आन्दोलनकारी माओवादीभन्दा सरकार उग्र
आज माओवादीले फेरी अर्को चरणको कार्यक्रम अन्तर्गत ७५ वटै जिल्ला प्रशासन कार्यालय घेराउ गर्र्यो । सरकारले पहिलेनै आत्तिएर माओवादीले हिंसात्मक बनाउने डरले सेनासम्मलाई उच्चा सतर्कमा रहन निर्देशन दिएर झन स्थितिलाई चर्काउने काम गरेको थियो । तर अहिले सम्मका कार्यक्रम माओवादीले शान्तिपूर्ण रुपमा गरेर सरकारलाई नै उसले जवाफ दियो । आजपनि माओवादीले जिल्ला प्रशासन कार्यालय घेराउ गर्र्यो । तर छिटपुट घटना बाहेक ७५ वटै जिल्लामा शान्तिपूर्ण भएछन । बरु आन्दोलन गर्ने माओवादी भन्दा सरकार निकै गुणा उग्ररुपमा प्रस्तुत भएको छ । अहिलेसम्मको माओवादी आन्दोलन र सरकारको अवस्था हेर्दा आन्दोलनकारीहरु संयम र सरकार उग्र देखिएको छ ।
शुरुमै माओवादीले आफ्ना कार्यक्रम शान्तिपूर्ण हुने बताएका थिए । तर सरकार स्वयंले त्यसलाई उग्र हुँदै छ । हत्या हिँसा गर्दैछन् भनेर प्रचार प्रसार गर्र्यो । सरकारको त्यो आरोप मात्रै थियो भन्ने पहिलो दिन माओवादीले मशाल जुलुस शान्तिपूर्ण रुपमा गरेरै देखाए । फेरी अर्को दिन जिल्ला प्रशासन कार्यालय घेराउ भनेका थिए । तर सरकारले ‘माओवादीले आन्दोलन हिंसात्मक गर्दैछन भन्ने सूचना पाएका छौं’ भन्दै आरोप लगायो । सरकारका प्रवक्ता सूचना तथा संचार मंत्रीलेनै माओवादी आन्दोलनले सरकार र माओवादीबीचको बृहद शान्ती संझौतानै भंग भएको सनसनीपूर्ण संदेश दिएर स्थितिलाई तनावपूर्ण बनाउन खोजे । सरकार संचालनमा बसेका मुख्य पार्टी नेपाली कांग्रेस र एमालेले रातारात बैठक गरेर तराईका सशस्त्र आन्दोलनकारीलाई झैँ माओवादीलाईपनि दबाउने मनशायले सुरक्षा योजना सार्वजनिक गरे ।
हुँदा हुँदा त माओवादीको शान्तिपूर्ण आन्दोलनलाई लक्षित गरेर सरकारले मन्त्रीपरिषदको बैठकमै नेपाली सेनालाई समेत बोलाएर सुरक्षा निकायको बैठक डाक्यो । माओवादीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा गर्दैपनि हठात आत्तिएर र माओवादीलाई उत्तेजित पार्न नेपाली सेनालाई उच्च सतर्कमा रहन निर्देशन गर्र्यो । यसबीचमा सरकारका प्रवक्ता, गृहमंत्री, प्रधानमन्त्री र अन्य विभिन्न मन्त्रीहरुले आन्दोलनकारीलाई दबाउने मनशायकै अभिव्यक्ति दिइरहे ।
आज फेरी माओवादेकै जिल्ला प्रशासन कार्यालय घेराउलाई लक्षित गरेर सरकारले अनावश्यक रुपमा हजारौं सुरक्षा निकाय परिचालन गर्र्यो । ठाउँ ठाउँमै निषेधित क्षेत्र तोकिए । काठमाडौ जिल्ला प्रशासन माओवादीले कब्जानै गर्छन कि भन्ने भयले दुई ठाउँमा कडा सुरक्षा घेरा राखिए । काठमाडौ जिल्ला अदालत छिर्ने बाटोबाट अनामनगरतिरै जान रोक लगाएर स्थितिलाई झन अशान्तिपूर्ण सरकारलेनै बनायो । आन्दोलनकारीहरु गएर थुपुक्क सडकमा बसे । तर माईतीघरदेखी उता मिनभवन सम्मनै यातायात चल्न नदिएर यात्रुलाई सरकारलेनै दुख दियो ।
उता आन्दोलनकारी माओवादीहरुले भने देश भरिनै शान्तिपूर्ण रुपमा जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिएर सम्पन्न गरे । छिटपुट रुपमा बाहेक माओवादीको कार्यक्रम सबैतिर शान्तिपूर्ण भए । बरु माओवादीले ठाउँ ठाउँमा जनवादी गीत गाएर, नाच देखाएर रमाईलो गर्दै धर्ना दिएछन । कार्यक्रम शान्तिपूर्ण रुपमा हुँदा हुँदै पनि फेरी सरकारकै उपप्रधानमन्त्री बिजय गच्छदारले माओवादीको आन्दोलनमा सरकार चुप लागेर नबस्ने । सेना लगाएर ठिक पारिन्छ भन्दै झन आन्दोलनकारीलाई उत्तेजित पार्ने काम गरे आजै । बरु उत्तेजित हुनसक्ने आन्दोलनकारी पक्ष संयम हुँदा हुँदै र प्रजातान्त्रिक तरिकालेनै शान्तिपूर्ण रुपमा बिरोधका कार्यक्रम गर्न पाउने अधिकार प्रयोग गर्दा गर्दैपनि सरकार स्वयं उग्र बन्दै गैरहेको छ । यसले गर्दा आन्दोलनकारीलाई भड्काएर झन हत्या र हिँसा सरकारलेनै चाहेको संकेत गरिरहेको छ । (फोटो-कृष्णसेन अनलाईन) ।




