कथा : कब्जा

-डा. लेखनाथ काफ्ले / ताइपेइ, ताइवान

साधुराम चौधरी, बर्ष ५७, मध्य पश्चिमको एउटा गाउँ झिन्झिनिया ।

साधुरामलाई आजकाल राम्ररी निद्रा पर्दैन । त्यस्तो हुन लागेको करिब एक बर्ष जती भयो । आज फेरी निद्राले छिट्टै छोड्यो । निद्राले छोडे पनि खटिया छोड्न मन लागेन उसलाई । ज्यानमा फुर्ती नै छैन । ‘बुढो भइएछ क्यारे’ बिहान सधैं उसले एक्लै गनगनाउने यीनै शब्द हुन ।

आज शुक्रबार । ४ बर्ष अगाडि शुक्रबार कै दिन बुढी बिती । साह्रै खोक्थी । एक दिन रगत नै आयो खोक्दा खोक्दै । धामी झाँक्री, झारफुक केहीले छोएन । आखिर प्राण छोडी । त्यसै बेला देखी बिग्रेको घरको आर्थिक अवस्था सुधार गर्न भन्दै छोरो चिन्का मलेसिया लाग्यो । त्यो पनि थप ऋण खोजेर। चिन्का मलेसिया जानु के थियो, बर्ष दिन नपुग्दै बुहारी आइती गाउँकै बुधना सँग गई ।

‘बुढेस कालमा रात लामा र दिन पट्यार लाग्दा हुँदा रहेछन।’ साधुराम त्यहाँ भन्दा बढी सोच्न नै चाहन्थेन । तर त्यती कुरा मनमा आए पछि कान्छो छोरो मंगलेको सम्झना आउने नै भयो । मंगलेको सम्झना त्यो १५ बर्ष अगाडिको कालो घटना सँगै आँखा अगाडि आउँछन् । त्यो कालो दिन झिन्झिनिया गाउँ कै लागि भयङ्कर थियो, जसको असर आज सम्म पनि उस्तै छ, झिन्झिनियावासीहरुको लागि ।    

‘घाम पनि लागि सकेछ ‘ खटिया सार्दै सधैं भन्ने अर्को वाक्य यही हो उसको । बाहिर आयो उ । बाख्राको खाली खोर, रित्तो गोठ र वरिपरी गहुँ, तोरी, मसुरो, रहर आदीले भरिएका गह्राहरु देखिए। अली पर पिपलको बुढो रुख र मन्दिर पनि देखियो । ती द्रिश्य सँगै साधुराम फेरी २५ बर्ष पहिलेको आफ्नो गाउँमा पुग्यो । मानसपटलमा सबै कुराहरु एक पछि अर्को गर्दै आउन थाले ।

उही मध्य पश्चिमको भूगोल । सानो थारु गाउँ । करिब ४७ घरधुरी । गुजुमुज्ज परेको गाउँको बीचमा ठूलो पिपलको रुख । त्यसैसँगै करिब ५ कट्ठाको पोखरी । र पोखरी नजिकै शिव मन्दिर । मन्दिरको ठीक अगाडि इनार । पिपलको रुखको छाया पर्ने गरी मन्दिरको पछाडि रहेको एउटा खुद्रा पसल ।     

त्यो पसल पनि अचम्मको छ । गाउँलेलाइ चाहिने सबै कुरा पाईन्छ त्यहाँ । चिया, लोकल रक्सी, जाँड, चुरोट, सुर्ती, बिडी र अरु घरयासी समानहरु । गाउँलेहरु आफुले फलाएका उब्जनीसँग समान साटेर लैजान्छन ।  पोखरी, इनार, पिपलको रुख त सबै गाउँमा हुन्छन नै । तर मन्दिर त्यो गाउँमा कसरी बन्यो । त्यसको पनि आफ्नै कथा छ ।

थारु बस्तीका आफ्नै रितीथिती हुन्छन । गाउँका मुखियाले गाउँलेको प्रतिनिधित्व गर्छन् । गाउँलेहरुको नेता हुन्छन । गाउँलेको दुस्ख सुखमा सामेल हुन्छन । गाउँलेहरु पनि उनको सम्मान गर्छन् । भनेको मान्छन । मानविय त्रुटी त हुन्छ नै, तर पनि मुखियाले सके सम्म सन्तुलित व्यबहार नै गर्छन् सबैलाई। मुखिया पनि गाउँलेहरुकै सल्लाहमा सबैले मान्ने मान्छेलाई बनाउने गर्छन, गाउँलेहरुले ।

मन्दिरलाई सुर्यको बिहानी प्रकाशले अझ उज्यालो र प्रस्ट बनाइरहेको थियो । त्यस पछाडि त्यसकै छायाँ पनि प्रस्ट हुँदै गइरहेको थियो । त्यत्तिकैमा बिहानीपखको चिसो हावाको एक लहर आयो । खेतका बाली बिरुवाहरुमा पनि हावाको लय देखियो । आलिका रहरका बोटहरु पनि हल्लिए।

‘ओहो म त कहाँ बाट कहाँ पुगेछु ‘  साधुरामले तर्कना गर्दै पुराना कुराहरुलाई फेरी आफ्ना आँखा वरिपरी घुमायो ।

एक शुक्रबार कै रात झिन्झिनिया गाउँमा एउटा चिसो बतास आयो उत्तर तिरबाट । त्यो बताससँगै एक हुल टोपी लगाएका मान्छेहरु पनि आए । तिनिहरुले वरीपरिका झाडी जंगल फाँडे । रुख काटे । घर टहरा बनाए । जमिन सम्याए । खेत बनाए । कमिलाहरुको पाराले काम गरेर तिनिहरुले गाउँकै नक्सा फेरिदिए । अब त्यो गाउँ ४७ घरधुरीबाट १०१ पुग्यो ।

मुखियाका नजरमा ति कुराहरु पर्ने नै भए । मुखिया बुद्धीबहादुर चौधरीले ति नयाँ मान्छेहरुलाई एक दिन साँझ घरमा बोलाएर छलफल गरे । ‘तपाईंहरु कहाँ कहाँबाट हाम्रो गाउँमा आएर वरपरका बन जंगल मास्नु भयो । गाउँमा बिना सल्लाह घर टहरा बनाउनु भयो । यो हामीलाई चित्त बुझेको छैन।’ बुद्धीबहादुरले आफ्ना कुरा राख्यो ।

‘हामी सेङु जिल्लाको खामन गाउँबाट खडेरिले भोकमरी लागेर मधेश झरेका हौं । चारै तिर भौतारिदा भौँतारिदैं यहाँ आईपुगेका हौं । टाउको लुकाउन छाप्रो बनायौ । हात मुख जोर्न खेत बनायौ । नसोधेकोमा गल्ती भयो । हामीलाई यो गाउँको नियम कानुन थाहा नभएर हो हजुर । त्यसको लागि क्षमा पाउँ । कसैको बिगार नगरी आफ्नो काम गर्छौ । तपाइलाई मुखिया मानेर यही गाउँमा बस्न पाउँ ।’

साधुराम त्यही थियो त्यस बेलामा पनि । मुखियाले ‘हामी शरण पर्नेको मरण गर्दैनौ । मन मिल्नेलाई ज्यान पनि दिन तयार हुने थारु जाती हो हाम्रो । सबै सँग मिलेर, हाम्रो गाउँको रितीथिती मानेर बस्नु ‘ भनेको उसलाई अझै पनि याद छ ।        

अन्य गाउँलेहरुले पनि खासै नराम्रो प्रतिकृया दिएनन । तिनिहरू र थारुहरुका बिचमा धेरै कुराहरु फरक भए पनि एक बर्ष सम्म पनि कुनै तातो पिरो भएन । थारुहरुले नयाँ मान्छेहरुलाई मिलौटे भन्ने नयाँ नाम दिए । नयाँ मान्छेहरुले पनि उनीहरूलाई बसौटे भन्ने नामले बोलाउन थाले ।

साधुरामले आँफैले आँफैलाई सोध्यो, ‘साच्चै तिनिहरुलाई यो गाउँमा बस्न दिएर हामीलाई के फाईदा भयो ? त्यस्को उत्तर पनि फ्याट्टै आयो ‘तिनिहरूले मकै खेती गरे, बिस्तारै, हामी पनि गर्न थाल्यौं । उनिहरुले गाउँको बिचमा मन्दिर बनाए, पुजापाठ हुन्छ, मुखियालाई फूल प्रसाद लगी  दिन्छन । हाम्रा मान्छेहरु पनि मन्दिर जान्छन । जे होस् तिनिहरु आएर, कुलो पानीमा अली अली समस्या भए नी गाउँ त रमाईलै भयो है। ‘ त्यो मन्दिर एक किसिमले बसौटे र मिलौटेको मेलमिलापको नमुना पनि थियो । साधुरामले सोच्यो ‘उनीहरूले हाम्रो मुखियालाई माने, हामीले उनिहरुको मन्दिरलाई। ‘

तर त्यो सन्तुलन सधैँ रहन सकेन । मिलौटेहरु बसेको करीब ५ बर्ष पछि, एउटा शुक्रबार राती एउटा तातो, कालो आधीँ आयो दक्षिण तिर बाट । त्यही तातो हुरी सँगै एक हुल मान्छेहरु त्यस गाउँमा पसे । जहाँ खाली छ, त्यही बसे । कसैको आँगन, चरन, गोठ जताततै बसे । गाउँमा मालसामन हराउन थाले । केटा केटी रोएका, चिच्याएका, मान्छेहरु झगडा गरेका आवाजहरु सुनिन लागे । ती नयाँ मान्छेहरुलाई पुरनाहरुले अगौटे भन्ने नाम दिए ।  

एक दिन मुखियाले अगौटेहरुलाई बोलाए । भेलामा उनिहरु अली धेरै जना नै आए । तिनिहरु मध्ये एक जनाले भन्यो ‘म जितेन्द्र कोरवल, म यिनिहरुको नेता हुँ । यिनिहरुले मलाई प्रधान मान्छन । हाम्रा मान्छेले हाम्रै नियम मान्छन । ल मुखियाजी भन्नुस् तपाईंको कुरा के हो ?

‘झिन्झिनिया हाम्रो गाउँ हो, यहाँ हाम्रो आफ्नै रितीथिती छ । तपाईंहरुले त्यसलाई मान्नु पर्छ । हाम्रो बस्तिको चलनलाई आदर गर्नुस् । तपाईंहरुको करणले हाम्रा आईमाई, केटाकेटीहरुलाई समस्या भैइराखेको छ । गाउँको शान्ती खल्बलिएको छ । तपाईंहरु यो गाउँमा बस्न मिल्दैन। तपाईंहरु आफ्नो बाटो लाग्नोस ।’ मुखिया आज अली कडा रुपमा प्रस्तुत भएको साधुरामले बुझ्यो ।     

अगौटेहरु त्यो गाउँमा त्यसै आएका थिएनन । एउटा योजना सहित आएका थिए वा पठाइएका थिए । त्यसैले, उनीहरूले कुनै न कुनै बहाना बनाएर मुखियालाई बरखास्त गर्ने, अनी अगौटेहरुकै आफ्नो मुखिया बनाएर गाउँ नै कब्जा गर्ने योजना सहित त्यहाँ आएका वा कसैद्वारा पठाइका  थिए । पल्लो गाउँमा पनि तिनिहरू कै मान्छेहरुले गाउँ कब्जा गरेको हल्ला पनि चलिरहेको थियो ।

‘गाउँ हाम्रो कब्जामा छ । आज, अहिलेबाटै म यो गाउँको प्रधान भए । सबैले मेरो आदेश मान्नु’ जितेन्द्रले कडा स्वरमा भन्यो । वरपर अगौटेहरुका मान्छेहरु हातमा लौरा, भाला, हँसिया, कोदालाहरु बोकेर उग्र रूपमा बसेका दिखिए ।

त्यसै रात तिनिहरूले बसौटे र मिलौटेहरुका घर घरमा गएर आईमाई, तरुनी छोरी बुहारीहरुलाई जथाभावी गरे, जवान वा लोग्ने मान्छेहरुलाई पिटे, गाउँबाटै लखटे । धेरै युवाहरूले प्रतिरोध पनि गरे तर गहिरो चाल, छल र योजना सहित आक्रमणमा आएका अगौटेको अगाडि निहथ्था गाउँलेको केही लागेन । गाउँमा एक किसिमको लडाइ नै भयो । आखिर अगौटेहरूले गाउँ नै कब्जा गरे । त्यो कालो रातले साधुरामको कान्छो छोरो मंगलेलाई पनि लिएर गयो ।

त्यसपछि गाउँमा अगौटेरुको चहल पहल पहिले भन्दा धेरै बढ्यो । बसौटे र मिलौटेहरू हारेका सिपाही जस्ता भए । समयक्रम सँगै बिस्तारै बिस्तारै गाउँमा मान्छेहरु आ-आफ्ना काममा फर्के । बाहिरी स्थिति सामान्य हुँदै गयो । भित्र भित्रै भने भुसको आगो जस्तै प्रतिशोधको भावना बल्दै गयो।

‘मेरो मंगले सम्झनामा मात्रै सिमित भयो । ‘ साधुरामले मन आमिल्यायो । गाँउ कब्जा भएको ६ महिनामा नै प्रधानले मन्दिरको मिलौटे पूजारीको सट्टामा अगौटेको पूजारी राखिदियो । नयाँ पूजारिले मन्दिरमा बसौटे र मिलौटेहरूलाई भित्र नै जान नपाउने गरी नयाँ नियम बनाइदियो । त्यस घटनाले बसौटे र मिलौटेहरूलाई अझ अक्रोशित बनाईदियो ।

एक दिन बसौटे र मिलौटेहरूका युवाहरू मुखिया बुद्धिबहादुरलाई भेट्न गए । बुद्धिबहादुरका आँखामा पहिले जस्तै चमक थिएन । लालटीनको मधुरो उज्यालोले उसका ब्यक्त हुन नसकेका पिडाहरु अनुहारमा परेका चाउरिका रेखाहरु संगै गहिरो गरी देखाइरहेको थियो । बुद्धिबहादुर गाउँमा भएको त्यो पुरानो लडाईं देखि नै बिरामी परेको थियो । ‘हामी यो गाउँ, आँगन, खर, खलिहान, जंगलका मालिक हौ । तिमीहरुले हार नमान्नु । म बुढो भए, बिरामी पनि भए, यो साधुराम गाउँको पुरानो मान्छे हो, सबै कुरा थाहा पनि छ । म नभए पनि उसको सल्लाह मान्नु । अब अधिकार फिर्ता लिने जिम्मा तिमीहरुको भयो । मैले सकिन, मलाई माफ गरिदेओ। ‘ मुखियाले भनेका ति वाक्यहरु साधुरामका कानमा आज पनि त्यत्तिकै प्रस्ट सँग गुंजीनै रहन्छन। 

ती युवाहरुले त्यस भेटघाटपछि नयाँ दिशा र उदेश्य पाए । परदेशी प्रधानलाई हटाएर बसौटे मुखियाको स्थापना र मन्दिरमा मिलौटे पूजारीको बहालीका लागी उनीहरू एक जुट भए । त्यत्तिकैमा नेपालमा ४७ सालको बहुदल आयो । अगौटेहरु अचानक गाउँबाट हराए । सरकारी नाप नक्सामा झिन्झिनिया गाउँ नै एक गाबिसको वार्ड बन्यो । स्थानिय चुनाबमा साधुराम वार्ड अध्यक्षमा निर्बिरोध निर्वाचित भयो । मिलौटेहरु मध्यबाट शान्तिराम न्यौपाने मन्दिरको पूजारी ।

छिमेकीका एक बथान परेवा बिहानको उडानमा साधुरामको नजिकैबाट उडे । अर्को छिमेकीको कालो कुकुर पनि उसकै अगाडी पुच्छर हल्लाउँदै आयो । साधुरामको मनमा भने अझै धेरै कुराहरु खेली राखेको छन । नयाँ परिस्थितीमा यत्तीले मात्रै गाउँमा खुशी र शान्ती आउँला ? र साधुरामले परको मन्दिर हेर्यो । सुर्यको प्रकाश झन झन गाढा बन्दै गइरहेको छ । मन्दिरको छाँया झन सानो सानो हुँदै गइरहेको छ ।

झिन्झिनिया गाउँबाट अगौटेहरु हराउनसाथ गाउँमा एउटा खबर आएको थियो ‘बहुदल आउनसाथ अगौटेहरु त काठमाडौं पो पसे अरे। ‘

अहिले अगौटेहरू काठमाडौंमा के गर्दै होलान ?

तपाइँको प्रतिक्रिया