमन्त्री । आरोही होस कि कुचीकार । घमन्डी होस कि सहनशील एकै हो आफूले सूचनाका लागि छानिसकेपछि । तपाईहरु एकले अर्कालाई मन पराउने नपराउने बुझेर, जानेर वा एक अर्कालाई सोधेर मैले छान्ने कुरो होइन । त्यो मेरो सरोकारको विषयपनि होइन । मलाई तपाईहरु दुवैका कुरा सुन्नु छ, ज्ञान लिनु छ र पुस्तक तयार गर्नुछ । बाँकी कुरा मेरालागि तपसिलका विषय हुन् । उनी सहमत भए ।
ठेगाना दिए । फलानो दिन आउनुस खाना सँगै खाएर गफ मारम्ला भने । उनले दिएको ठेगानामा पुगेँ । एउटा ट्राभल कम्पनीको सल्लाहकार रहेछन् । पुग्नासाथ सामान्य परिचय पछि एउटा जापानी रेस्टुराँमा केहि बेर अनौपचारिक कुराकानी भए । अनि पुस्तकका लागि औपचारिक जानकारी लीन थालेँ ।
वाल्यकालमा हिमाली क्षेत्रमा बिताएका उनको जीवन साह्रै उकाली ओरालीपूर्ण रहेछ । उनका बाबुले हरेक दिन उनलाई कुटपिट गर्ने रहेछन् । बाबुको पिटाइ, हप्काई दप्काई र तर्साइले गर्दा उनी असाध्यै कठोर र कडा बनेछन् । अनुहार हेर्दापनि निकै कडा देखिने । त्यही कारण थियो मसँगपनि उनी मुर्मुरिनुको । सिधा र स्पष्ट रहेछन् उनी ।
पहाडी भेगमा अनेक हण्डर र ठक्कर खाँदै हिँडे उनी । बाबुको घर त्यागे । भर्खरको किशोर आफ्नै ताल मेल र पारामा हिँडे । बाबुसितको नाता तोडे । हिमाली क्षेत्रको कडा चट्टान, कडा हावा र बतास, हुरी, हिउँ र हिम पहिरो सँग जसरी जुधे त्यसैगरी कडा मिजासका बने । त्यही उनको चिनारी बन्यो । त्यसैमा रमाए । त्यसैले हँसायो ।
बिस्तारै गाइड बनेछन् । युरोपको सबै भन्दा अग्लो मो ब्लँ चढे । त्यसपछि उनका आँखाले ताके नेपालका अग्ला हिमाल । नेपाल पुगेर इतिहास रच्ने द्रिढ सोच राखे । आ हिमालै चढ्नु छ भने के क्रितिम ग्याँस नाकमा ठोसेर चढ्नु ? उनले यही सोच राखे । अनि चढे विश्वको सर्वोच्च शिखर सगरमाथा बिना प्राणवायु (अक्सिजन) । बिना अक्सिजन सगरमाथा चढ्ने दोस्रो फ्रान्सेली बनेछन् उनी पहिलो बन्ने कोसिस गर्दा गर्दै पनि । उनी भन्दा तिन घण्टा अघि अर्का एक फ्रान्सेलीले चढेछन् ।
चढ्दा चढ्दै उनले आमाडब्लम, धौलागिरी लगायतका धेरै हिमाल चढे । चढ्न त उनले पाकिस्तानका हिमालपनि चढे । तर नेपालको जति आकर्षणले उनलाई कुनै देशले गर्न सकेन । जाँदा जाँदा ४० पटक भन्दा बढि नेपाल गएछन् । डुबे चुर्लुम्मै डुबे नेपालको मायामा । नेपालीका हाँसो । नेपालका प्राक्रितिक सौन्दर्यताले यति डुबायो कि उनले केही वर्ष काठमाडौंमा घरै भाडामा लिएर बसे ।
सारा जीवनका उकाली ओराली सुनाए उनले । सुनाउँदा सुनाउँदा दुई घण्टाको समयले उनलाई पुगेन । शुरुमा तपाइसित बोल्दिन भनेका उनले पछि त मलाई ‘लौन तपाईसित फेरीपनि गफ गर्न मन लाग्यो’ भनेर दुई हप्ता पछिको लागि अर्को मिति तोके । मलाईपनि उनको अनुभव सुनिरहुँ जस्तो लागिरहेकै थियो । उनीसित ज्ञानको अथाह भण्डारै रहेछ । हिँड्ने बेलामा उनी आफैँले ‘सरि, म तपाईसित रिसाएकोमा, तपाई यस्तो मज्जा हुनुहोला जस्तो लागेको थिएन’ भन्दै बिदा भए ।
ददिको अनुभव र अनूभूती अन्तर्गतको यस रचनाको बाँकी भाग अर्को पटक




