दोहोरी गितमा कम्मर मर्काउँदै ममको तालमा नयाँ बर्षको रौनक
-साङ्गे शेर्पा / बेस्कँसों, फ्रान्स
गत हप्ता (२७ र २८ मार्च) नयाँ बर्ष २०६७ को अबसर पारेर पुर्बी फ्रान्सको बेस्कँसों (Besançon) शहर र त्यसको आसपासमा बसोबास गर्दै आइरहेका नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरु बीच भेटघाटको आयोजना गरियो ! यसै त यहाँ नेपालीहरुको त्यती बाक्लो जमात छैन । ती मध्येपनि कति नेपालीहरु त कामको ब्यस्तताले कार्यक्रममा आउन सकेनन् । त्यसैले कार्यक्रममा नेपालीहरु भन्दापनि बढि नेपाल प्रेमी फ्रान्सेलीहरु थिए ।
थोरै नेपाली भए पनि धेरै फ्रान्सेलीहरुसँग नयाँ बर्षको शुभकामना आदान प्रदान भने भब्य नै भयो !
शनिबार मध्यान्हको चियापानसँगै सुरु भएको कार्यक्रम आईतवार मध्यान्ह मात्रै सकिएको थियो । बेलुकीको खाना दाल-भातसँगै पापड र चट्ट पिरो अचार । त्यो संझिँदा अहीले पनि जिब्रो रसाएर आउँछ । लाग्थ्यो – नेपालमै कतै भोजमा रमाइरहेको छु !
फ्रान्समा छ्याङ् नभएकोले छ्याङ्को ठाउँमा वाइनको घुट्को मारियो । यस्सो नाचगान नगरि त्यो वाईन र पिरो अचार अनि नेपाली खानाको स्वाद कसरि तह लगाउने ? खाना पछि दोहोरी र रेसम फिरिरी……. को तालमा कम्मर मर्काउन थालेको त रात कटेको पत्तै पाइएन !! फ्रान्सेली महिलापनि के कम ? सारी लगाएर देखाइदिए नेपाली न्रित्य गज्जबले । साना नानीहरुपनि नेपाली न्रित्यमा नाच्दै थिए, सिक्दै थिए । बिहानको ३ बजे पछि मात्रै सुतियो ।
बिहान घुमघामको योजना थियो । तर मौसमले साथ नदिएकोले कही घुम्नै पाइएन । यसै घुम्न पाइएन उसै घुम्न पाइएन त्यसै के गर्ने ? रमाईलो त गर्नै पर्यो । म. म. बनाउनतिर लागियो । म. म. बनाउन त हामी नेपालीहरु भन्दा पनि फ्रन्सेलीहरु खप्पिस ! खै कहीले सिकेका हुन कुन्नी ? जे होस् स्वाद भने काठमाडौंको म. म. बिर्साउने खालको थियो ।
नेपालीहरुको कला र संस्क्रितीलाई बिदेशीहरुको माझमा बाँड्न पाउँदा गर्बले छाती फुल्नु त स्वाभाभिकै हो ! नमरी बाँचे, दैबले साँचे अर्को साल पनि अझ उमङ्गकासाथ भेट्ने बाचा सहित अहीलेनै २०६६ साललाई बिदाइ गरियो ।
विश्वभरि छरिएर रहेका सम्पुर्ण नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरुलाई म, मेरो परिवार र हामी बेस्कँसो मा बस्ने सबै नेपाली तथा नेपालप्रेमी फ्रान्सेलीको तर्फबाट नव बर्ष २०६७ को शुभकामना !
![PICT2960[1]](http://www.nepalplus.com/wp-content/PICT29601.jpg)
![PICT2938[1]](http://www.nepalplus.com/wp-content/PICT29381.jpg)
![PICT2937[1]](http://www.nepalplus.com/wp-content/PICT29371.jpg)
![PICT2918[1]](http://www.nepalplus.com/wp-content/PICT29181.jpg)
![PICT2932[1]](http://www.nepalplus.com/wp-content/PICT29321.jpg)
![PICT2971[1]](http://www.nepalplus.com/wp-content/PICT29711.jpg)
![PICT2993[1]](http://www.nepalplus.com/wp-content/PICT29931.jpg)
![ss[1]](http://www.nepalplus.com/wp-content/ss1.jpg)
![PICT3004[1]](http://www.nepalplus.com/wp-content/PICT30041.jpg)
![PICT2872[1]](http://www.nepalplus.com/wp-content/PICT28721.jpg)




