साथीहरु डिस्को र वाईनमा मस्त, म घर सम्झेर भक्कानिँदै
-चिरञ्जिबि सिटौला
किन घर शब्दले आज मलाई गाम्भिर्यतातर्फ मोडाईरहेको छ ! म आफैलाई न्यास्रो महसुस गराईरहेको छ । म मात्र हो वा म जस्ता अरु कयौं साथिहरु आज यो बिरोनो संसारमा कहालिरहेका छन् जसरी आज म मेरो गाउँ संझिरहेको छु । मेरो गाउँ आहा ! त्यो सुन्दर गाउँ । नुवाकोटको पुच्छरमा अवस्थित या भनौं काठमाडौंबाट मात्र तिन घन्टाको पैदल दुरिमा अबस्थित गाउँ । प्रकृतिको सुन्दर छठाले सुसज्जित अनुपम उदाहरण हो मेरो गाउँ । बिदेशको यो बिरानो संसारमापनि आज मलाई त्यहि खोलेगाउँको झझल्कोले छोडेको नै छैन । निदाउन खोज्छन् आँखाहरु । त्यहि गाँउमा सयर गर्न मस्त हुन्छन । फेरि टोलाँउछु अनि कल्पन्छु मेरो माता अनि पितालाई । छोरा, फोन गरेस् है ? माया नमारेस् है ?
यिनै शब्दहरु आज मलाई हररात सपनिमा पिरोल्न आउँछन् आमा । फेरि फोन पनि त भर्खर गरेर आउँदैछु नि ! किन मामु मलाई तपाँईको यति धेरै याद आइरहन्छ ? बाबा किन मलाई पटक्कै पढ्न मन नै लागेको छैन ? साथिहरु सम्झाउछन् तर मन मान्दै मान्दैन । मेरो यो ह्रदयभित्रको संसारले मलाई गिज्याईरहेको छ मामु । मामू फोनमा भन्नुभएको थियो नि ! साइँलाले बिहे गर्यो रे । अनि वल्लो घरको काँइलाले त पल्लो घरको च्यान्टीलाई भगायो रे । यस्तै अन्तरे पनि पैसा कमाउन थाल्यो रे । उसका बा आमापनि खुसि छन् रे यस्तै यस्तै । मामु बिचमा भन्दैहुनुहुन्थ्यो, छोरा तँ सन्चै छस् हैन ? तर म भने अड्किएर भन्दै थिएँ, सन्चै छु आमा । अस्पष्ट मेरो पिडाहरुको बयान त म गर्न असमर्थ हुन्छु किनकि म मेरो सपनालाई कदापि भुल्न सक्दिन । अनि बाबाले पल्लो घरको साहुबासँग घर धितो राखी मेरा लागि ऋण लिएको पनि कहाँ भुल्न सक्छु र म ?
मामुले मेरा लागि भनेर कानको गहनाहरु धितो राखेको पनि मेरो मानसपटमा ताजै छ । हिजो त साहुबा पनि कड्किएर भन्दैहुनुहुन्थ्यो रे मेरो पैसा फिर्ता गर्छस् कि म घर लिलामी गरौं ? मामु फोनमा रुँदै हुनुहुन्थ्यो । बाबा धैर्यताको शब्दहरुले मलाई पढाईरहनुभएको थियो। म बिचमा सम्झाउँथे । बाबाहरु आफैमा पबित्र हुँदारहेछन् । मलाई बाबा फोनमा सम्झाईरहनुहुन्थ्यो । छोरा, राम्रो पढ, तिमिले पैसा कमाएर साहुबाको ऋण चुक्ता गरि घर मुक्त गर्नुपर्छ । म सुक्क सुक्क रुँदै समर्थन जाहेर गर्थे् । लामो समय भएको थियो बाबा मामु सँग कुरा नगरेको ।
लामो समयले त साँच्चै उतारचढाब नै ल्याएको रहेछ। मामु बिचमा अस्रुधाराको भेलहरु रोकेर बोल्न खोजीरहनुभएको थियो । तर बाबा उहाँलाई सम्झाईरहनुभएको थियो। मेरो बाबालाई हम्मे हम्मे पर्यो होला मामुको आँशुको भेल रोक्न । सायद मेरो जिन्दगी उहाँहरुको जिन्दगी जोडिएर यस्तो भएको होला। म आफैलाई पनि गार्हो भएको थियो। साथिहरु सोध्दैथिए मलाई । तर म ईन्कार गर्थे । कसरी म बयान गरौं मेरो पिडा अरुलाई ?
राकेश पुँजिपतिको ऐक्लो छोरो, सम्पतिको कुनै चिन्ता नै छैन । उ त घरी घरी डिस्को अनि क्याफेमा उन्मक्त लड्कीसँगनै मस्त हुन्थ्यो । सरोज पनि राकेशको दोस्तिनै थियो । पढाईको निँहु गरेर बिदेशिएका यी युबाहरु त्यो ठाँउमा साह्रै नै मस्त देखिन्थे । उनिहरु आफ्नो जीबनस्तर म सोझो केटासँग दाँज्थे । म सोझो केटो साथमा बाबा आमाको सुन्दर सपनाहरु, भन्दा उनिहरु हाँसोमा उडाउँथे । मेरो भाबुकपनलाई हाँसोमा उडाउने गर्थ्यो राकेशले । तर सरोज पनि ग्रामीण परिबेशको भएकोले अलि अलि सान्त्बना भने दिन्थ्यो मलाई ।
हामि रुममेड थियौं । म अली बढी समय पढाईमा नै बिताउने गर्थे । उनीहरु पढाईपश्चात लगतै मोजमस्तीमा तल्लीन हुन्थे । यहि नै उनिहरु र म बिचको भिन्नता थियो । उनिहरु बियर र वाईनहरुमा आफुलाई भिजाँउथे र यसमा गौरव ठान्थे भने मेरा अधिकतम समयहरु पढाईमा नै बित्थे । उनीहरु नशामा लिप्त हुँदा म घरको ढिँडो र गुन्दू्कको तरकारि सम्झन्थें । अरु डिस्कोमा मस्त हुँदा म आफैमा भक्कानीएर रुने गर्थें घर सम्झिएर । किनकि म त्यो बिरानो संसारमा हराएको थिँए । फेरि म मेरो बिगत पनि त भुल्न नसक्ने अवस्थामा छु ।
म विदेश आउनुभन्दा एकदिन अगाडी मामुले साहुबाकहाँबाट २ मुरी कोदो काम गरिदिने शर्तमा ल्याउनुभएको थियो ढिँडो खानको लागि । सम्पतिको नाममा एउटा घर अनि एउटा पाटो बारी । बर्ष दिनभरि खेति गर्यो १ महिना खान पुग्ने । बाँकी ११ महिना साहुकोमा काम गर्न जान पर्ने । यो विबशता र विशमताबिच मेरो परिवार । सँधै अरुको मेलापात गरेर जिन्दगि गुजार्नै पर्ने यो कस्तो बाध्यता हो । मामुले मलाई जन्म दिएपछि खुवाउनको लागि खर्चिनु भएको लगानिहरु अझै पनि तिर्न सक्नु भएको छैन जुन मेरो जिन्दगिसँग जोडिएको छ । पोल्टो रित्याएर भएपनि मेरा लागि लगाउनुभएको गुन म कसरि तिर्न सक्छु र मामु ?
तीन महिना अगाडि फोन गरेर मामुले भन्दैहुनुहुन्थ्यो “छोरा, माथ्लो घरे मंगलेले त विदेशबाट आमालाई कति धेरै गहना गुरिया ल्याईदिएछ । उसले त अब चाँडै नै काठमाडौंमा अलिशान महल किन्दैछ रे” म बिचमा स्तब्ध हुन्थेँ अनि सम्झाँउथे । आँखिर आमाको मन न हो, आफैलाई सम्हाल्नुहुन्थ्यो ।
अस्तिमात्र सरोजले पनि ऊसको घरमा फोन गरेको थियो । ऊसले मलाई भन्दै थियो की घर नजिककी एऊटी केटिले ऊसलाई मन पराएकी छे रे । केटि पनि राम्रि नै छे रे । बत्तीस लक्षणले युक्त, पढाइमा लगनशील, शिल स्वभाव पनि निकै राम्रो, हुनेवाला सासु ससुरा पनि निकै राम्रा । म ऊसलाई पनि सम्झाउँदै थिएँ । तर ऊ स्वदेश फर्कन ईन्कार गर्थो । किनकि राकेशको लहै लहैले ऊ बिग्रन लागेको थियो । म सम्झाउँथेँ, केहिवेर सम्झन्थ्यो फेरि भरै वियर र वाइनको सुरमा झुमेपछि आँखा देख्दैनथ्यो उसले । फोहोर शब्दहरुले उसको व्यक्तित्व भरिपुर्ण हुन्थ्यो । म उसलाइ उपदेश दिन्थेँ तर मेरा उपदेशहरु उपदेशमै सीमीत रहन्थे ।
उता राकेश दिनदिनैको नशा सेवनले गलिसकेको थियो । छोरा विदेश गएर राम्रो अध्ययन गरेर नाम दाम कमाउला भनेर आश गर्नु धुलो चाट्नु सरह भयो राकेशको परिवारलाई । राकेश काठमाडौंमा पनि यस्तै रहेछ । यहाँ त झन् खतम । ऊ यहाँ कसैको नियन्त्रणमा थिएन ।
कुरो जति गरेपनि आखिर म मानै गएर कुरो अड्कने गर्छ । म भावुक हुन्छु । सारा वोझहरुले थिचिरहेको महसुस गर्छु । परिवारको जेठो छोरो । सामाजिक बन्धनवाट परिवारलाइ मुक्त गर्नु छ । साहुवाको त्यत्रो धेरै ऋण चुक्ता गर्नुछ । अनि लड्न लागेको घरलाई लिपपोत गरि सिंगार्नुछ । आमाको नाक कान गहना गूरिया ले सिंगार्नुछ । बाबाको सपनाहरुलाई चरितार्थ पार्नुछ । यिनै कुराहरु सपनीमा देख्छु म यो विरानो शहरको एउटा कोठाभित्र । फोनका घण्टीहरु बज्ने बित्तिकै म झस्कन्छु । तर पछि पढाईतिर नै फर्कन्छु । यहि पीडाले नै जीवनलाई गाँजेको छ । छरपस्ट कितावका पानाहरुसँग जोडिएको मेरो जीन्दगिको साईनो अचम्मको छ । त्यसैले त होला हिजो आज घर सम्झिएको सम्झियै छु ।
-सिटौला काठमाडौंको सेन्ट्रल डिपार्ट्मेन्ट अफ कम्प्युटर साइन्स एन्ड इन्फरमेशन टेक्नोलोजीबाट कम्प्युटर साईन्समा स्नातकोत्तर गर्दै छन्।




