संकुचित आकाश
-भिम केसी “कमल” / पोर्चुगाल
संकुचित छ आफ्नै आकाश, केलाई क्षितिज हेर्नुपर्यो ?
सबले रुप चिनेपछि, किन भेष फेर्नुपर्यो ?
उत्कट चाह जिन्दगीको, अकिञ्चन ति जिजिविषा
पात्रै सल्क्यो डढेलोले, किन मिती केर्नुपर्यो ?
अर्थ खोज्दा नमेटिने, खण्डहर लालसाको
सतत् म्रित्यु बिभीषिका, किन घाँटी सेर्नुपर्यो ?
भित्र मनको दैलो बन्द, दन्तद्वार मात्र खुला
काँडायुक्त लहराले, किन रुख बेर्नुपर्यो ?
आफ्ना पराई, पराई आफ्ना, लुकामारी संबन्धको
आत्मा स्त्य जगत मिथ्या, ‘भिम’ले कसलाई टेर्नुपर्यो ?





