मात्र कामना (JUST WISH)
-विद्या सापकोटा
पलपल गरेर वित्छन् समय
एउटा फराकिलो बाटो
साँघुरो अनुभुती बोकाएर ।।
म कुरिरहेको थें
त्यो दिन ….. त्यो स्वर्णिम पल
सायद त्यसैले,
गमलाभरी लागेका गुलाफी कोपलासँगै कल्पिन्थें
वजारभरी सजाइएका रगिंन उपहारसँगै मस्किन्थें
अनि पात्रो पल्टाउँदै औंला भाँच्थें
जव गाँउथ्यो इयाउँकिरी,
रमाउँथें जूनसँगै, त्यो दिन नजिकियो भनेर ।।
हो, म प्रतिक्षामा थें त्यो दिनको
पर्खाइमा थिएँ त्यो पलको
जहाँ म,
शुभकामनाका भारी वोकाइदिन चाहन्थें
उपहारको चाङ लगाइदिन चाहन्थें
संसारका सारा खुसी मागिदिन चाहन्थें……।
त्यसैले,
बाँडेको थें, मौनता मै………
भर्खरै पराग लागेका फलहरुसँग
भिरभरी रंगिएका लालिगुराँससँग
देउरालीमा चढाइएका पातीहरुसँग
अनि पँधेरामा जम्मा भएका रित्ता गाग्रिहरुसँग
आफ्ना व्यग्रता ……………।
आज मिर्मिरे मै
चरीहरु नाच्दै गाउँदै थे
आकाश छर्लङ्ग खुलेछ
कोपिला फुल भै हाँसेछ
झरना छमछमी नाचेछ
हिमालले मुस्कुराउँदै जिस्क्याउँदा पो थाहा पाएँ
आइसकेछ नी….त्यो दिन
यो हाँस्ने, नाच्ने र रमाउने दिन
शुभकामनाका धुनहरु गाउँने दिन ।।
तर…तर …..हेर न,
म पुरै रित्तो छु
उपहार त के,
खाली लाग्यो शव्दकोष
तिमी सुहाउँदो शब्दै पनि पाइन
माफ गर,
सारा कल्पेर पनि मैले केही ल्याइन ।
तिमी छौ नै त्यस्तै,
त्यती शालिन त उपहारै छैन
कायल पार्ने मुस्कान तिम्रो,
फिका लागे फूलहरु, अरु सोच्नै चाहिन ।।
ए सुन्यौ तिम्ले,
हयाप्पि बर्थ डे टु यु”
हयाप्पि बर्थ डे टु यु”।
वातावरणभरी गुञ्जिँदैछ, सुमधुर भ्वाइलिन
हाँसिराख तिमि सधैं
संघारमा उभिरा’छ तिम्रो जन्मदिन……….
Many-many HappY Returns of The Day!!
(My Best friend BJ प्रति समर्पित)
-हाल : शंकरदेव कलेज, काठमाडौं ।




