कथा: डायरी

-विद्या सापकोटा

मलाई उसको साथी आउने कुरामा खास चासो थिएन र पनि घर त र्फकनु नै थियो । आभा/मेरी पत्नी सुन्न चाहन्थी, आफ्नो लोग्ने अर्थात म आफ्नी बालसखाको पहिलो नजरमा कस्तो देखिन्छु ?

उनीहरु एकसाथ हुँदासम्म हर स-सानाकुरा दुईजनाको साझा रोजाइको हुन्थ्यो रे । आभा एक्लैको रोजाइ म, कतै ..? कतकता संकोच लाग्यो ।

सकसक सहिनसक्नु हुँदा म बोलें, “आभा एउटा कुरा भनुँ ?”

स्वाभाविक मुस्कानसहित ऊ बोली, “हजार कुरा भन्नु न, किन एक ?”

“सुनन, तिम्रो साथी हामी कहाँ नै बस्ने भन्दा मलाई असजिलो लागिरहेको छ । कुनै राम्रो गेष्टहाउसमा राखिदिउन हुन्न?”

“हा ! किन र ? “ऊ झण्डैझण्डै चिच्याई ।

” हैन ऊ विदेशबाट फर्केकी मान्छे, असुविधा होला की भनेर । ”

” ए, त्यो मेरी साथी हो । हजुरले बिल्कूल चिन्ता लिनुपर्दैन । त्यो हामीसागै खुसी भएर बस्छे ।” ऊ ढुक्क देखिई ।

छरितो शरीर,सुहाउँदो कपडा अनि यौवनको स्वाभाविक आकर्षक समग्रमा राम्री देखिन्थी आरती ।

“आभा यस केटोमा केही विशेष पक्कै छ हैं । लौं, मलाई तेरो खसम मनपर्यो ।” पहिलो हेराइ मै मेरी पत्नीको कानमा फुसफुसाई ऊ ।

“तपाई आभाको पति हुनुहुन्छं त्यसैले भिनाजु नै भन्नुपर्ला …………भरपूर जिस्कन र जिस्क्याउन पनि मिल्ने कसो आभा?” तत्काल साइनो पनि तय गरी उसैले ।

ममा हैन त्यसमा भने पक्कै केही विशेष छ, अनायसै मेरो अन्तरआत्मा करायो ।

परिवारमा ऊ थपिई, हामी तीनजना भयौं । म आफूलाई त्यती छुच्चो र असामाजिक मान्दिन । तर किन हो त्यस केटीको उपस्थिति मलाई असहज अझ भनौ अत्याहटपूर्ण लाग्यो, लाग्थ्यो । मलाई ऊ बडो रहस्यमयी तरिकाले हेर्थी । अंग्रेजी (हिन्दी र कहिलेकाहिँ नेपाली पनि) गीत गुन्गुनाउदैं घरी यो कोठा र घरी यो कोठा गरिरहन्थी ।

एकविहान म आफ्नै कोठामा अफिसका केही कागजात तयार गर्दै थिएँ ।

“भिनाजु चिया ।” आभा कहाँ गइछ, आवाज आरतीको थियो ।

ढोकासम्म ठमठम आएकी त्यो, म छेउमा आइपुग्दा रातोपीरो देखिई, उसका हात काम्दै थिए ।

“के हो साली ज्यू, चिया लिएर आफैं आइएछ त ?” मलाई जिस्क्याउन मन लाग्यो ।

करेन्ट लागे झैं हात झड्कार्दै त्यो बोली, “आभाले देखीभने…..? ”

विचित्रको सवालले अचम्ममा परे म । ला मैले त चियाको सट्टा त्यसको हात पो समातेछु । 

“साली-आधा घरवाली भन्ने सुनकी छौंनौं र?” वातावरणलाई सहजता दिने सानो प्रयास मेरो ।

मुख छोपेर दौडिई ऊ, ओझेल परेपछी आफ्नो लापरवाही सम्झेर आफैंलाई कस्तो कस्तो लाग्यो ।

पछिल्लो समयमा त्यसको हर्कत मेरा निम्ति बडो लापरवाह र नखरापूर्ण हुदैं गयो। त्यो यताउता झुल्किरहन्थी । बेलाकुवेला मेरो कोठामा छिर्थी । कहिले चिया त कहिले खाना भन्दै तान्न आइपुग्थी । म जिस्क्याउँदै आँखा तरि दिन्थें । यसैक्रममा हाम्रा नजर एकाकार भए । त्यो पलभरमै उछिट्टिइ । यस किसिमको मदहोशपूर्ण सामित्यताले मभित्र वेचैनीको ढोका खोलिदियो । बिस्तारै, एककिसिमको तनावको महशुस हुन लाग्यो । भित्रैबाट दुखे झैं छटपटाहट हुन लाग्यो । के भन्ने के गर्ने, आफैंलाई भएको के हो, आफैं अलमल्लमा पर्न लागें ।

“तिम्री साथी गाउँ कहिले जाने रे ?” अत्याहट बढ्दै जाँदा आभालाई खुसुक्क सोधें ।

“अलिकति काम छ रे, दुई चार दिनमा निम्ट्याउँछे होला । तर किन र ? त्यसको अलि धेरै बोल्ने बानी छ, हजुरलाई केही… ?”

“त्यस्तो केही हैन, त्यसै सोधेको ।” मसँग टार्नुको विकल्प थिएन । 

यस्तै चल्दै थियो, चल्दै गयो । म अफिस जान्थें, फर्कन्थें । आभा र आभाकी दौंतरीवीचको प्रेम मौलाउँदोथ्यो, मेरो मन गन्जगोलमा फस्दैथ्यो ।

एक साँझ, म टि.भि.मा समाचार हेर्दै थिएँ । भिजेका कपाल झड्कार्दै कोही मेरो आँखा छोप्न आइपुग्यो ।

“के बबचना हो यो ?” म झर्किएा ।

“सानो छँदा आभा र मलाई हत्तपत्त कसैले छुट्टयाउन सक्दैनथ्यो, हजुरले चिन्नुहुन्छ कि हुन्न भनेर तर….” काँपेको स्वर आरतीको थियो ।

“हैन हैंन म कहाँ रिसाएँ र, मैले पनि आभा नै सोचेको ।” सरासर झूट बोले मैले ।

“यसको मतलव, आभालाई छाडेर मैसँग बस्न सक्नुहुन्छ ?”

“हा …..” मेरो ओठ तालु सुक्यो ।

“मैले त्यसो भने र ? मेरो काम छ तिमी जाऊ । ” मलाई साँच्चै झोक चल्यो ।

“मेरो प्यारो भिना, कति डरपोक हैं ?” खितखिताउदैं ऊ दौडिई  ।

खास केही भएकै थिएन, कुनै त्यस्तो कारण पनि थियो जस्तो लाग्दैन । उल्टो परिणती, अनौठो बेचैनीले गालिदैं गएँ म । कसैलाई भन्ने कुरापनि थिएन । म बहादुर लोग्नेमान्छे एउटी पाहुना केटीदेखि भाग्ने कुरा पनि भएन । कुनै डरलाग्दो भूमरीमा फस्न लागेको संकेतले भित्रभित्र खूव सर्तक रहन खोजें । आफूलाई सकेसम्म व्यस्त राख्ने प्रयासमा लागें ।

“तेरो एक्लो रोजाइमा पनि दम चाहिँ छ हैं ।” मलाई घुर्दै आभालाई फुर्क्याउथी त्यो ।

थाहा छैन, उसको मनमा के थियो ? मैले कबुल गर्नैपर्छ, पक्कैपनि म ऊ प्रति प्रभावित थिएँ, भएँ । थोरै समयमै त्यो केटीले मलाई रोगी बनाइदिई । त्यसैले त अव्यक्त, बडो अनौठो पीडामा गाँजिदै गएँ । शनिवारको दिन अर्को आपत आइलाग्यो । उसलाई बजार घुमाइदिनु पर्ने रे । उम्कने प्रयास नगरेको पनि हैन । ‘तेरो पति कायर र छ ।’ पुरुषत्वमाथीको हाँक मलाई मञ्जुर भएन ।

साँझ ढल्कँदै थियो । सिमसिम पानी पर्न लागेको थियो ।

“चिया पिउने की?”

“मात्र चिया ?”

म वाल्ल परें ।

“केही दिनमा म गइहाल्छु, एकसाथ डिनर गर्दा के बिग्रन्छ र ?” चुलबुले आँखा नचाउदै त्यो बोली ।

“हा ………..तिमी आएदखी नै एकसाथ खाना खाँदैछौं नी हैन ?” अपराधबोधले फतक्क गाल्यो मलाई ।

“भएपनि….” ऊ के भन्दै थिई । म आत्मविश्वास गुमाएको पुरुष, नसुने झैं बाइक हुइक्याएा ।

बजारबाट फर्केपछी आरतीको तेस्रो अवतार देखें मैले । उसका बोली बन्द भए, चञ्चलता हराए । बेसुरा गीत सुन्न छाडें तर कामले हो वा त्यतिकै मेरो कोठाको बाटो यताउता गरिरहन्थी । चोर आँखाले यसो हेर्थी अनि फोनमा कुरा गरेको बाहना गर्दै छेउ लाग्थी, मेरो कोठामा झुक्केर पनि छिर्न छाडी । त्यसको व्यवहार देखेर ममा केही शीतल केही गर्मी एकसाथ सवार हुन्थ्यो । छिनमा हाँसो उठ्थ्यो, छिनमा रिस उठ्थ्यो ।

पर्सिपल्ट विहान, आभा तरकारी लिन बाहिर निस्किई । म आफैंभित्र निस्सासिइरहेथे, आरती धारामा भएजस्तो लाग्थ्यो ।

“तिमी आफूलाई खुब स्मार्ट सम्झन्छौं हैन? अरुलाई फसाएर आफू उम्कन खोज्ने ढोङ्गी, पापी/अपराधी……….. ।”  अप्रत्यासित रुपमा मेरो कोठा डगमगायो ।

“किन, के भयो र आरती ?” मैले अनभिज्ञता जनाएँ ।

“तिम्रो म सँग के शत्रुता छ हा …आभा मलाई तेरो यो रोजाइ भारी पर्यो । ” अंग्रेजी लवजमा अरु के के भन्दै लडखडाउँदै, बरबराउँदै, रुँदै  त्यो बाहिरिई ।

कुनै नाटकको पर्दा खसे झैं बडो अनौठो, असजिलो परिस्थिती पलभरमै टर्यो । त्यहाँ रोकिने हिम्मत भएन म सँग, सकेसम्म छिटो बाहिर हुत्तिएँ । काममा रत्तिभर मन लागेन ।

‘अरुलाई फसाएर आफू उम्कन खोज्ने, पापी/अपराधी……….ढोङ्गी….’ जलाइरहें त्यसका प्रतिध्वनीहरुले ।

भारीमन लिएर घर फर्किएँ, वातावरण शून्य थियो । आरती गएको अन्दाज लगाएँ । कुनै आउँदै गरेका ठूलो भूकम्प रोकिए झैं लाग्यो । अझैं आँखामा त्यही दृश्य नाचिरहेको थियो । ऊ टाढिएको सत्यताले पनि मलाई शान्ति दिएन ।

“आरती गई नी…..ओहो कस्तो फुङ्ग उडेको अनुहार, के भयो हजुरलाई….सञ्चो भएन?”

जीवनमा पहिलो पटक कसैको साथको खास आवश्यकता महशुस गरिरहेको थिएँ म, के भन्न सक्थे र? मन हडबडाएकै थियो ।

“आभा ….” कसैलाई रुवाएको अपराधबोधले कठाङग्रिदैं, हठबडाहटमै आफ्नी पत्नीलाई अंगालेर आागनमा झरें म । एक्कासी पानी दर्कियो । झमझम पानीमा घण्टौं भिजिरह्यौं हामी, म सँग बोल्ने शब्द थिएनन् । भलसँगैं सारा त्रास, कुण्ठा, पीडा पखालिएर बगें । नूतन प्रेमोदयको आभासले शक्ति क्षीण भएको शरीरमा एकाएक स्फूर्ति ब्युँझेर आयो । लाग्यो, भर्खरैमात्र मैले मेरी पत्नीलाई प्रेम गर्न शुरु गरे ।

लजाउँदैं भागेकी मेरी पत्नीको चुरा र पाउजुको मीठो झंकारमा तरगिंत उँदैं भोगाइको त्यो स्वणिर्म क्षणमा धेरै दिनदेखि पन्छिएको डायरी पल्टाउँदै कृतज्ञतापूर्वक अन्तिम वाक्य लेखे मैले-‘साधुवाद आरती ।’

तपाइँको प्रतिक्रिया