बाध्यता
-रमेश गौतम “पाल्पाली”
विभिन्न मकुन्डोधारी मान्छेहरू
धेरै अनुहारलाई बटुलेर
एउटै खप्पर भित्र हालेका हुन्छन्,
धेरै सामान बटुलेर
करेलाको अचार पारे जस्तो ।
मानौं तोरीमा कोदो पोखिएको छ
एउटै अनुहार एउटै जिउ भएर,
सबै स्वर मिलाएर गाएका हुन्छन्
जय ! जय !! जय !!!
°°°°°°°°°°°°°°°°°°°°°
कति अचम्मको संसार होला यो !
कस्तो विचित्र समाज रहेछ यो !
नहाँसे पनि दया लाग्ला जस्तो ।
°°°°°°°°°°°°°°°°°°°°°
आन्द्रा बटारिएर मुख सुखिसकेको हुन्छ,
डम्म डकारेर जय गान गाइन्छ यहाँ ।
यस समाजको चलन यस्तो रहेछ
‘भोको छु’ भन्नु अपराध हुन्छ यहाँ
देवी रिसाउँछिन् अरे !
अनि महाप्रलय हुन्छ रे !
यसैले त, धेरै खप्पर काटेर
एउटै अनुहार बनाइन्छ यहाँ
आँखा पल्टाएर पनि
जय गान गाइन्छ यहाँ
जय ! जय !! जय !!!





