फ्रान्सेली मन्त्रीसित बितेका केहि घण्टा

अघिल्लो रात साँढे दुई घण्टा भन्दा सुतेको थिइन । त्यहीमाथी जनआस्थाका सम्पादकलाई लौ भोलि झिसमिसे सम्ममा एउटा लेख आउँछ भन्ने बचन दिइसकेको थिएँ । त्यही लेख्दै थिएँ । एक्कासि दिदी तारा मानन्धरको खबर आयो “मन्त्री आउने कुरो ढिला मात्रै पक्का भएकोले छिटो खबर गर्न सकिन, माफ पाउँ । कार्यक्रममा जसरीपनि आउनु” ।

कति हतारमा रहिछिन् दिदी भने खबरमा ठेगाना पनि लेख्न बिर्सेकी । नेपालीको रेस्टुरेन्ट उद्घाटन गर्न फ्रान्सेली मन्त्री ? अचम्म लाग्यो । रेस्टुरेन्ट उद्घाटन गर्न फ्रान्सेली मन्त्रीलाई उभ्याउन सक्ने नेपाली छन् ? फ्रान्सेली प्रशासनमा त्यत्रो हैसियत बनाइसकेका ? केही बेर त निक्कै दोधारमा परेँ जाऊँ कि नजाउँ । जनआस्थालाई लेख बरु रातभरि नसुती भएपनि लेखौंला भन्ने लाग्यो । र जाने निर्णय गरेँ । नेपालीको रेस्टुरेन्टमा आएको मौका पारेर फ्रान्सेली मन्त्रीका चर्तिकला, ब्यवहार, चासो र रमझम नियाल्न पाउनु मौकै हो जस्तो लाग्यो ।

“मन्त्रीजी आठ बजे तिर आउनुहुन्छ होला, त्यही अनुसार आउनु नि” ठेगाना सोध्न फोन गर्दा तारा दिदीले हतारमा भनिन् । मन्त्री आउनु पहिलेनै गएर नियाल्नुपर्यो कस्ता कस्ता, को को आउने रहेछन् भन्ने लागेर म अलि पहिले नै हिँडेँ । सात बजे पुग्दा भाउजू सुधा के.सी, तारा दिदीका साझेदार सुक बहादुर तामाङ, उनकी पत्नी टेबुल मिलाउन व्यस्त थिए । नेपालीहरू पाँच सात जनालाई मात्रै निम्ता गरिएको रहेछ । बाँकी सबै फ्रान्सेलीहरू । साँढे सात बजेबाट अरू फ्रान्सेली पाहुनासँगै हाम्रा राजदूत मोहनक्रिष्ण श्रेष्ठ र उनकी पत्नी सजना आइपुगे । मेरो पोर्चुगलको यात्रा र मैले नेपालबारे चासो राख्ने पोर्चुगालीबारे लेखेको लेखको चर्चा गरे । नेपालका लागि सँगै मिलेर केही गर्नुपर्छ भनेर हौस्याए ।

केही बेरमा त्यो एसोन जिल्लाकी मेयर क्याथरिन मार्गाते आइपुगिन् । उनी सँगै त्यहाँका डेपुटी निर्देशक, सेन्डिकेटका प्रमुख लगायत नगरपालिका कार्यालयका अधिक्रित, सचिव समेत देखा परे । हँसिली मेयरले सबैतिर आँखा डुलाईन् । सबैसित परिचय गरिन् । रेस्टुरेन्टमा राखिएका डोका र मादल अनि नेपालको हिमालका पोस्टरहरू खुबै नियालिन् । स्वयम्भूमा जस्तै देखिने झल्लरले निक्कै ध्यान तानेछ उनको । फर्की फर्की हेर्दै थिईन । प्रशंसा गरिहालीन्- ओहो हो कति सुन्दर र सफा हो ! गएर हाम्रा राजदूत छेउ बसिन् ।

आठ बजे मन्त्री जर्ज थ्रों पत्नी र छोरी सहित टुप्लुक्क आइपुगे । तारा दिदीले सबैसित परिचय गराउँदै हिँडाइन् । मन्त्री, उनकी पत्नी र छोरी समेत हँसिला रहेछन् । हाम्रा राजदूत सँगै गएर बसेका उनी नेपालबारे गफ गर्न लागे । सन् १९९८ मा तारा मानन्धरको टोलीसित उनी नेपाल गएका रहेछन् । पाँच दिन काठमाडौं बसेर मुग्ध भएर आएका रहेछन् । नेपालको राजनीति के भइरहेको छ भनेरपनि सोध्दै थिए । राजदूत मोहनक्रिष्णले उनलाई नेपाल घुम्ने निम्तो दिएको सुनेँ ।

केही बेरमा जुरुक्क उठेर रेस्टुरेन्टको वरिपरि एक्लै चक्कर मारे मन्त्री थ्रोंले । “आ से बियाँ, आ से थय बियाँ, से जोली सा (यो राम्रो छ, सुन्दर छ, त्यो झन् सुन्दर छ) भन्दै नेपाली हिमाल र झल्लर सल्लरको प्रशंसा गरे । हेर्दा हेर्दै उनी त रेस्टुरेन्टको भान्छाको ढोकैमा पुगेर भित्र नछिरी नियाले । उनले कति चासो राखे भने चर्पीसम्म हेर्न पुगेका थिए ।

उनमा मन्त्री हुँ, उच्च ओहदाको हुँ भन्ने खासै भाव देखिएको थिएन । सामान्य नागरिक झैँ प्रस्तुत भएका थिए । औपचारिक ओहदाका भएपनि औपचारिकता खोजेको देखिएन । सुरक्षाकर्मीको भिड भाड, अघि पछि निश्चित व्यक्तिको घेराबन्दि, नजिक पुग्न खोजेको भिड केही थिएन । फ्रान्समा हालसालै बुर्का लगाउन प्रतिबन्ध भएपछि चारैतिर सुरक्षा खतराको महसुस र सतर्कता बढाइरहेका बेला पनि उनी सामान्य सुरक्षा व्यवस्थामा आएझैं देखिएको थियो । सिभिल ड्रेसमा गुप्तचरहरू त पक्कै छरिएका हुँदा हुन् नै ।

भित्र पस्नासाथ मन्त्रीका आँखा अगाडिको टेबलमा एक ब्यक्तिले चलाइरहेको आइ फोनमा परेछ । उनले सोधे- यो पछिल्लो मोडल हो ?

‘खोइ त्यति थाह भएन । नयाँ चाहिँ नयाँ मोडेलनै होला किनकी मैले हालसालै किनेको हो ।’ आइ फोन खेलाउनेले उत्तर दिए ।

मन्त्रीले यस्सो हातमा लिएर भने- राम्रो रैछ । यो आइ फोन चलाउन थालेपछि समय त्यसैमा जान्छ है ? सायद मन्त्रीपनि परेछन् क्यारे आइ फोन मा रमाउने मान्छे । फोन चलाउने लगायत सबैले हाँसेर टारे ।

खाना शुरु गर्नु अघि रेस्टुरेन्टको उद्घाटन गर्न ढोकाका दुबैतिर बत्ती राखिएको थियो । बत्ती बालेर एकातिर उद्घाटन गरेपछि अर्को तिरको बत्ती बाल्न मेयरलाई आग्रह गरे । सानो मन्तव्य चल्यो । छोटो मन्तव्य राखे तारा मानन्धर, मन्त्री, नगर प्रमुख र हाम्रा राजदूतले । मन्त्री जर्ज थ्रोंले भने- ‘यो रेस्टुरेन्टले हामी दुई देशका नागरिकको संस्क्रिति, मित्रता र अन्य कुरालाईपनि निकट बनाउनुपर्छ । नेपाल र नेपाली प्रति फ्रान्सेलीहरूको आकर्षण, सहयोग सद्भाव लामो समय देखिको हो । नेपालीको मुस्कान, न्यानो आतिथ्य र मिलनसारिताको फ्रान्सेलीहरू सधैँ प्रशंसक हुन् ।’

नगरप्रमुखले भनेपछि बल्ल थाह भयो- ‘यो त जिल्लाकै प्रमुख नेपाली रेस्टुरेन्ट पो रहेछ’। हाम्रा राजदूतले फ्रान्सेली भाषामा छोटो भनाई राखे सफलताको कामना गर्दै । आफूले यो रेस्टुरेन्ट निजी फाइदाका लागि मात्रै नभएर नेपालको प्रवर्धन गर्न, फ्रान्सेली र नेपालीबिच निकटता बढाउने पुलको काम गर्न र सांस्क्रितिक आदानप्रदान गर्नपनि हो भन्दै राम्रो भनाई राखिन् तारा दिदीले ।

खाना खाने बेला लाइनमा उभिएर आफैँ फटाफट झिके मन्त्रीले । नेपाली खाना एकदम रुचाउँछु भने । उनी म्याक्सिकन खानाका प्रशंसक रहेछन् । अनि विदेशी खानाहरू फेरि फेरि चाख्न रुचाउने रहेछन् । उनकी पत्नीसित एक छिन् गफ गरेँ मैले । भन्दै थिइन- मेरो लोग्ने नेपाल जानु भएको छ । नेपाली खानासित परिचित हुनुहुन्छ । त्यही भएर त थपी थपी खानु भयो नि ! साँच्चै उनीहरूले थपी थपी खाएका थिए । पछि निस्कने बेलामा जिज्ञासा राख्दा पनि मन्त्रीले त्यही दोहोर्‍याए ।

मन्त्री पत्नी आल्बानले नेपाल जान असाध्यै इच्क्षा भएको सुनाइन् । तारा मानन्धरसित नेपालका विभिन्न द्रिष्य र पोस्टर हेर्दै गरेकी उनले भनिन् ” हामी नेपाल जाने हो अलि पछि”। पती मन्त्री हुँदा सम्पत्तिले पक्कै पुग्दो हो टाइँ फाइँ देखाऊँ भने । तर उनी असाध्यै सामान्य पहिरनमा थिईन् । गर गहनाका झुप्पा त के सामान्य जिन्स पेन्टमा थिईन् । सादा जिवन उच्च बिचार त धेरैले भन्छन् । तर साँच्चै त्यस्तै गर्न त उच्च बिचारकै हुनुपर्ने रहेछ क्यारे । हाम्रो राजदूत पत्नी सजनापनि त्यस्तै सामान्य पहिरनमा नै थिईन ।

उता नगर प्रमुख क्याथ्रिन मार्गाते पनि नेपाल जाने इच्क्षा सुनाउँदै थिइन । चीनको ल्हासासम्म पुगेको बताउने उनी चुकचुकाउँदै थिइन- हेर म ल्हासासम्म पुगेँ । नेपाल नचिनेको हो र ? के भो के जानै मिलेन त्यो बेला । अब त कहाँ नगइ छोड्छु र ? नेपाल नगएपनि नेपालका बारेमा आफू अनभिज्ञ भने नरहेको, धेरै ईष्ट्रमित्र र फ्रान्सेलीहरू नेपाल देखेर भुतुक्क बन्ने गरेकोले आफुलाईपनि नेपाल हेर्ने रहर लागेको सुनाईन् म सित । म उनको नेपाल जाने रहर कत्तिको होला भनेर बुझ्दै थिएँ ।

निस्कने बेलामा फेरी सबैसित हात मिलाउँदै निस्के मन्त्री । मैले कस्ता फोटो खिचेँ उनलाई के थाह ? क्यामरा चलाइरहेको त देखेका हुन् तर फोटा त उनले कस्ता छन् हेरेका थिएनन् । तैपनि निस्कने बेलामा भने देख्दै नदेखेका फोटोलाई राम्रा भने । “हामीहरूको सुन्दर तस्विर खिच्नु भएकोमा धेरै धन्यावाद”। हाँसो पनि उठ्यो । मन्त्री भएपछि अरुलाई खुशि बनाउन त्यत्तिकैपनि प्रशंसा गर्नुपर्ने रहेछ क्यारे !

धेरै लेख्नु छ भन्दै मन भुटभुटिँदै थियो । सुधा भाउजू, दावा शेर्पा लगायत हामी चार जना बेलैमा निस्कियौं । बाटोमा त्यहाँको जमघटबारे सोचिरहें । नगर प्रमुख, सिन्डीकेट प्रमुख, नगरपालिकाका अन्य प्रशासनिक व्यक्ति र मन्त्रीसम्मको यो पहुँचलाई नेपालको हितमा प्रयोग गर्ने हो भने ? यस्ता व्यक्तिको पहुँच र नेपाल प्रतिको आकर्षण अनि सद्भावलाई प्रयोग गर्न सक्ने हो भने नेपाल बारे कति कार्यक्रम गर्न सकिन्थ्यो होला ? अझ कति फ्रान्सेलीलाई आकर्षण गर्न सकिन्थ्यो होला ?

तपाइँको प्रतिक्रिया