चराले पकेट मार्छ होसियार !

गत जून ५ मा लियों शहरमा नेपाली साँझ आयोजना गरियो । नेपालको पर्यटन, संगित, संस्क्रिति र नेपालका चराबारे प्रवर्धन गर्ने मुख्य ध्येय थियो त्यो कार्यक्रमको । नेपाली साँझ असाध्यै राम्रो भयो भन्दै फ्रान्सेली साथीहरू हौसिए ।  अनि कता कता घुमाउन लैजाने क्रममा चरामा चासो राख्ने भएकोले होला, मलाई चरा पार्क देखाउने बिचार गरेछन् ।

त्यस्ता चरा पार्क मैले भारत, अष्ट्रेलिया, जर्मनी र फ्रान्सकैपनि अरू ठाउँमा घुमिसकेको थिएँ । फ्रान्सेली साथीहरूलाई त्यसको जानकारी थिएन । उनीहरूले मैले पहिलो चोटि देख्न लागेकोले विशेष ठान्दै व्याख्या गरे, यस्तो हुन्छ र उस्तो हुन्छ भनेर । मैलेपनि उनीहरूको उत्साहलाई कायम राख्न पहिलो चोटि देख्न लागेको भान पारेँ ।

त्यस्ता चरा पार्कमा घाइते भएर उपचार गरिएका, पखेँटा राम्ररी नचल्ने;  जंगलमा रमाउन, आहारा समातेर खान नसक्ने चरा राखिन्छन् । तिनलाई ती चराको स्वभाव अनुसार आहारा समात्ने, नाच्ने, उड्ने आदि विभिन्न खाले तालिम दिएर पन्छी संरक्षणको ज्ञान दिन खेल देखाउने गरिन्छ पश्चिमी देशहरूमा । बिरामी चराको उपचारमा खर्च गरिन्छ खेल देखाएर उठाएको पैसा ।

संगित बज्न थाल्यो । चरा उडेर आउन थाले दर्शक बसेको ठाउँमा । पालै पालो सयौं चरा आए भिन्न प्रजातिका । चरा पार्कबाट मानिसका टाउका टाउकामा उडेर आउँदा ती चरा बारे व्याख्या गर्थे । कुनै चरा मानिसका टाउकैमा ठोक्किँदै वारी परी गर्ने रहेछन् । कुनै चरा चाहिँ मान्छेका पाकेट मार्ने रहेछन् । ती उडेर मान्छेका नजिक आउने अनि झोला खोतल्ने,पकेटमै ठुँड लगेर खाने कुरा भए झिकेर खाने, ठुँडले टिपेर टाप दिने रहेछन् ।

खेल देखाउनेले भनि हाले- लौ है फलानो जातको चराले त पकेट मार्छ, होसियार रहनुहोला । आफ्ना सामान जोगाउनु होला । दर्शकपनि सबै बुझ्ने कहाँ हुन्छन् र ? कोही त साँच्चै पकेट मारेर भिसा कार्ड, मास्टर कार्ड र चेक नै लैजान्छ कि झैँ गरेर खल्ती कस्ने र झोला अँठ्याउने गर्दै थिए ।

                                 लाटो खानाले शरिरै लाटो

प्रवेश म पुग्नु भन्दा दुई दिन अघिनै लियों पुगेका थिए । किनभने उनको डकुमेन्ट्रि तिन ठाउँमा देखाउने मेसो मिलाइएको थियो । एक दिन नेपाली साँझ भन्दा अघि नै थियो । कहिल्यै नजानेका, नचिनेका फ्रान्सेली मित्रसित अंग्रेजी भाषाका आधारमा बस्नुपर्ने । हिँड्दानै उनले मलाई सोधेका थिए- सर तपाई आएपछि त हामी सँगसँगै बस्छौं नि होइन ? दुई दिन म के गरेर, के भनेर बस्ने होला उनीहरूसित ? झ्याउ मानेका थिए ।

फ्रान्सेलीहरु हामी नेपालीले झैं मसला हालेर च्वाइँ र झ्वाइँ पारेर पिरो र अमिलो ट्वाक्क लागेको खाँदैनन् । नुन नराखेको, तेल नहालेको लाटो खान्की खान्छन् । तेल र मसला हालेर नपकाएको तर पातला झिल्ली जस्ता परेका अग्रिम पकाएर प्लास्टिकमा प्याक गरेका  मासु खुवाएछन् । नेपाली साथी आएको छ भनेर स्तरिय खाना खोज्दै गए । उता प्रवेशलाई भने त्यो खाना खाँदा कष्ट परिसकेछ । म पुग्नासाथ भने- सर भातै चाख्न पा’को छैन । झ्याम्म लाएर भात खान पा’को भा पो त । लाटो खाना, के के के के हालेको, साग मात्रै मर्ने भइयो । लाटो खानाले शरिरै लाटो भो । यिनले त नुन नै खाँदा रैनछन्।

हि ईज मिसिङ द चिल्ली ?

फर्किने अघिल्लो दिन कहिल्यै नेपाल नदेखेका, प्रत्यक्ष नभोगेका पियर र जो दम्पत्तीकहाँ खाना खाने मेसो भयो । बेलुका प्रवेशकै डकुमेन्ट्री देखाउन जानु थियो । पियरको घरमा दिउँसोको खानाकालागि पुग्दा उनका छोरा छुट्टै टेबलमा बसेर खाना खाँदै रहेछन् । टेबलमा सलाद नै सलाद टन्न थियो । प्रवेशका आँखा त्यतैतिर कर्के । लागेछ क्यारे- आजपनि घाँसकै फेला परिने भो । साग, काँचो मूला यस्तै यस्तै उरुङ लगाएको ।

अब अर्को टेबलमा खाना खाने पालो हाम्रो आयो । हामी ७ जना थियौँ । खानाको शुरुमै सलाद खाने चलन नै हो फ्रान्सेलीको । ठूलो भाँडोभरि सलाद ल्याए । त्यो देख्नासाथ प्रवेशले भने- सर यीनले त घाँस बाहेक केही खाने रहेनछन् । लौ न घाँस मात्रै ख्वाएर मार्ने भए । असाध्यै हाँसो लाग्यो । सलाद बाँड्न लागेको त ‘सर धेरै नराख्नुस् है । अलिकति है । म त घाँस खाँदा खाँदा मर्ने भएँ’ रे ।

फ्रान्सेली साथीहरूले सोधे- किन त्यति थोरै ? प्रवेश अन्कनाए । जवाफ मैले नै दिनुपर्‍यो- हि ईज मिसिङ समथिङ । हि डजन्ट हेब द ह्याबिट टु टेक सलाद

साथीहरुले भने- ओ ओ हि ईज मिसिङ द चिल्ली ?

मैले भनें- हि ईज मिसिङ सम चिकन

उनीहरूले थाह नपाउने गरि भनें- कुखुरा पा’को भए त केटाले रगत आउन्जेल खाने, सागसब्जी के पच्थ्यो र है ? यो प्रसंग सधैं हाँसोको विषय बनिरह्यो ।

                                    चिकनको करामत

लियों शहर घुम्दा दिउँसो घाम मज्जाले लागेको थियो । सोन नदी किनारमा हिँड्दा हिँड्दै बियोण्ड द हिमालयज नामको माथिल्लो मुस्ताङको जनजीवनबारे समेटिएको डकुमेन्ट्री देखाउन फ्रान्स आएका पत्रकार साथी प्रवेश सुवेदीको नाकबाट एक्कासि रगत आयो । उनले सोधे- सर लौन बर्बाद भयो, पुछ्नलाइ कागज छैन ?

मेडम नीता कागज खोज्न गाडीमा दौडिइन् । कागज दिएपछि उनले भनिन्- भाइ, तेल, मसला बढि खानु हुन्न । कुखुराको मासुपनि खानु हुन्न । गर्मी शरीर हुनेले के के खानुहुन्न भनेर निकै बताइन् प्रवेशलाई । मैले भनेँ- मेडम उहाँले कुखुराको मासु त नाकै फुटोस् तरपनि छोड्नुहुन्न । कुखुराको मासु जसरीपनि टन्न चाहियो, खाइसकेपछि नाक फुटोस् कि जे सुकै होस् मतलब छैन । सबैलाई हँसायो ।

 प्रवेशले भने- हैन हैन मेडम, यो कहिलेकाहीँ मात्रै हुने हो । सधैँ हुन्न । अनि थपि हालियो- देख्नु भो त ? उ कहिलेकाहीँ हुन्छ रे, कुखुराको मासु भेट्टाउँदा नाकै फुट्नेगरि खाने । अनि त्यही बेला रगत आउँछ । 

चिकनको करामत त्यतिमै के सकिन्थ्यो र ? जुन ०५ मा नेपाली साँझ सकियो । अधिकांश कार्यक्रम सकिएपछि बाटो लाग्ने भए । हामी मुख्य आयोजक चाहिँ सामान मिलाएर हलको चाबी बुझाउँदा बिहानको तिन बज्यो । गएर सुतियो लखतरान परेर । रहेको खाना साथीहरूले बाँडी चुँडी लगे । खाना लगेर बाहिर राखेछन् । कति बेर फ्रिज बाहिर पर्‍यो कुन्नि ! गर्मीले सायद कुखुराको मासु र हामीले लगेको सब्जीको तरकारी केही बिग्रिसकेको रहेछ ।

भोलि पल्ट भात पकाइयो । त्यही कुखुराको मासु र तरकारी खाने सल्लाह भयो म, प्रवेश सुवेदी र हामी बसेको घर की मित्र पिरेत अनि उनको घरमा पढ्न बसेकी भियतनामी विद्यार्थी प्युले । खाँदा त मीठो भयो । थपी थपी खाइयो । ठुलै ताप्केको मासु झन्डै चैट पारियो ।

राती भने साँझ खाएका कुखुरा चटपटाउन थाले पेटमा । म त राती दुई बजे उठेर चर्पी धाउन थालेँ । आन्द्रै खस्ला जस्तो भयो । जति बस्यो उति बसि राखौं जस्तो । पेट गड्याङ गुडुङ पो गर्न थाल्यो । हुँदा हुँदा त भीषण बाढी आउला जस्तो । चट्याङ परे जस्तो । लौ बा बर्बादै भो । त्यो दिन चरा पार्क घुमाउने भनेका थिए साथीहरुले । पखाला लागेर जानै नसकिने हुन्छ कि दिनभरि जस्तो बनायो । घरमा अरूलाई ब्यूँझाउने हो कि चर्पी जाँदा भनेर बिरालो हिँडाइले गएँ । आधा घण्टा भन्दा बढि बस्दापनि बसौं बसौं लागिरहन्छ । कहिलेकाहीँ आन्द्रा सान्द्रा सबै नै पो निस्किन लागेको रैछ कि जस्तो महसुस पनि हुने । जतीन्जेल बस्यो उति बसि राखौं जस्तो बनायो । राती चर्पी जान बत्ती बाल्ने र ढोका खोल्ने गर्दा अरूलाई दखल पर्‍यो कि भनेर म पिर मान्दै थिएँ । बिहान आफूलाई कष्ट भएको कुरा सुनाइन कसैलाईपनि । लाग्यो, मलाई मात्रै यस्तो भा’को होला । तर होइन रहेछ ।

केही बेरमा अर्को कसैले त्यसैगरी ढोका घड्याङ्ग पार्‍यो । बिहानै ६ बजे उठेर घरबेटी साथीको कम्प्युटरमा बसेँ । आठ बजेतिर प्रवेशपनि उठे । उनलाई पनि हैरान पारेछ । उठ्नासाथ सोझै हानिए उनी चर्पीतिर । चर्पी त अरू कसैले ओगटिसकेको । उनी दुबै हातले पेट अँठ्याएर भन्न थाले- लौ न सर गाह्रो भो । उनी घरी घरी चर्पीतिर हानिन्थे अनि भन्थे- अब त निस्केपनि हुने नि कति बेर बसेको होला ।  दुबै हातले पेट थिचेका छन् । म त्यो देखेर हाँस्दै छु । उनी झन् आत्तिए- अन्तिमनै हुने भो, गाह्रै भो त सर । के गर्नु ? अब त खप्नै नसकिने भो । के छ उपाय ? मैले भनेँ- उपाय अब प्लास्टिकको झोला खोजेर ल्याउँ त ? प्लास्टिकको झोलामा आची गरेर फोहोरको कन्टेनरमा लगेर मिल्काउने ।

तै तै ढोका खुल्यो । उनी निकै बेर बास बसे । नौ बजेतिर बिहानको नास्ता गर्ने भनेर चिया सिया बनाउन लागियो । पिरेतपनि आइन् । सोधेँ- साबा पिरेत ? (सबै ठीक छ ?)

जवाफ दिईन- कहाँ सबै ठीक हुनु ? बर्बाद छ ?

किन ? के भयो र ?

दिसा लागिरह्यो । पेट दुख्यो । उनले जवाफ दिईन् । ए समस्या त सबैलाई परेको रहेछ भनेर हाँसियो । थाह भो, खानामै गडबड रहेछ । अनि उनले यसले ठीक गर्छ भन्दै जरीबुटीको चिया बनाईन् । नभन्दै त्यो चिया खाएर निस्केको दिनभरि खासै केही भएन ।

तपाइँको प्रतिक्रिया