ज्ञानेन्द्र फेरी राजा बन्ने संकेत
फ्रान्समा पाँच पटक लाग्यो गणतन्त्र संस्थागत हुन । चार पटकसम्मको गणतन्त्र अतिवादको झम्टाईमा परेर खोसियो । नेपालमा पनि राजसंस्थाले करबल नगरि ‘हस त नमस्कार’ भनेर जसरि गद्दी छोडेको थियो । त्यो सामान्य थिएन । संसार चकित परेको थियो । परिरहेको छ । आफ्ना बाबु बाजेले उनेर बनाएको एक राज्य, पूर्खाको पौरख छोड्ने कुरोपनि भएन सजिलै । खाईपाई आएको कसले छोड्छ ? ज्ञानेन्द्र र पारसमात्रै किन अपवाद हुन्थे ?
राजसंस्था बिदा हुँदैखेरी बिवाद थियो । कोहि फेरी फर्किन्छ भन्थे । कोहि त्यो सुन्नासाथ अब राजसंस्था फर्किने कुरो त बेकारको कुरो हो, कल्पना मात्रै हो भन्थे । अबको युगमापनि कहि राजसंस्था फर्किन संभव छ ? भन्थे । तर घटनाक्रमहरुले नेपालमा फेरी राजसंस्था फर्किन सक्ने संकेत गरेका छन् । पूर्व राजा ज्ञानेन्द्रले नेपाली टिभीलाई एक अन्तर्वार्ता दिएरै राजासंस्था फर्किन सक्ने बताएर गणतन्त्र, दल र हाम्रा नेतालाई चुनौती दिए ।
जनकपुरको राम जानकी मन्दिरमा दर्शनकालागि पुगेका ज्ञानेन्द्रले एभिन्युज टिभीलाई अन्तर्वार्ता दिँदै नेपालमा फेरी राजसंस्था फर्किन सक्ने बताएकाछन् । नेपालबाट राजसंस्था बिदा भएपछि उनले पहिलो पटक संचारमाध्यममा बोल्दै आफु फेरी राजा हुनसक्ने संकेत गरे । आफ्नो टीभी अन्तर्वार्तामा ज्ञानेन्द्रले नेपालबाट राजतन्त्र समाप्त नभएको ठोकुवा गरेका छन् । उनले हाकै भने-राजतन्त्र समाप्त भयो भन्ने तपाईको प्रश्न हाइपोथेटिकल (काल्पनिक) भयो कि ! देशको ईतिहासको पाना पल्टाएर हेर्ने हो भने यो माथि जाने, तल आउने, भित्रिने बाहिरिने भैराख्छ जस्तो लाग्छ’ । उनले राजसंस्था जसरि फालियो त्यो समेत अमान्य हुन सक्ने संकेत पनि गरे । जनताले जे निर्णय गर्छन् त्यहि मान्य हुन्छ भन्दै जसरि राजसंस्था फालियो त्यो आफुलाई अमान्य भएको समेत छनक दिए ।
चारैतिर संबैधानिक संकट उत्पन्न हुन सक्ने भय ब्यक्त भैरहेको छ । संबिधान जेठ १४ मा बन्दैन भन्ने करिब करिब पक्का जस्तो छ । राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका अतिवादी पार्टीहरुले राजसंस्था राख्ने कि नराख्ने भन्ने निर्णय देशमा जनमत संग्रह हुनु पर्ने माग गरिरहेका छन् । राष्ट्रपती सक्रिय भएर सैनिक बलमा एक तन्त्रिय शासन लागू हुन सक्ने तर्क बितर्कहरु चलिरहेका बेला ज्ञानेन्द्रको यो भनाई सार्वजनिक हुनु संयोग मात्रै नभएर योजनाबद्द हुन सक्छ ।




