नस्लवाद र प्रहरी हिंसाको निन्दा गर्दै फ्रान्सका दर्जनौं शहरमा प्रदर्शनी
नारा, जुलुस, राजनितिक र अन्य प्रदर्शनीकालागि सुरक्षा निकायको प्रतिबन्धको बाबजुद, शनिबार फ्रान्सका लियोन, मासेई, पेरिसलगायतका दर्जनौं शहरमा हजारौं व्यक्तिहरू जर्ज फ्लोडलाई श्रद्धाञ्जली जनाउन भेला भए ।
अफ्रिकी मूलका ४६ बर्षे जर्ज फ्लोईड संयुक्त राज्य अमेरिकाको मिनियापोलिसमा २५ मे मा पक्राउ पर्ने क्रममा मारिएका थिए । फ्रान्सेलीहरुले त्यसको बिरोधका साथै फ्रान्समा जातिवाद र प्रहरी हिंसाको निन्दा गर्न एकैसाथ बिभिन्न शहरमा बिरोध आयोजना गरेका हुन् ।
शुरुमा पेरिसको प्लास दला कङ्कर्डमा र्यर्ली सुरु गर्ने घोषणा गरिएको थियो । यो क्षेत्र अमेरिकी दूतावासको अगाडि हुने भएकाले केही सय मिटर टाढा प्रहरीहरु तैनाथ गरिएको थियो । प्रहरीहरुले अमेरिकी दुतावासको सुरक्षालाई देखाउँदै प्रदर्शनकारीहरुलाई त्यहाँबाट हटाएका थिए । तिनीहरूले दूतावास नजीक जान नदिन बार बनाएका थिए । यी दंगा प्रहरीहरुले प्रदर्शनकारीको सबै पहुँच रोकेका थिए । त्यसपछि प्रदर्शनकारिहरु अलि परको चौकमा बस्न बाध्य भएका थिए । अमेरिकी दुतावास नजिक नपुगुन् भनेर बार लगाएको सुरक्षाकर्मीको भनाइनै थियो ।
आफ्नो देशभित्रको प्रदर्शनमा अमेरिकीहरु हाबी रहेको भन्दै प्रदर्शनकारीहरुले आपत्ति जनाएका थिए । प्रहरी ज्याददी रोकिनुपर्ने माग राखेर प्रदर्शनी गरिएकोमा बार लगाएर बन्द गरेकामा प्रदर्शनकारीहरुले फ्रान्सेली र अमेरिकी सरकारको बिरोध गरेका छन् । प्रहरी दमन बन्द गर्नुपर्ने माग उनीहरुको छ ।
भाईरसको महामारीका बेला सामूहिक प्रदर्शनी रोकिएको कारण देखाउँदै प्रदर्शनकारीहरुलाई प्रहरीले रोकेपछि प्रदर्शनकारीहरुले ‘हिँसा गर्नु र त्यसलाई प्रश्रय दिनुपनि एक खालको भाइरस हो’ भन्दै बिरोध गरेका थिए ।
बिहानै भेला भएका प्रदर्शनकारीहरुले जमिनमा घुँडा धसाएका थिए । उनीहरुको मुठ्ठी उठेको थियो । जर्ज फ्लोइडको अन्तिम वाक्य ‘म सास फेर्न सक्दिन’ भन्ने शब्दहरुसँगै प्रदर्शनकारिहरु रोएका थिए । उनीहरुले यो शब्द अब विश्वव्यापी जातीयता बिरूद्ध लड्ने प्रतीकका रुपमा रहेको बताएका छन् ।




