नबोलाइएको पाहुना
–विद्या सापकोटा
आकाशमा टहटह जुन लागिरहेको छ । सडक लमतन्न तन्किएको छ । टाढावाट कहिलेकाहिँ गाडि गुडेका टि-टि आवाज र हर्न बजेको सुनिन्छ । माथिपट्टि वनमा झ्याउँकिरीको किर-किर सुनिन थालेको छ । उ एक्लै परेको छ आज । उसको पार्टनर मुरलिधर आफन्तकोमा गएको छ । खाना साथिहरुसँग मेसमै खाएर आएकोले उसले काम पनि पाइरहेको छैन । त्यसैले मनभरि सम्झनाका, सपनाका, विगतका एक हुल कुराहरुको ज्वारभाटा उठिरहेको छ । उ सुत्न प्रयास गर्छ निन्द्रा पर्दैन । बोल्ने साथी छैन । टि.भि. त्यहाँ हेर्न पाइँदैन। ४-५ वर्ष अगाडि नै द्धन्द्धको वेला पड्किएको प्राधिकरणको ट्रान्समिटर अझै बनेको छैन । छटपटि-छटपटीमै उसले आफूलाइ विगतमा पुर्याउँछ ।
नजिकै एउटा पिपलको रुख । रुख वरिपरि पाल टाँगेर वसेका २-४ मान्छेहरु । छेउमा सुसाइरहेको खोलो । खोलाको बगरवाट ओसारिएको ढुङ्गाहरु । त्यसलाई टुक्रा-टुक्रा पार्दै गइरहेका छन् एकजना वुढो मान्छे । टोपी च्यातिएर फुलेका कपालले वाहिर चियाइरहेको छ । घुँडा, कुइना र ढाडमा च्यातिएको मैलो कमिज-सुरुवाल भित्र अटाएको त्यो वुढासँगै उस्तै मुद्रामा टिक-टिक गिट्टी कुट्दै सघाइरहेकि छिन् एउटी वुढि आमा । उनीहरु ढुङ्गा कुट्ने मान्छे तर मन त्यो खोलाभन्दा पनि सङ्लो छ । वगिरहेको छ ।
वेलावखत सपनाहरु आँखामा धपक्क बलेको देखिन्छ जव उनिहरुको सानो छोरो हाँस्दैं आउँछ । ‘आमा मलाइ भोक लाग्यो’ आमा ममतापूर्वक छोरोको कपाल सुम्सुम्याउँछे । पटुकिमा बाँधिराखेको मकै र गुन्द्रुकको अचार बटुकोमा खन्याइदिन्छे । ‘बाबु, हामि धुलेमैदानमा, खोलाको वगरमा कुटिएर पनि, थिचिएर पनि तिमीलाई राष्ट्रसेवक वनाउँनेछौं, तिमिले पढ्नुपर्छ ।’ वुढा बा बहकिन्छन । सानो छोरो मकै चपाउँदै वावु-आमाको अनुहारमा पुलुक्क हेर्छ । के भनेको हो उ बुझ्दैन । एक हुल धुले-मैले साथीहरु आइपुग्छन् । ऊ पनि सँगै दौडन्छ । खोलाको त्यो किनार, त्यो पिपलको रुख, प्लाष्टिकको फाटेको पाल त्यै संसार हो उसको । उ रमाउँछ । दौडन्छ । खेल्छ । यस्तैमा समय वित्दै जान्छ ।
रुखहरु सुक्दै जान्छन् । पलाउँदै जान्छन । वुढा बा र आमा अझ वुढा हुँदैं जान्छन् । छोरो ठूलो हुँदैछ । सपना र आशाका त्यान्द्राहरु मौलाउँदै जान्छन । देश कहाँसम्म छ ? संसार कत्रो छ ? मान्छेहरु कस्ता-कस्ता हुन्छन ? त्यो वस्तिले अनुमान पनि गरेको छैन । त्यो एक चक्कर घुम्ने ठाँउ संसार हो उनिहरुको लागि । ति धुलौटोमा पढ्ने सानो वावुको स्कुलपनि एकदिन भग्नावशेषमा परिणत हुन्छ । वुढा बा सपना सकिएजस्तो थकित प्रायः विरामी देखिन्छन । आमा, छोरो ठूलो हुँदै गएकोमा खुसि भन्दा दुःखि देखिन थाल्छिन । छोरो ठूलो भैसकेको छ । उसले थाहै नपाइकन उ पढ्ने छाप्रो भत्कियो । कसले भत्कायो ? किन भत्कायो ?यो ऊ जान्दैन । बा’हरुले भनेको सुनेको छ उसले । विद्रोहिले अखडा वनाउन लागेको भन्ने थाहा पाएर प्रहरि त्यहाँ पुग्यो । अनि त्यै वेलाको दोहोरो भिडन्तमा उसको विद्यालय शहिद भयो । शनिवारको दिन विहान त त्यो स्कुल त्यहाँ थिएन । अनि त्यहाँ पढाउने गोविन्द सर पनि । रातभर गोलि चलेको उसले पनि सुनेकै हो । वावुले छोरालाइ राष्ट्रसेवक वनाउने चाहे । त्यै वेला गाउँका नन्दु, विरु र फुलमति विद्रोही वन्न जंगल पसे । मुरलिधर र ऊ शहर पसे । गजवको अवसर पायो उसले । न कसैको सोर्सफोर्स चाहियो । न धन । ढुङ्गा कुट्ने अभिभावकले दिएको वलिष्ट शरिर, भर्खरै वसेका जुँगाका रेखीहरु र बावुले देखेका राष्ट्रसेवक वनाउने सपनासँगै प्रहरि बन्यो ऊ ।
शान्ति सुरक्षाको लागि खटाइएको ऊ । आफु भने सुरक्षित कहिल्यै भएन । तर उसले हिम्मत पनि हार्ने कुरा भएन । उसको वुढा बा ले सिकाएका थिए-‘राष्द्रसेवक त्यो हो जो नुनको सोझो गर्छ । कामप्रति इमान्दार हुन्छ ।’ वेलावखत बुढा बा र आमाको काखमा रमाएको क्षण याद आउँदा भक्कानिन्छ । तर फेरि वर्तमानमा फर्कन्छ । अहिले उ कमजोर, निरिह, सानो छोरो नभएर बहादुर सिपाहि हो । जो देशको रक्षाको लागि खटिएको छ । देशमा द्धन्द्धको स्थिति वढ्दै जान्छ । ठाउँ-ठाउँमा पुल भत्केको, प्राधिकरणको पावर हाउस पड्काइएको, संचार गृहहरु भत्काइएको, स्कुलहरु जलाइएको, मान्छेहरु मरेका, मारिएका, झुन्डाइएका, टुक्राइएका, गाडिएका, कुहिएका खवरहरु उसको अधिकृतले दिदैं जान्छ । संयम रहन, परेको वेला लड्न सिकाइरहन्छ, हौस्याइरहन्छ । उ वहादुरि देखाउँदै जान्छ पनि । एकदिन आमाले चिठ्ठ पठाउँछे -‘सानु ! तेरो बा गल्दै गएका छन् । टि.बि. भएको भन्छन्, फेरि तेरो पिर पनि छ । खै ! बाच्दैनन् जस्तो छ । जसरी भएपनि एकपल्ट मुख देखाउन आइज ।’
ऊ बहादुर प्रहरि ! कसरि घर जान सक्थ्यो ? विद्रोहिहरुले आफ्नो क्षेत्र घोषणा गर्दैछन् रे उसको क्याम्प वरिपरि । फेरि त्यो बावुले नै उसलाइ लड्न पठाएका थिए । कर्तव्यनिष्ठ बन्न पठाएका थिए । बल्लतल्ल उसले एकरातको लागि विदा पाउछ । आफ्नो घर जान पनि चोर बिरालो झैं डराउदै सतर्क भएर ऊ हिड्छ । गडेका आखा, पहेलो अनुहार, निला कलेटी ओठहरु, कता-कता हराएजस्ता रुग्ण जोडी उसैको प्रतिक्षामा थिए । आमा सतर्कतापूर्वक पालभित्र उसलाइ तान्छे । वावु तरक्क आशु चुहाउछ । सायद मर्नुभन्दा अगाडि छोरोको मुख देखे भन्ने सोचेर होला । उ एक रातको लागि घर पुगेको, आमा-वावु अप्रत्यासित प्रस्ताव राख्छन् ।’बाबु विहे गरेर मात्र जा ।’ उ जिल्ल पर्दै बोल्छ ‘यस्तो अवस्थामा म कसरि बिहे गरु ? जव मेरै जिवनको कुनै भरोसा छैन ।’ आमाका आखा हरेश खादै वोलिरहेको छ-‘तेरा बा अव वाच्दैंनन्, तलाइ हेर्न मात्र पर्खिराका हुन् । तेरो पनि त के भर छ र ? कुन दिन गोलि लागेर मर्नेहोस् । मेरो लागि त, साथी चाहियो । वंश जोगाउनकै लागि पनि तैंले विहे गर्नैपर्छ ।’ हतास उ आमासँग आखा जुधाउन पनि सक्दैन । वुढा बा लर्वराउदै वोल्छन्-‘तेरो विहे गरिदिन पाए ढुक्कले मर्ने थिए ।’
ऊ के उत्तर दिन सक्छ र ? बालापनमै झैं पुलुक्क आमा-वावुको अनुहार हेर्छ । उनीहरुको आखामा टलक्क टल्कने सपनाका अवशेषहरु अझै बाँकी नै छन् । ममताको खानी अझै सुकेको छैन । उसलाइ क्वाँ क्वाँ डाको छोडेर रोइदिन मन लाग्छ । हत्तपत्त उ सम्हालिन्छ । ऊ, ढुङ्गा कुट्ने हातले स्याहारेको जड हो । जसको मन ढुङ्गा जस्तै साह्रो हुनुपर्छ । फेरि देशको सेवा गर्न खटिएको रक्षक । ऊ आफैं हारेमा उसका वुढा वा-आमा के गर्लान् ? देशको रक्षा कसरि गर्न सक्छ ? केहि क्षणको सन्नाटापछि आमा झस्काउँछिन् -‘साने ! बाउको इच्छा पुरा गरिदिन्छस् हैन ?’
आमा ! म कसरि यो सब गर्न सक्छु ? बावुको इच्छा कै लागि म प्रहरि वने । समय यस्तो छ, मलाइ आफ्नो ज्यानको त पर्वाह छैन । आफ्नै दाजु-भाइ र दिदिवहिनिलाइ संगिनले रोप्नुपर्ने हुन्छ । यस्तो काममा म कसरि गर्व गरुँ ? जब मेरै जिन्दगिको कुनै भरोसा छैन । अर्काकी छोरिलाइ किन पिडा दिऊँ ? उ एकैचोटि पोखिन खोज्छ । तर त्यसैवेला तेल सकिएको टुकि झ्याम्प निम्छ । भोलि मेरा-आमा पनि मैले थाहै नपाइ यसैगरि निभे भने ? आँशु गह भरिएर आउँछ । ऊ आत्तिन्छ । फटाफट ओठ चल्छ-‘हुन्छ । म बिहे गर्छु ।’
कुनै दन्त्यकथामा जस्तै नचिनेको, नजानेको, नदेखेको अन्जान केटिसँग हतार हतारमा विहे हुन्छ । त्यै पिपलको चौतारो घुमेर । त्यसैलाइ साक्षी राखेर । ऊ भित्र चाहना छैन । सपना छैन । कुनै उत्सुकता छैन । उत्तेजना छैन । एउटा यन्त्र मानव ऊ । सायद, उसकी स्वास्नि पनि, आमाले आफ्नै लागि खोजेकि बुहारि बनिदिइ । उ आफुलाइ विवाहित वनाएर उज्यालो नहूँदै निस्कन्छ । किनकि उज्यालोमा उसलाइ कसैले देखे ऊ मर्न सक्छ । उसले पनि मार्न सक्छ । उसकी नवदुलही विधुवा वन्छे । बुढा-बुढिको काख रित्तिन्छ । हतारहतार सदरमुकाम झरेर उ कार्यक्षेत्र फर्कन्छ ।
रविन्द्र, ए ! रविन्द्र ! मुरलीधर कति वेलादेखि उसलाइ वोलाइरहेको रहेछ । ऊ विगतवाट वर्तमानमा झटपट ओर्लिन्छ । मुरलीधर श-शरिर उभिएको छ । उसको पछाडि एउटि अधवैसे आइमाइ र अर्कि वच्चा वोकेकि आइमाइ उभिएकी छ । उ ठम्याउँछ-ए मसिनी आमै पो रैछिन् । सञ्चै छौ ? वुढि-‘मरु भने कालले लगेन’ दिक्कलाग्दो उत्तर दिन्छे । ऊ अर्कि महिला र वच्चा प्रति खासै चासो दिँदैन । कतै देखे-देखेजस्तो लाग्ने त्यो आइमाइ मुरलिधरको नातेदार होलि । ऊ अन्दाज लगाउँछ ।
खै किन हो ? मसिनि आमै त्यो आइमाई र बच्चालाइ त्याहि छाडेर फर्कन्छे । मुरलीधर ड्युटिमा गएको छ । उमेरभन्दा छिटो बुढी देखिएकी काली, अग्लि आइमाइ आफ्नो छोरोलाइ डोर्याउँदै यताउता गरिरहन्छे । आफ्नो भाइ-वहिनी नभएको र सानोमा पनि खासै रमाइलो जिन्दगि बिताउन नपाएकोले हो कि के हो ? उसमा बच्चाहरुप्रति कुनै चाह छैन । त्यसैले उ बच्चोको वास्तै गर्दैन । त्यो आइमाइसँग के बोल्ने ? उसलाइ खासै वोल्न आउदा पनि आउदैन । त्यतिकै वस्दा-वस्दा उ वाक्क भैसक्यो । अव त उसले सम्झने केहि कुरा पनि वाँकि छैन । घर नगएको पनि तिन वर्ष भैसकेको छ । बुढा बा खोलाको तिरैतिर हिँड्दाहिँड्दै त्यही बगरमा विलाए रे भन्नेसम्म उसलाइ थाहा छ । किरिया गर्न समेत गएन । मन भक्कानिएर मर्नु जस्तो हुन्थ्यो । तैपनी आमाको चिठी हातमा लिएर उ सम्हालिन्थ्यो । ‘बावु तँ नआइज । संसारको रितै यस्तै हो । तेरो बा उसै त रोगाएर आज भोलि भैसकेका थिए । त्यो दिन दिशा गर्न मिर्मिरे मै खोलातिर ओर्लेका उतै गोलि लागेर बिते । यताको स्थिति अझ नाजुक छ । ठाउँ-ठाउँमा एम्वुस थापेका छन् भन्छन् । फेरि जंगल पसेको तेरो साथि नन्दु पनि वित्यो भन्छन् । फुलमति वाँचेकि छे कि मरी थाहा छैन् । तेरि स्वास्नि दुइ जिउकि थिइ । विहेको दिनै छोडेर गएको तँ आइनस् । रातदिन रोइरहन्थि । तँलाइ देखे पनि चिन्ने हो कि हैन ? भन्दै कराइरहन्थि । त्यसैले मन वहलाउन माइत पठाइदिएँ । म बुढी छु भनेर बाउको क्रिया गर्न नआइज । म तँलाइ पनि गुमाएर वाँच्न सक्दिन बा । मैले भनेको मान् । आफ्नो ज्यानको सुरक्षा, देखभाल गरेस् ।’
त्यसपछि ऊ गाउँ जादैं गएन । वत्ति, टि.भि., टेलिफोन सवै भत्किएको ठाउँमा खटिएको इमान्दार प्रहरि ऊ । लडिरह्यो, छटपटाइरह्यो । उसलाइ युद्ध अवधिभर र ड्युटि अवधिभर कसैको यादै आएन । वुढि आमाको याद आइहाले पनि ‘लड् बावु । देशको लागि ।’ भन्दै अराउथिन् । उसकि स्वास्नि कस्ति थिइ, ठ्याक्कै याद छैन उसलाइ । बिहेको रात अँध्यारोमा धिमा-धिमा छाया देखेको हो । २-४ कुरा गर्न नपाउँदै हिँडिहाल्यो । खासै चासो पनि दिएन उसले । कुनदिन आफू मर्नेहरुको लिष्टमा थपिने हो ? उसले फेरि विर्सन नसक्लि । बरु वास्तै नगरे आफूलाइ पनि आनन्द उसलाइ पनि राहत । यस्तै सोच्यो सधै । अहिलेसम्म उ लडिरहेकै छ । तर सौभाग्यवश उ मरेको छैन । नमर्नु पनि ठूलै कुरा हो ऊ सोच्छ । त्यत्तिकै झस्कन्छ । त्यो वच्चा उसैलाइ तानिरहेको छ ।
उसलाइ त्यो बच्चाप्रति कुनै चासो छैन । ‘कुवेलामा जन्मिएको अभागी ।’ उ फत्फताउँछ । दिन वित्दै जान्छ । त्यो आइमाई घर जाने छाँटै छैन । मुरलीधर चुपचाप वस्छ । उसलाइ त्यो पाहुना देखेर विस्तारै रिस उठ्न थालेको छ । रातभरको त्रासदि रित्याएर बल्ल कोठामा आयो । सुते पनि उठाउन आउँछ । सोच्न धरि पाउँदैन उसले । त्यो चण्डाल वच्चो, घरिघरि उसकै पछि लाग्छ । त्यो बच्चा पटक्कै राम्रो छैन । दुब्लो छ । पिलिक्क भित्र पसेका आँखा, चुच्चो नाक, फोहोर लुगा, धुलोमैलोमा उफ्रेर होला डढेको शरिर, छिन-छिनमा यति लामो सिँगान झार्छ । तर अति चंचल छ । उसलाइ छटपटि हुन्छ । यस्तो घाँडो किन यहाँ आएको होला ? त्यो कालि आइमाइ कहाँ मरेकि हो ? त्यसको कुरुप पुत्रोलाइ छोडेर । उ बर्वराउँछ । मुरलीधर नयाँ लुगा किनिदिन्छ । त्यो अंकल कहाँ जाउँ भन्दै सिकाउँछ । उसलाइ झन् रिस उठ्छ ।
-भन् ! मुरलिधर यो आइमाइ र वच्चा को हो ? ऊ झम्टिन्छ ।
-किन ? के गरे र यिनिहरुले ?
-के गरेन भन् त ? रातदिन अघिपछि लाग्या छ छ । न सुत्न दिन्छ ? न शान्ति नै ।
-त्यत्तिकै २-४ दिनको लागि आएका पाहुना हुन् । आफन्तको खोजमा आएकि, हाम्रो आफन्त हो । दुइ-चार सहेस् न है ? विन्ति छ केहि नभनेस् ।
ऊ फन्किदै भित्र पस्छ । मुरलिधर ठट्टा गर्छ । अँ ! तेरी स्वास्निको के छ नि ? अनुहार त चिन्छस ? तेरो छोरो ………….
विनासित्तिको कुरा नगर तँ । म गए । ऊ वत्तिन्छ काममा, केहि वास्तै नभएजस्तो । त्यो नबोलाइएकी पाहुना कति वेलादेखि उनीहरुको कुरा सुनिरहेकि हुन्छे । उनीहरुले पत्तै पाउँदैनन् ।
ऊ केही दिनदेखी ढिलो कोठामा आउँछ । उसलाइ त्यो माहौल नै मनपर्दैन । अन्जान बच्चा, अन्जान आइमाइ, आफु एक्लो लोग्नेमान्छे । कता-कता असजिलो लाग्छ । मुरलीधरको ड्युटि दिउँसो भए उसको राति, उसको…ठिक उल्टो । तर त्यो दिन ऊ आउँदा ति आमा छोरा त्यहाँ थिएनन् । ऊ आनन्द मान्छ तर महिनौ लामो साथ भएर हो कि त्यो चकचके बच्चाको हाँसो कतै खड्किन्छ । नियास्रो लागेजस्तो भएर आउँछ ।
मुरलीधर अझ आएन । ऊ फेरी सोचमा डुब्यो । आमाको त्यो ममतमयी अनुहार आखाभरी सल्बलाए । यसवीच देशमा विभिन्न राजनितिक उत्तरचढाव आइसकेको र अवस्था शान्ति उन्मुख भइरहेको बल्ल आभास भो उसलाई । लाग्यो, बाँच्न सकेर मैले धेरै गरेछु । कानभरी गुन्जियो मुरलीधर ‘तेरी स्वास्निको के छ नि ? अनुहार त चिन्छस ? तेरो छोरो …………’। मनमा कतै गाँठो परेजस्तो भयो ।
भोलिपल्ट बिहानै ऊ घरतिर हान्नियो । त्यो प्यारो झुप्रो जहाँ उसले जीवनको सबैभन्दा मनमोहक वाल्यकाल कटाएको थियो । मृत्युको मुखमा पुगेको बेला सम्हालिन सिकाएको थियो । कस्तो भो होला मेरो गाँउ ? मेरो घर ? कल्पनै-कल्पनामा ऊ पुग्यो । पिढीमा धचक्क बसेको मात्र के थियो । कसैले हात समायो । अचम्म ! त्यो त्यही नबोलाइएको पाहुना । त्यही चकचके बच्चा थियो ।
ऊ सुन्दै थियो “बाबु यो तेरो नासो । तेरो अभागी बच्चो । तँ यसको बाबु, अगाडि भएर पनि चिनिनस्, चिन्दैनस् । आमा चाँहीलाइ खाइदियो बन्दले । यसलाइ जन्म दिनासाथ बिति । यतिका समय न तँ आइस्, न कुनै खवर । छोराको मायाले पगाल्ला भनेर सालिसाथ लगाएर पठाएको थिएँ । तैले त वास्तै गरिनस् रे । चिनिनस्, सायद ! चिन्न चाहिनस् पनि । फेरि तेरो घृणा यसले कसरि सहला भन्दै फर्काएर ल्याइछे । ‘कुनैदिन समय र्फकन्छ’ भन्थे तेरा बा । तँ आइस् बाबु, तँ आइस्…….। त्यो ढुङ्गा, जड मन आमाको काखभरी पोखिँदै थियो……….।
कल्याणपुर –७, नुवाकोट
हालः शंकरदेव क्याम्पस, काठमाडौं ।




