कहाँ होली नुमाफुंग ?

किरण सुब्बा / बेलायत

जब कञ्चनजंघा र फक्तालुंगको पबित्र शिरबाट  

आस्थाका  सुनौलो किरणहरु  पोखिन थाल्छन

म त खोज्छु उनको आकृति यतै कतै,

तीनजुरे र सन्दकपुरको प्राकृतिक छटाहरुमा

गाउँ-बेंसी र माइती घरको न्यानो स्पर्शहरुमा

 सायद विजयपुर र मोराहांगको उर्बर फाँटमाथि

गरिब किसानको सपना बोकी झुलेकी छिन्,

निस्फिक्री धानको बाला बनी नुमाफुंग  !

जब काटिन लागेको हिमालको शिर देख्छु

बाँडिन लागेको पुज्य भूमिको मर्म सुन्छु,

तराईका स्थिर पाउहरु दक्षिण खिचिएका पाउँछु 

खोज्छु उनलाई महाकाली र मेचीका अंगालोभित्र,

तर सतलज र टिस्टामा  बगेका  साइनो खोज्दै,

अमरसिं, बलभद्र र कांगसेरोका बीरता ब्युँताउन

काँगडा र पूर्णियाका हाम्रा ऐतिहासिक धरोहरमाथि

फुलेकी होली राष्ट्र भक्तिको प्रतिक बनी नुमाफुंग !!

जब रोजगारी, अवसर र उन्मुक्तिको खोजीमा

सुन्दर सपनाहरु बुनी युवा लाहुर लाग्छन्,

बिछोडले न्यास्रो बनेको गाउँ बस्ती र मांगहिमहरुमा

खोज्छु उनलाई च्याब्रुङ, मादल र सारंगीको धुनसँगै

हाँकपारे, सोरठी, चुटका र झ्याउरे भाकाहरुमा, 

देख्छु कि कतै आमाबुबा र चेलीको मुस्कानभित्र

सायद पारिवारिक मिलनको मिठो पल उन्दै,

पर्खेकी होली लालीगुराँस सजाई डाँडाभरि नुमाफुंग !!!

तपाइँको प्रतिक्रिया