मन, रहर र बाध्यताहरु

लक्ष्मी सापकोटा/बेलायत

 ती मनहरु, रहर अनी बाध्यताहरु

 कसरी समायोजित हुनसक्छन ?

 कसरी एक अर्कामा समाहित हुन सक्छन् ?

 जसरी मुनामदन, सत्यवानसाबित्री अनि रोमियोजुलियट भएथे |  

मनका उँचाईहरु चुलिँदै जाँदा

 रहरका वेगहरु खहरे झैं उर्लिंदा         

 बाध्यताका पर्खालले छेकेर छताछुल्ल पारेपछि

कसरी एकै लहरमा अट्छन् र टक्क मिलेका अनारदाने दन्तलहर झैं 

 ती मन, रहर अनी बाध्यताहरु ?

 रहरमा लामो खडेरीले धाँजा फाटेपछि

 मनमा टुसाएका आँकुराहरु मुर्झाएछन् 

 तिनमा बाध्यताको तुशारापात हुँदा

 कसरि मौलाउँछन् बर्षायामको दूबो मौलाए झैं

 ती मन, रहर अनी बाध्यताहरु ?    

 बाध्यताका बन्धनहरु कसिंदै जाँदा

 रमाएका मनहरुमा बिस्तारै निराशा भरिएपछि

 कसरी प्रस्फुटित हुनसक्छन् रहरहरु

कुनै ब्यक्तित्ववानका प्रतिभा प्रस्फुटित भए झैं 

 ती मन, रहर अनी बाध्यताहरु ?       

 त्यसैले

 जहाँ, जसरी र जहिल्यै चुलिएपनी, बाँधिएपनि, मुर्झाएपनी

 तिनलाई हामी आँफैले मुनामदन, सत्यवानसाबित्री अनि रोमियोजुलियट बनाउनु छ

 एक अर्कामा समर्पित भएर बाँच्नु छ

 अनि हाँस्नु छ

तपाइँको प्रतिक्रिया