नेपाललाई शिक्षा  : रोपाई र धान खेत देखाएरै भियतनाममा लाखौं पर्यटक आकर्षण

भियतनाममा रोपाईका बेला खेतका गराको आलीबाट हिँडाउने, रोपाईमा सहभागि गराएर पर्यटक तान्ने गज्जबको योजना रहेछ । रोपाईमा भाग लिएका पर्यटकले असाध्यै रमाईलो, आनन्द लिएको, नौलो र अचम्मित अनुभव गरेको अनुभव सुनाउँदा रहेछन् । धान रोपाई र पाकेको धानबाली देखाएरै प्रति पर्यटक ७० डलर अर्थात् झण्डै प्रति पर्यटक नौ हजार रुपियाँ भियतनामीहरुले असुलिरहेका छन् ।

‘मनसुनका बेला, पानीनै पानी हुन्छ, हिजो गजगज हुन्छ, गाह्रो हुन्छ, केहि देखिन्न, नआएपनि हुन्छ’ भनेर पर्यटकलाई मनसुनका बेला नआउन शिक्षा, सूचना दिने हामी नेपालीले भियतनामीबाट रोपाई र पहेंलो धान फाँट देखाएर पर्यटक तान्ने अक्किल सिक्नु आवस्यक छ ।

फर्र फुकेको, लामा दाना भएको, मगमग वासना आउने एशियाको चामलको भात चाख्दा पस्चिमेलीहरु छक्कै पर्छन् । एशियामा पाईने जस्तो मिठो, बासना आउने धान पस्चिमी मुलुकमा लगभग पाइन्न । फेरि हाम्रो एशियाका भिराला जमिनमा गरिने धान खेती, रोपाई र धान खेति गर्ने हाम्रो स्थानिय प्रविधीबाटै पस्चिमीहरु आकर्षित र अचमित हुन्छन् । यो हेर्नपनि पस्चिमीहरुलाई रहर लाग्छ । पस्चिमीहरुको यहि आकर्षण देखेरनै भियतनामले रोपाई र पाकेको धानको पहेंलो फाँट देखाउने ‘गोल्डन राईस फिल्ड भिजिट’ र ‘वेट राईस प्लान्टिङ’ भन्ने दुई थरि पर्यटकिय भ्रमणको कार्यक्रमनै बनाएका छन् ।

भियतनाममा रोपाई हेर्न, रोपाईमा स्थानियसँगै सहभागि भएर रमाईलो र मज्जा लिन हजारौं पर्यटक जाने गरेका छन् । रोपाईमा रोपाहर र हलीले जस्तो खान्छन् पर्यटकहरुपनि सहभागि हुन्छन् । हलो जोत्ने, धान रोप्ने, बिउ ओसार्ने, हिलोमा खेल्ने गरेर रमाउने गरेका छन् । रोपाई र पहेंलपुर धानको फाँट हेर्न हजारौं डलर तिरेर पर्यटकहरु जान्छन् ।

भियतनाममापनि पहाडी भेग, भिराला परेका जमिन, साना साना गह्रा नेपालको पहाडी भागको जस्तै भूबनावट छ । त्यसैले नेपाललेपनि रोपाई, धान काट्ने चलन र पहाडी भेगका अनेक परिकार चखाएर, देखाएर पर्यटकहरुलाई आकर्षण गर्न सक्ने प्रचुर सम्भावना छन् ।

त्यहाँको सरकार र ट्राभल एजेन्सिहरुले धान रोपाई र पहेंलपुर धानको फाँट हेर्ने कार्यक्रम बनाएर प्रचारप्रसार गरेका छन् । यसबाट उनीहरुलाई वर्षेनी लाखौं डलर आम्दानी भैरहेको छ । रोजगारीपनि स्रिजना भएको छ । पर्यटक तान्न सिपालु भियतनामीहरुले बाह्रै काल, सबै मौसमलाई पर्यटकिय मौसमका रुपमा विकास गरिरहेका छन् । मनसूनका बेला रोपाई पर्यटन र धान पाकेका बेला सुन जस्तो पहेँलो धान फाँट भ्रमणका नाममा बाह्रै काल पर्यटक तानिरहेका छन् । अक्किल जान्ने हो भने कुनैपनि मौसम पर्यटककालागि बेमौसमी हुन्न, बाह्रै काल पर्यटक तान्न सकिन्छ भन्ने जुक्ति भियतनामबाट हाम्रो सरकार, हाम्रा पर्यटकिय योजनाकार र ट्राभल एजेन्सिहरुले सिक्नु जरुरि छ ।

(तस्विरहरु- हानोइ टुर, भियतनाम)

तपाइँको प्रतिक्रिया