किन ?
-रमेश गौतम “पाल्पाली”
धुम्बाराही, ४, काठमाडौं
मुखमा रामको नाम छुरा बोक्छन् सधै किन ?
देशको स्थिति सम्झेर चिरिन्न मुटु त्यो किन ?
°°°°°°°°°°°°°°°°°°°°°°°
दुखेको छ सधै देश दुख्दैन चित्त त्यो किन ?
गाउँको सम्झना गर्दै रुँदैन मन त्यो किन ?
°°°°°°°°°°°°°°°°°°°°°°°
हुक्क हुक्क गरी आमा रोएकी छन् सधै किन ?
पुछौँ आँसु भनी हामी नबढ्ने भन लौ किन ?
°°°°°°°°°°°°°°°°°°°°°°°
घाऊमा ओखती दल्ने जन्मेन किन हो किन ?
दिन्छौँ भन्ने कतै छैनन् जन्मे मात्र लिने किन ?
°°°°°°°°°°°°°°°°°°°°°°°
रुच्दैन दूधको घुट्को कसैका घरमा किन ?
पुग्दैन रोटीको टुक्रो कसैका मुखमा किन ?
°°°°°°°°°°°°°°°°°°°°°°°
ठुलालाई सधै पुग्ने सम्पूर्ण सुविधा किन ?
फालेको पनि पुग्दैन दुक्खीका घरमा किन ?





