आयु बढाउने क्युबालीहरुको चोर बाटो
आधिकारिक तथ्य अनुसार क्युबाको औसत आयु ७९ वर्ष छ । संसारकै बिपन्न मुलुक मध्येमा पर्ने देशमा धेरै बिकसित मुलुकको भन्दा बढि आयु हुनु आफैंमा अचम्म छ । सैद्दान्तिक भ्रातृत्वका आधारमा कतिले ‘क्युबाबाट सिक्नुपर्छ’, ‘क्युबाको मोडेल लागु गरौँ’ भन्नु स्वाभाविक हो । किनकि यो झट्ट हेर्दा अचम्म लाग्ने कुरा हो । तर गहिरिएर हेर्दा भने त्यस्मा कति यथार्थता समाबेस गरिएको छैन । त्यसैले क्युबाली मोडेल लागू गर्नु सतही बुझाइ मात्र हो ।
सन् २०१८ को तथ्यांक अनुसार सबैभन्दा धेरै औसत आयु जापानको (८५ दशमलव ३ वर्ष) छ भने मध्य अफ्रिकन गणतान्त्रिक मुलुकको सबैभन्दा कम (५४ वर्ष) छ । लडाई परेका वा कुनै किसिमका द्वन्द चलिरहेको देशमा औसत आयु कम हुनेगर्छ । किनकि हिंसात्मक गतिविधिले मृत्यु दर बढाउँछ । हिंसारहित देशहरुको मात्र तथ्यांक लिने हो भने सबैभन्दा कम औसत आयु केन्या, म्यानमार वा तान्जानिया को ६७ बर्षको हाराहारीमा छ । भन्नुको मतलब, सामान्य समयमा स्वास्थ्य क्षेत्रमा जतिसुकै खर्च गरेपनि औसत आयु ६७ देखि ८५ बर्षको बिचमा (वा १८ वर्ष) हुनेगर्छ । स्वास्थ्यको लागि प्रति व्यक्ति प्रति वर्ष ९००० डलर खर्च गर्ने अमेरिकामा औसत आयु ८० वर्ष छ भने २२०० डलर खर्च गर्ने दक्षिण कोरियामा ८३ वर्ष र आधिकारिक तथ्यांक अनुसार ९०० डलर खर्च गर्ने क्युबामा ७९ वर्ष छ ।
अमेरिकाको भन्दा १० गुणा कम पैसा खर्च गरेर पनि उस्तै औसत आयु हुनुमा विभिन्न कारण छन् ।
पहिलो: क्युबाली सरकारले स्वास्थकर्मीहरुलाई परिणाम राम्रो हुनुपर्छ भनेर पहिलै उर्दी जारी गरेको हुन्छ । राम्रै त्यसो भनेको होला। स्वास्थकर्मीहरुले हेल्चेकर्याइ नगरुन, गुणस्तरीय सेवा दिउन भनेर । तर परिणाम राम्रो नभए कारबाहीपनि हुन्छ । त्यसैले स्वास्थकर्मीहरुलाइ तथ्यांक म्यानिपुलेट गर्न इन्सेन्टिभ हुन्छ । किनकि नतिजा राम्रो नभए कारबाहीमा परिन्छ ।
एउटा अध्ययन अनुसार प्राय बालमृत्यु (पाँच वर्ष मुनिकाको म्रित्युदर) लाइ फेटस डेथ (गर्भमै मृत्यु) भएको भनेर डाटा बनाउने गरेको पाइयो । बाल मृत्युदर धेरै हुनुले औसत आयु घटाउँछ । तर बाल मृत्युलाइ गर्भमै मृत्यु भएको लेखेपछि यो तथ्यांकमै आउँदैन र औसत आयुलाइ घटाउँदैन । यो एउटा कृतिमरुपमा आयु बढाउने चोर बाटो हो ।
दोस्रो: आमाको पेटमा अस्वस्थ बच्चा देखियो भने धेरैले गर्भपतन गर्ने गर्छन । यो समस्या संसारभरिनै हो । अस्वस्थ बच्चा अकालमै मर्ने सम्भावनापनि बढि हुन्छ । त्यसैले क्युबाली डाक्टरहरुले यस्तो स्थितिमा गर्भपतन गर्न हौसला दिने गर्छन ताकि त्यसले आफ्नो तथ्यांकमा नकारात्मक असर नपारोस । फलस्वरूप संसारको सबैभन्दा धेरै गर्भपतन हुने देशहरुमा क्युबा पर्छ । ( श्रोत: https://pubmed.ncbi.nlm.nih.gov/19397182/ )
गर्भपतन धेरै त लुकिछिपी गरिने हुँदा प्राय: देशहरुको तथ्यांक अनुमानित मात्र हुन्छ । तैपनि तथ्यांक अनुसार क्युबामा हरेक १०० जना गर्भवती महिलामध्ये ४१ जनाले थेरापोइटिक गर्भपतन गराउँछन् । मतलब डाक्टरको सुझावले गरिने गर्भपतन हुन्छ । ( श्रोत: https://www.safeabortionwomensright.org/cuba-abortion-has-been-safe-and-free-in-cuba-for-over-half-a-century/)
सि आइ एको एक गोप्य सूचना अनुसार केहि क्याथोलिक पादरीहरुलाई मृत्यु संस्कार कति पटक भए भनेर गोप्यरुपमा लेख्न लगाईएको थियो । त्यसमा गर्भपतन गरिएका र ५ वर्ष मुनिका मृत्यु भएकाहरु जोड्दा हरेक १०० जनामध्ये ७० जनाको मृत्यु संस्कार गरिएको पाइएको थियो । यो तथ्यांक सिमित क्षेत्रको मात्र भएको हुनाले यसलाई समग्ररुपमा लागु गर्न भने मिल्दैन । तर यसबाट के प्रस्ट हुन्छ भने अकालमै मर्ने सम्भावना भएकाहरुलाई गर्भमै तुइयाइदिएर तिनीहरुलाइ गणनामै नल्याउँदा त्यसलेपनि औसत आयु माथि राख्न मद्दत गर्छ ।
तेस्रो: आर्थिक रुपमा कम्जोर भएको हुँदा प्राय क्युबालीहरु एक ठाउँबाट अर्को ठाउँमा जाँदा हिँडेरै जाने, साइकल बढि चलाउने हुँदा उनीहरु शारिरिकरुपमा सक्रिय हुन्छन । तौल बढ्न पाउँदैन र त्यसले स्वस्थ रहन मद्दत गरेको छ । औसत रुपमा गाडीहरुको संख्यापनि कम भएकोले सडक दूर्घटनापनि न्युन छ जुन अरु देशहरुमा मृत्युको प्रमुख कारण हो ।
चौथो: मोटोपन, कोलेस्टेरोल, चिनी
प्रशोधन मासुयुक्त खानेकुरा त्यता पाइँदैन । पश्चिमी देशहरुमा सबैभन्दा धेरै अकालमा मृत्यु हुने कारण क्यान्सर, कार्डियोभास्कुलर रोग, स्ट्रोक हुन् । र त्यसको मुख्य कारणपनि यिनै खानेकुरा हुन् । त्यस्तो खानेकुरा क्युबामा निकै कम प्रयोग हुनेहुँदा त्यसको कारण मृत्युपनि कम हुने गर्छ ।
पाँचौं: मौसम राम्रो र धेरै घाम लाग्ने हुँदा भिटामिन डी प्रशस्त मात्रामा प्राप्त हुनेगर्छ । विभिन्न अध्ययनहरुका अनुसार भिटामिन डी र आयुको सम्बन्ध सकारात्मक छ । मौसम राम्रो हुने, धेरै घाम लाग्ने देशहरुमा मानसिक रोग, आत्महत्याको दरपनि कम छ । क्युबामा धेरै सार्बजनिक पार्कहरु छन् । बिहान, दिउँसो, राती जुनसुकै समयमा पनि सार्बजनिक पार्कहरुमा घाम तापेर, नाचगान गरेर, हसिमजाक गरेर बसिरहेका बुढाबुढी, बच्चा, तरुना सबै मान्छे प्रसस्तै देख्न सकिन्छ । यसलेपनि आयु लामो राख्नमा मद्दत गरेको छ ।
तेस्रो ,चौंथो र पाँचौं : नेपालमा पुरै लागू गर्न उपयुक्त देखिन्न । यहाँ अर्कै परिस्थिति छ । त्यसैले क्युबाली मोडेल अनुसरण गर्नुअघि दुवै पाटोको अध्ययन गर्नु जरुरि छ । केहि कुरा सिक्न भने सकिन्छ । जस्तै चौथो र पाँचौं बाहेक अरु कुरा लागू गर्न सकिन्न ।
तानाशाही मुलुकहरुको तथ्यांक प्राय: विश्वसनिय हुँदैनन् । २००२ को चुनाबमा सद्दाम हुस्सेनले १०० प्रतिशत भोट ल्याएर जितेका थिए । उत्तर कोरियाका किम जोङ इलले पनि ९९ धशमलव ९ प्रतिशत भोट ल्याउँथे । क्युबाकै राउल कास्त्रोले २००८ को चुनाबमा ९९ प्रतिशत ४ प्रतिशत भोट ल्याएका थिए । यो झुट हो । भोट जस्तै अरु तथ्यांकपनि धेरै हदसम्म झुटा हुनेगर्छन । प्रजातन्त्रमा त्यो गाह्रो कुरा हो । किनकि प्रतिपक्षी पार्टी हुन्छन् । संस्थाहरु हुन्छन । स्वतन्त्र प्रेस हुन्छ र अनुगमन गर्ने निकायहरु हुन्छन् । बलियो प्रजातन्त्र भएको देशमा तथ्यांक म्यानिपुलेट गर्न असम्भव हुन्छ । वा गरेपनि निकै कठिन हुन्छ । त्यसैले राम्रो र प्रमाणित आधारहरुबाट मात्र सिक्ने गरौँ ।




