‘नेपालले ठूलो मौका गुमायो’

[के गर्नु एउटा बिदेशी डराएर ? एक प्रदेशीले जिब्रो टोकेर ? टाउको समाएर ? हाम्रा अधिकांश नेता र पार्टीले त्यहि खोजिरहेका छन् । घाँटी र टाउका गन्ति गरेर पैसो थाप्नु छ धेरैलाई । दुखि नेपालीका रगतको आहलमा पौडी खेलेर सम्पत्ती कमाउनु छ धेरै नेतालाई । अझ धेरै वालवालिकालाई टुहुरो बनाएर, अझ धेरै महिलाका सिउँदो मेटेर, अझ धेरै बस्तिहरुमा आगो झोसेर, जिउँदै जलाएर तिनका बलिन्द्रधारा आँशुसित आफ्नो खुशि साट्नु छ हाम्रा नेताहरुलाई । नेपालीको रगतको धाराबाट पैसाको बोरा झिकेर तिनलाई काँधमा हाल्नु छ । त्यसैले ति संबिधान बनाउन चाहँदैनन् । शान्ति संझौता टुंगोमा पुगोस भन्ने सोच्दैनन् ।]

झण्डै एकवर्ष भन्दापनि लामो समयदेखि भेट भएका थिएनन् रिपोर्टस विद आउट बोर्डर्सका प्रशान्त क्षेत्रीय प्रमुख साथी भिन्सेन्ट ब्रोसेल । भेट्ने भेट्ने भन्यो अनि उनी ब्यस्त । म पनि उस्तै । आज नेपालप्लसका लागि केहि मसला हुन्छ । अनि केहि विषयमा छलफल पनि गर्नुथियो । उनीपनि नेपालका पछिल्ला विषय अलि गहिरिएर जान्न निकै उत्सुक रहेछन् । उनले विश्व भरिकै धेरै मेडियाकर्मीसित भेटघाट गर्छन् । यूरोपेली कूटनितिज्ञहरुसित उनको लामै उठबस र छलफल हुन्छ । उनको धारणा सुन्दा यूरोपेली कूटनितिज्ञले नेपाललाई कसरि हेर्छन् बुझ्न पाइने । मेडियाकर्मीहरु के कसरि नियालीरहेका छन् नेपाललाई भन्ने मेसो पाइने ।

अनि एक्कासि हिजो मध्यान्हको खाना सँगै खानेगरि भेट गरौं भन्ने सहमती बन्यो । म गएँ उनैको कार्यालयमा । म पुग्दापनि एक जना जापानी पत्रकारसित वातचितमा ब्यस्त थिए उनी । कनी कनी आङ्ल भाषा बोलीरहेका जापानी उत्तर कोरियाली पत्रकारहरुको अवस्था कठिन छ भन्ने हिसाबले सुनाइरहेका थिए । अनलाईन मेडियाहरुमा अझ कडाइ भैरहेको कहिरहेका थिए ।

खाना खान बस्नासाथै नेपालको प्रसंग निस्किहाल्यो । उनले सोध्न सम्म सोधे प्रश्न । माओवादीले अहिले गर्न खोजेको के ? माओवादीका कस्ता कुरा राम्रा के नराम्रा ? शान्ति संझौता के होला ? माओवादी, कांग्रेस र एमाले मध्ये कुन दल ईमान्दार ? कुन पार्टीका मुद्दा के र ति कस्ता ? कुन पार्टीले जित्ला अब चुनाव भयो भने ? अहिले कुन दैनिक र साप्ताहिक सबै भन्दा लोकप्रिय ? तिमी आफु चाहिँ कुन कुन पत्रिका पढ्छौ नी !

कुन कुन पत्रीका हुन् एमाले निकट ? अनि कुन कुन चाहिँ कांग्रेसका ? माओवादी मेडिया अहिले बढि पेशागत बनेका छन् कि उहि जनयुद्द कालमा झैं प्रोपोगान्डा फैलाउन हो ?तराईवासीका नाममा भएको भनिएको आन्दोलन कस्तो हो ? के वास्तबिक हो ? चिन र भारतबिच नेपालका लागि तनाब छ कि छैन ? अहिलेको नेपाल पत्रकार महासंघको नेत्रित्व कस्तो ? मेडियामा काम गर्ने कुन संस्था कस्ता, कुनएन जिओ कस्तो ? उफ् ! कति कति प्रश्न त ! उनले भारीनै बर्षाए । कुन कुन पत्रीका स्तरिय ? रेपुब्लिका र नागरिक दैनिक कस्ता छन् ?

मैले जवाफ दिँदै गएँ आफुले जाने, बुझे र देखे जति । बेला बेला उनी असाध्यै नरमाईलो मान्थे । भारत र नेपालका बिचमा धेरै सांस्क्रितिक समानता भएपनि नेपाली र भारतीयबिच धेरै भिन्नता रहेको बताए उनले । नेपालीहरु धेरै नै राष्ट्रवादी सोचका पाएका रहेछन् । ‘आफ्नो देशकालागि धेरै सोच्छन् नेपालीले । नेपालीमा जस्तो देशका लागि सोच्ने मानसिकता श्रीलंकाली, भारतीय र बंगलादेशीहरुमा छैन’ उनी मलाई सुनाउँदै थिए । ‘भारत भनेपछि त टाउको तात्छ है नेपालीको ? फ्रान्सेलीलाई जर्मन नागरिक र अमेरिकी जस्तै हो है नेपालीलाई भारतीय भनेपछि ?’ सोध्थे उनी । मैले त्यसो हुनुको केहि कारण सुनाएँ ।

दलहरु कस्ता त भन्ने प्रश्नको जवाफ दिन मलाई सहज भएन । कांग्रेस जनता र राष्ट्रका मूलभूत समस्या हल हुनेगरि अगाडि बढ्ने मनशायमा नरहेको । उसलाई २०४७ सालकै संबिधान ब्युँताउन पाएपनि भएको । देश र जनताको आकांक्षा अनुरुप देशको संरचना गर्न नचाहेको ।  एमाले कता ढल्किँदा ठिक हुने हो पत्तो नपाएको र ढुल्मुलमा दिशा बिहिन अवस्थामा रहेको । माओवादी सरकार, सदन, सडक र जनसेना सबै राखेर आफुले चाहे जस्तो संबिधान बनाउने मनशायमा रहेको । जनता र देश प्रति खासै कोहिपनि ईमान्दार नदेखिएको बताएँ ।

पत्रकार र तिनको हक हित सुरक्षा गर्ने मूल उद्देश्य बोकेको संस्थाका उच्च पदमा उनी । त्यस संबन्धि कुरा त हुनेनै भए । तराईमा भएका हिंसा र पत्रकारमाथिको धम्की र सुरक्षाका बारेमा उनी निकै चिन्तित रहेछन् । राजनितिक दलहरुले अपराधी र गुण्डा, पाखुरा सुर्खाउने र डनहरुलाई चुनाबमा बुथ क्याप्चर गर्न, बिरोधीलाई तह लगाउन संरक्षण दिने गरेसम्म यो समस्या अझ बढ्ने आफ्नो राय बताउँदा उनी डराए । यस विषयमा उनी त्यत्ति जानकार रहेनछन् ।

गत तेस्रो जन आन्दोलनपछि अब नेपाल साँच्चै राजनितिक र आर्थिक रुपमा अगाडि बढ्छ भन्ने लागेको रहेछ उनलाई । उनी नेपालीको निक्कै प्रशंसा गर्दै थिए ।  नेपाली जनता साँच्चै परिवर्तनकालागि तयार रहेको । नेपालीहरु ईमान्दार रहेको । नेताहरुले आव्हान गर्दा साथ र सहयोग दिएको उनले दोहोर्‍याए । दशक भन्दा लामो हत्या हिंसा अन्त्य भएको, जनता टाठा भएको, मेडिया अझ शक्तिशाली भएको र राजतन्त्र समाप्त भएको नेपाल । अब आर्थिक रुपमा अगाडि बढ्न आवश्यक सबै मुख्य परिस्थिति बनेको उनको मूल्यांकन रहेछ । जुन मेरो हेराईमापनि सत्यनै हो । उनी एकदमै आशावादी रहेछन् अब नेपालले राम्रो संबिधान बनाउँछ । गणतान्त्रिक संबिधान । जनताका मूलभूत समस्या हल हुन्छन् । राजनितिक पार्टीहरुले अब मिलेर देशलाई आर्थिक विकासमा अगाडि बढाउँछन् । अबको नेपाल सम्पन्न बन्छ भन्ने उनको विश्वास रहेछ । ‘यस्तो सुनौलो अवसर गुमाउने भयो, नेपालले । कस्तो बर्बाद’ भन्दै थिए उनी ।

नेपाल प्रतिको उनको हुटहुटी, चिन्ता, चासो र भय बुझिन्थ्यो । उनी समग्रमै एशिया प्रशान्त क्षेत्रिय प्रमुख हुन् । चानचुने पद होइन त्यो । जिम्मेवारि उनका निकैछन् । आफ्नो क्षेत्रकालागि समान हो उनको भूमिका । आफुले जिम्मेवारी लिएका सबै देशको चासो उत्तिकै हो पेशागत ढंगले । तर स्पष्ठै देखिन्थ्यो-उनी नेपालप्रति बढि नै चासो राख्छन् । चिन्तित छन् । सद्भाव उत्तिकै छ । साँच्चै बढिनै माया गर्छन् हामी नेपालीलाई । उनको चिन्ता देख्दा बरु लाग्थ्यो- हाम्रा अधिकांश नेतामा यि बिदेशीलाई जत्तिपनि हामी नेपाली र हाम्रो देशको माया छैन । हाम्रा नेता हामी दुखि नेपालीको भाग्य र भविष्यबारे बिदेशीले जत्तिपनि चिन्ता गर्दैनन् ।

अबका राजनितिक संभावना मध्ये मैले एउटा बलियो संभावना फेरी युद्द भड्किने सक्ने बताएँ । त्यसले निकै ठूलो बिनास, बिपत्ती र मानविय क्षती हुने उल्लेख गर्दा उनी निकै चिन्तित देखिए । तर के गर्नु एउटा बिदेशी डराएर ? एक प्रदेशीले जिब्रो टोकेर ? टाउको समाएर ? हाम्रा अधिकांश नेता र पार्टीले त्यहि खोजिरहेका छन् । घाँटी र टाउका गन्ति गरेर पैसो थाप्नु छ धेरैलाई । दुखि नेपालीका रगतको आहलमा पौडी खेलेर सम्पत्ती कमाउनु छ धेरै नेतालाई । अझ धेरै वालवालिकालाई टुहुरो बनाएर, अझ धेरै महिलाका सिउँदो मेटेर, अझ धेरै बस्तिहरुमा आगो झोसेर, जिउँदै जलाएर तिनका बलिन्द्रधारा आँशुसित आफ्नो खुशि साट्नु छ हाम्रा नेताहरुलाई । नेपालीको रगतको धाराबाट पैसाको बोरा झिकेर तिनलाई काँधमा हाल्नु छ । त्यसैले ति संबिधान बनाउन चाहँदैनन् । शान्ति संझौता टुंगोमा पुगोस भन्ने सोच्दैनन् ।

अनि कुराकानी भए फ्रान्सेली मेडियाका । फ्रान्सेली केहि ब्लगहरु निकै लोकप्रिय र शक्तिशाली रहेको बताए उनले । फ्रान्सेली ब्लग, रेडियो र पत्रपत्रीकासित राम्रो संबन्ध बनाउनु जरुरी रहेको सुझाव दिए । तत्कालै उनले केहि पत्रकारसित संबन्ध बढाइदिने काम पनि गरे ईमेल सम्पर्क मार्फत । छुट्टिनु अघिपनि उनले अलि छोटो छोटो समयमा भेटघाट गर्ने मनशाय राखे । ‘नेपालमा के के हुन्छ अलि जानकारि गराइराख्नु नी !’ हिँड्ने बेलमापनि सम्झाए उनले ।

तपाइँको प्रतिक्रिया