सोलुखुम्बुका वालवालिका पढाउन फ्रान्समा नेपाल साँझ
पेरिस बाट करिब ५५ किली टाढा को मोतातेयर भन्ने सानो शहरमा थियो नेपाली साँझ । साँझको आयोजना गरेको थियो-सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा स्कूल, सौर्य उर्जा, धारो आदि बनाएर त्यहाँका स्थानिय बासीको दुखमा साथ दिँदै आएको नेपाल ए भु भन्ने संस्थाले । नेपाल ए भु का अध्यक्ष जँ पियर मेर्सिएले मलाई पटक पटक मेल र फोनबाट सम्झाएका थिए । निम्ता करिब ५ महिनाजति पहिलेदेखिबाट पठाएपनि बिहानै सहयोग गर्न पुग्नेमा म एक्लो नेपाली थिएँ । अघिल्ला वर्षहरुमा काजी शेर्पाले सहयोग गर्दै आएकोमा यो वर्ष उनी जान भ्याएनछन् । धन्न बेलुका कार्यक्रम शुरु हुने बेलमा एभरेष्ट एसोसियनकि अध्यक्ष आफ्नी छोरी सुजाता र छोरो निलकण्ठलाई लिएर आइपुगे दाई निर्मल केसी । नत्र म एक्लो नेपाली हुने । अरु कोहि नेपाली गएनछन् ।
म सहयोग गर्न बिहानै देखि आउँछु भनेपछि त्यहि संस्थाका उनैका साथी फिलिप लिन आए । बिहानै देखि गएर हल मिलाउने, खाना, पोष्टर, उपहारका सामान आदि ईत्यादि मिलाउने काम गरियो । कार्यक्रम ७ बजेबाट शुरु भयो । ओहो हो हो यि फ्रान्सेलीले कति मेहनत गर्ने !! झल्लर सल्लर टाँगेर, हल सिँगारेर पुरै स्वयम्भुनाथ जस्तो बनाएका । स्लाईड देखाएका थिए जसमा सय भन्दा बढि त नेपालका आँखै अडिएको अडियै गर्ने खालका सुन्दर तस्बिर । पुरा नेपाली संगित ।
दाल, भात, तरकारी, अचार अनि खाना पछि दिईने डेसर्ट (मुख मिठ्याउने भने कसो होला ?) तयार पार्दै महिलाहरु । यसमा कहिल्यै नेपाल नगएका पनि थिए । यि नानी र यिनकी बहिनीले समेत सहयोग गरे दिनभरी सानोतिनो काम गरेर। उनीकी आमा समेत अहिले सम्म नेपाल नगएकि रे । तर नेपाली कार्यक्रममा सहयोग गर्न आउने । अनि सोलुखुम्बुका वालवालिकालाई पढाउन वार्षिक केहि रकम दिँदै आएकी ।
दाल, भात, तरकारी र मासु पकाइसकेपछिका ठुला डेक्चीको पाइलोटीङ गर्दै थिए यि तेरी मेर्सिए । नेपाल ए भु भन्ने त्यो आयोजक संस्थाका अध्यक्ष यिनैका बाबु हुन् । यि पनि नेपालका असाध्यै प्रेमी ।

त्यहि डेसर्ट बनाउँदै महिला । देब्रेतिरकी यि महिला अहिलेसम्म नेपाल नगएकि । तर नेपाल ए भु (नेपाल र तपाई भन्ने अर्थ लाग्छ) ले यस्तो कार्यक्रम गरेर, नेपाली खाना खुवाएर बचेको पैसाले नेपालका बिकट ठाउँका वालवालिक पठाउँछ रे, विकास निर्माणका काम गर्छ रे भन्ने सुनेपछि नेपाललाई सहयोग गर्दै आएकि ।
यि दुई जनालाई भने ढोकैमा नेपाली ढाकाका चौबन्दी लगाएर प्रति ब्यक्ति १६ यूरो उठाउन राखिएको थियो । पस्नासाथ नेपाली पहिरनमा आफ्नै देशका महिला देख्दा निकै रमाएका थिए आगन्तुकहरु ।
नेपाल झल्काउने केहि तस्बिर यसरि राखिएका थिए ।
नेपालका तस्बिर हेर्नेहरुको त्यसैले निकै चासो थियो ।
सानी नानीको नेपाल चासो । पशुपतीनाथको पोष्टर हेरेर दंग पर्दै ।
नेपालका गहना, भित्ते पात्रो, दैनिकी लेख्ने नेपाली कागजका प्याड, धुप लगायतका सामाग्रिमा पनि निक्कै आकर्षण थियो आगन्तुकको ।

नेपालमा डोको किन बोकिन्छ, कसरि बोकिन्छ भनेर चासो राख्नेपनि थिए । अनि नेपाल ए भुका जँ पियर भने सिकाउँदै थिए ।
त्यसैले हलभरि सहभागिहरुपनि टन्नै थिए ।
कार्यक्रममा नेपाली न्रित्य देखाउनु पर्यो भनेर आग्रह गरेका रहेछन् उनले पेरिस बस्ने नेपाली कलाकरहरुलाई । सम्पर्क कसरि राखे कुन्नी अस्विकार गरेछन् । अनि उनले मोरिससका कलाकारलाई बोलाएछन् । उनीहरुले भने सहजै स्विकार गरेर निशुल्क नेखाइदिएछन् न्रित्यहरु ।

झुक्किनुहोला नी ! म त होइन है शेर्पीनी !! न्रित्य जम्न थालेपछि नाचेर रमाईलो गर्नेपनि थिए । एक जना यि फ्रान्सेली दिदी चाहिँ शेर्पा पहिरनमा ठाँटिँदै नाचेकि थिईन ।
कार्यक्रम राम्रो भयो । आगन्तुकहरु असाध्यै रमाएअनि त्यो देखेर नाच जम्दा त अध्यक्षलेपनि खप्नै सकेनछन् क्यारे । अनि त टाई लगाएका उनी थाले नाच्न । सँगै उनैको एसोसिएसनका दुई जना साथीपनि अरुलाई हौस्याउँदै नाच्न लागे।
सोलुखुम्बुमा ‘नेपाल ए भु’ले बनाएको स्कूल भवन । उनीहरुले त्यहाँ यस्ता केहि स्कूल भवन बनाएका छन् । एउटा क्याम्पस बनाउँदै छन् । शिक्षककालागि आवास ग्रिहपनि निर्माण गरेका छन् । खानी पानीको धारो, सोलार प्रविधीमा बत्तीपनि बनाइदिएका छन् । अब ३८ हजार यूरो (करिब ४० लाख नेपाली रुपियाँ) मा त्यहाँ एउटा झलुंगे पूल बनाइदिँदै छन् । र उनीहरुले खर्च र आम्दानी सबै कार्यक्रम हुने दिन सबैले देख्ने गरि लेखेर राखिदिएका हुन्छन् कार्यक्रम हलमै ।

















