नेपाली साहित्यकारले देखेको यूरोप

top-nepali-literals-in-paris-03213                  (देब्रेबाट क्रमश: डा बेञ्जु शर्मा, भूपाल राई र क्रिष्ण धरावासी)

गएको शनीवार डा बेञ्जु शर्मा, भूपाल राई र क्रिष्ण धरावासीसित बसेर छलफल गर्ने । अनुभव साट्ने । आफुलाई खट्केका केहि सिक्ने अवसर मिल्यो  । जर्मन गैह्र सरकारी संस्था जिटीजेडले यि साहित्यकारहरुलाई जर्मनीको बिभिन्न शहरमा साहित्यिक भेटघाटका लागि ल्याएको रहेछ । जर्मनी आएका बेला फ्रान्स घुमाउने मेसो मिलाएछन् नेपाली दुतावास वर्लिन (जर्मनी) का कर्मचारी चक्र सुवेदीले । अनि पेरिसको राजदूत निवासमा जमघटको मेसो मिलाए कार्यवाहक राजदूत जिवनप्रकाश श्रेष्ठ र उनकी पत्नी निता श्रेष्ठले ।

बेलुका नौ बजे भेटौं भन्दाभन्दै आइफल टावर चढेर साहित्यकारहरु फर्किँदै १० बज्यो । अनि गफगाफ शुरु गरियो। धेरै गफगाफ भए। एउटै ब्लगमा त्यो सबै समेट्न सकिँदैन नै । चाखलाग्दा कुरा समेट्दै जाउँला। कुराकानी परिचयबाट शुरु गरियो । बेन्जु दिदी कविता र निबन्धमा नाम कमाएकि मुलत । क्रिष्ण धरावासी त मैले जिवनमा भेटेर एकदम छफलफ गर्न चाहेका ब्यक्ति । उनका दर्जन भन्दा बढि पुस्तक प्रकाशित छन् । क्रिष्ण दाईको राधा उपन्यास पढ्दा यति मिठो लाग्यो कि महत्वपूर्ण लागेर सिसाकलमले चिनो लाउँदा लाउँदै किताब धर्कै धर्काले भरिएछ । राधा उपन्यासले नेपालको सबैभन्दा ठूलो मदन पुरस्कार जितेको छ । शरणार्थी भन्ने उनको पुस्तक स्नातक तेस्रो वर्षको पाठ्यक्रममा छ । बेन्जु दिदीका निबन्ध र कविता उस्तै चर्चित छन् । भूपाल राईका कविता उत्तिकै प्रचलित। त्यस्तो प्रचलित जनजिब्रोमा भिज्ने कविता नभए उनले कविता लेखेरै काठमाडौंमा कारि जिवन गुजार्न सक्दा हुन् ?

विकास र भौतिक संरचनाको चमत्कारिक थलो मानिने यूरोप कस्तो लाग्यो होला नेपाली साहित्यकारलाई ? हाम्रो चासो थियो त्यो । मुख खोले क्रिष्ण धरावासीले-यहाँ जमिन पुरै दुल्को नै दुल्को बनाएका रहेछन् । जमिन खोतलेर तिन चार तह मुनीसम्म रेल गुडाएका । कसरि यस्तो बिघ्न विकास संभव भए होला भनेर अचम्म लाग्ने रहेछ । विकास त अचम्मै छ यहाँ । यहाँको भौतिक संरचना देखेर अचम्म नपरुनपनि किन ? साहित्यकार भूपाल राईको त जेट चढेको यो नै पहिलो यात्रा रहेछ ।

हिटलरले ग्यास च्याम्बरमा हालेर मान्छे मारेको च्याम्बरपनि सुरक्षित रहेछन् । दोस्रो विश्वयुद्दका बेला बम र गोलीले पारेका दुल्कापनि जोगाएर राखेका रहेछन् । सायद नेपालका सम्पदा संरक्षण गर्न नसकेको देखेर पिरोलिँदै थिए उनीहरु ।

यहाँको विकास र भौतिक संरचनाले नेपाल संझिँदा टाउको ठ्वाङ ठ्वाङ खाइरहेको छ भनेर सुनाए क्रिष्ण दाईले । अनि के हामी भन्दा धेरै पहिले देखिनै यहाँ भौतिक संरचना र विकास शुरु भएकाले हो त ? अहँ, यहाँ पनि त पहिलो र दोस्रो विश्व यूद्दका बेला सारा भौतिक संरचना ध्वस्त भएको थियो । त्यसपछिको पूनर्निर्माणको समय भनेको ६०, ६५ वर्ष हो । हाम्रोपनि २००७ सालदेखिकै गनेपनि उहि ६० वर्ष लगभग भयो । उतिनै समयमा यूरोपले किन यति बिघ्न विकास गर्‍यो ? किन यस्तो धेरै भौतिक संरचनाको निर्माण भयो ? हामीले किन गर्न सकेनौं ? उनलाई यसरि आफ्नो देश र यूरोपको संरचनाबिचको भेद देख्दा मन अमिलिने रहेछ ।

नेपाल बसेर सोचेको, बुझेको र सुनेको यूरोप अहिले देखेकोसँग तुलना गर्दा पटक्कै मेल नखाने रहेछ भन्दै थिए सबै । यूरोपको संस्क्रिति, संस्कार, क्रान्तिले छोडेका रेखा र रेसा अनि त्यसबाट सिक्न सकिने, बुझ्न सकिने धेरै रहेछन् उनीहरुकालागि पनि ।

 साहित्यकार भूपाल राईका भनाईपनि घतलाग्दा थिए । दोस्रो विश्व युद्दमा यूरोप ध्वस्त भयो । यहाँका संरचना धुलिरम्भ पारिए। तर यूरोपेलीहरुले भैतिक संरचनाको विकास गरे। हाम्रो देशमा के भयो ? पटक पटक राजनितिक परिवर्तन त भए। भौतिक संरचना भने ध्वस्त भएनन् । भौतिक संरचनाको विकासले मानिसको चेतनाको पनि विकास गर्ने रहेछ । नेपालमा भौतिक संरचनाको विकास नभएकालेपनि हाम्रो चेतनाको विकास नभएको भन्ने बुझाई रहेछ भूपाल राईको ।

जिटीजेटले के गर्ने रहेछ ? यस्ता साहित्यकारलाई ल्याएर साहित्यिक भेटघाट गाउने रहेछ । खासगरि फरक खाले बिधाका साहित्यकारलाई ल्याएर फरक फरक बिधामा छलफल, बहस र ज्ञान अनि अनुभवको साटासाट । अनि ति फरक बिधाका सहित्यकारका रचनालाई जर्मनहरुले आफ्नो भाषामा अनुवाद गराएर नेपाली भाषा र साहित्यका फरक बिधा र हाम्रा साहित्यकारका साहित्यहरुको स्वाद आफ्नालाई चखाउने, देखाउने ।

यो कामबाट बेन्जु दिदी असाध्यै प्रभावित रहिछन् । उनी लगायत सबै साहित्यकार प्रभावित रहेको अर्को पक्ष के रहेछ भने जर्मनहरुले साहित्यकार र लेखकहरुलाई कुनै एउटा गाउँमा लगेर एक दुई महिना वा निश्चित समयका लागि राखिदिने । त्यो समयभरिका लागि बस्ने खाने सबै ब्यवस्था गरिदिने । परिवारिक खर्च समेत धान्ने गरि आर्थिक सहयोग गर्ने। अनि खुल्ला मन र स्वतन्त्र भएर पुस्तक लेख्न लगाउने । पुस्तक जुन विषयको लेख्दापनि भयो । यसरि जर्मनहरुले बिभिन्न क्षेत्र र ठाउँका बिभिन्न बिधाका पुस्तक बाहिर ल्याउने रहेछन् । क्रिष्ण दाई के भन्दै थिए भने हामी कहाँ त साहित्यकार लेखकले आफ्नो खाली समयमा, आफ्नै चाख र इच्क्षाले बचेखुचेको समय निकालेर जे जति गर्‍यो त्यसैमा सिमित छ । पेशागत रुपमा त्यसरि लेखक र साहित्यकारलाई स्वतन्त्रतापूर्वक लेख्न प्रोत्साहित गर्ने चलन र परिपाटी छैन, संस्था छैनन् ।

तैपनि यि साहित्यकार उत्साहित थिए । नेपालमा केहि नगरपालिका वा यस्तै संस्थाले कम्तिमा वर्षमा एक पटक केहि लेखक र साहित्यकारलाई त्यसरि कुनै गाउँमा राखेर लेख्न लगाउन प्रोत्साहित गर्न सक्छ । र यि तिनै जना साहित्यकार नेपालमा यो चलनलाई लागू गराउन कोसिस गर्छौं भनेर प्रतिबद्द थिए । त्यसो भयो भने नेपालका पनि त गाउँ गाउँको विविध क्षेत्रका बारेमा विविध विधामा जानकारी बाहिर आउँछन् । स्थानिय तहका लेखक र साहित्यकारलाई प्रोत्साहित गराउन सकिन्छ ।

पश्चिमी मूलुकमा नेपाली साहित्यिक रचना न पाइनु हाम्रा साहियकार कमजोर भएर हो ? पश्चिमी साहित्यकारको स्तरमा नपुगेरै होला त ? नेपाली सहित्यकारहरुपनि पश्चिमा साहित्यकार भन्दा कम छैनन् । नेपाली साहित्यकारका रचना र साहित्यपनि कमजोर छैनन् भन्ने अनुभवपनि सँगालेछन् हाम्रा तिनै जना साहित्यकारले । योपनि सकारात्मक पक्ष हो । र नेपाली साहित्यलाई पश्चिमा साहित्यमा प्रवेश गराउनुपर्छ। यूरोपेली पाठकसामु पुर्‍याउनुपर्छ । त्यसको लागि बिदेशमा रहेका नेपालीले हाम्रा साहित्यिक रचनालाई अनुवाद गरेर यूरोपेली पाठक सामु पुर्‍याउनुपर्छ भन्नेमा सबै सहमत देखिए ।

पश्न उठ्यो-यत्रा यत्रा विकास, भौतिक संरचना र विकासको चमत्कार देखेर यति बिघ्न अचम्मित भए साहित्यकार भने के नेपाली नेताले यो नदेखेका हुँदा हुन् ? यो चमत्कारिता देखेर केहि नसिकेका होलान् ? जाने र बुझे, देखे र सिके भने किन नेपालमा केहि नगरेका ? किन यहाँको सकारात्मक कुरालाई नेपालमा लागू नगरेका ? तर्क र तर्कना सबैका आआफ्नै थिए। कोहि सबै नेता उस्तै हुन्, पदका लागि मात्रै हुन् भन्थे । कोहि बहुमत नेता त्यस्ता भएपनि केहि असल नेता पनि छन्, अहिलेको अस्थिर राजनिति र संक्रमणकालिन अवस्थामा राष्ट्र रहेका बेला यस्तो अस्थिरता, बेमेल, उतार चढाव देखिन्छ नै, निराशावादी  नै चाहिँ हुनुहुन ।

हामीले त देखे भोगेका कुरा, अनुभव र अनुभूतीलाई निति र निर्माण बनाएर लागू गराउन सक्दैनौं । हाम्रो काम राजनितिक निर्णय गराउने तहमा छैन । हामीले त लागेका, देखेका कुरा कलमका माध्यमले देखाउने हो । औंल्याउने हो । सचेत गराउने हो । यसै भन्दै थिए क्रिष्ण धरावासी । (बाँकि अर्को ब्लगमा)

तपाइँको प्रतिक्रिया