विश्वभरि मूर्तीहरुको सत्यानाश, महात्मा गान्धीपनि बाँकि रहेनन्
-भानुभक्त आचार्य / क्यानडा
अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी क्रूरताबाट मृत्युभए पछि पुनःजागृत भएको ‘ब्ल्याक लाईभ्स म्याटर (Black Lives Matter)’ आन्दोलनले इतिहासमा कालाजातिका मानिसहरुलाई दास बनाउने, उनीहरुको व्यापार गर्ने, उनीहरुमाथि अनेक प्रकारका शोषण र विभेद गर्ने महासामन्तका शालिकहरुलाई निशाना बनाएका छन् ।
अमेरिकी महादेशको खोजी गर्ने क्रिस्टोफर कोलम्बस (अमेरिकी आदिवासीमाथि अत्याचार गरेको), स्काउटका संस्थापक बाडेन पावेल (काला मानिसहरुप्रति असहिष्णु र कट्टरपन्थी विचार राख्ने), रबर्ट मिलिगन (जमैकामा ५२६ अफ्रिकी दासहरु राखेर श्रम शोषण गरेको), महात्मा गान्धी (दक्षिण अफ्रिकामा काला मानिसहरुको अत्याचारमा नबोलेको र कालाभन्दा भारतीयहरु माथिल्लो दर्जाका मानिस हुन् भनी लबी गरेको) भन्दै निशानामा परेका छन् । त्यस्तै विश्वकै चतुर मानिएका बेलायती प्रधानमन्त्री विस्टन चर्चिल पनि रंगभेदी विचारधाराका कारणले आक्रमणको निशानामा परेका छन् । बेलायती दासदासी व्यापारी एडवार्ड कोल्सटनको ब्रिस्टोलमा भएको मूर्तिलाई डोरीले तानेर लडाएर सडमा लछारपछार गर्दै, लात्तैलात्ताले हान्दै अन्त्यमा नदीमा फालियो । त्यो किनभने कोल्सटनले विरामी दासदासीलाई आन्द्रमहासागरमा फाल्ने र स्वस्थलाई मात्रै अमेरिका पुर्याएर बेच्ने गरेका रहेछन् ।
‘द अफ्रिकन ट्रेडिङ कम्पनी’ खोलेर बेलायतीहरुले अफ्रिकाबाट एक करोड २० लाख दासदासी अमेरिका लगे, जसमा विरामी भएको, अनुशासन नमानेको लगायतका कारणले करिब २० लाखलाई आन्द्र महासारमा डुबाइदिए । बेलायतले सन् १८०७ मा दासदासी खरिदबिक्री बन्द गर्यो भने अमेरिकामा सन् १८६३ मा अब्राहम लिंकनले यो प्रथालाई समाप्त पारे ।
सन् १९७० को दशकमा अहिलेका अमेरिकी राष्ट्रपति हाउजिङ कम्पनि चलाउँथे, जसले कालो छाला भएका मानिसलाई आफ्नो कम्पनीका भवनमा भाडामा बस्न दिएनन् । सन् १९९० सम्म पनि दक्षिण अफ्रिकामा बेलायती सेताहरुको सर्वोच्चता कायमै थियो, जहाँ सेतो छाला भएको मान्छेले अपराध गरेछ भने पनि कालो छाला भएको प्रहरीले पक्राउ गर्न हुँदैनथ्यो । दुर्भाग्य, अहिले यिनैले हामीलाई अनुशासन, नीति र सभ्यता सिकाउँछन् ।
नैतिक पक्ष : शासकहरु हो, अलोकप्रिय काम गरेर सेनाको सलामी खाएरै मरेछौ भने पनि तिम्रो मूर्तिले समेत अपमान सहने छ । याद रहोस् ।









