आजको अन्तिम पार्थना
डा. मधु माधुर्य, मस्को
हे भगवान् ! तिमी कहाँ छौ ?
जसरी भए पनि एकचोटि नेपाल आऊ !
भत्केका तिम्रो डेरा, मूर्तिबिहिन मन्दिरहरु हेर !
देवता बिर्सनेहरुको लाममा मान्छेको क्रन्दन र छटपटी हेर !
पखेटाबिना नै राजा उडिसक्यो, राज्य चलाउँछु भन्नेहरुको तमासा हेर !
आफै–आफैबीच नग्न लुछाचुँडी ! ब्वाँसोको जस्तो चाल हेर !
देशका जुकाहरुलाई पदको परिभाषा र कुर्सीको स्वाद मात्र थाहा छ ।
चुनाव जितेकालाई ‘ ‘कुर्सी भन्दा देश ठुलो‘ भन्ने पाठ सिकाइदेऊ !
आपसी द्वन्द्वले राष्ट्रको अस्तित्व मेटिने खतरा बढ्दो छ ।
नेता भनाउँदाहरुलाई राष्ट्रको परिभाषा सिकाइदेऊ !
जे पायो त्यही बोल्छन्, मनपरी गर्छन् नेताहरु
नेपाली नेताहरुलाई ‘अन्न‘ खान सिकाइदेऊ !
मर्यादाक्रममा दोस्रा शीर्ष नेताले ‘नेपाली नै हुँ‘ भनी जिद्दी गरिरहेछ,
हो भने, उसलाई छिटै नेपाली भाषा पनि सिकाइदेऊ.. !
हे भगवान ! तिम्रो ‘अभाव‘ जताततै खट्किरहेछ यहाँ !
तिमी कहाँ छौ ? किन मौन छौ ?
नेपाली दूतावासले राहदानीमा ‘ ‘रेफ्युज” छाप हानेछ भने
तिमी शरणार्थी भएर पनि नेपाल आऊ !!
हे भगवान ! नेपाल बचाऊ !! नेपाली बचाऊ !!!
३१.०७.२००८