२५ वर्षसम्म एउटै कोठामा छोरीलाई बन्दि

-आन्द्रेई तापालागा

                  (ब्लँस मोनिए कोठामा २५ वर्ष थुनिनु अघि)

ब्लँस मोनिए फ्रान्सकी एउटी राम्री केटी थिइन् जसले अत्यन्तै दुखद जीवन बिताइन् । उनी मार्च १, १८४९ मा फ्रान्सको प्वातिएमा जन्मिईन् । त्यतिखेर उनको परिवार अद्भुत रूपमा परिचित थियो । उनको सुन्दरता, शारीरिक बनावट र राम्रो प्रकृतिले धेरैको ध्यान आकर्षित गर्थ्यो । सबैभन्दा महत्त्वपूर्ण कुरा विवाहको लागि धेरै सम्भावित ब्यक्तिहरुले उनलाई प्रस्ताव गरे । उनका आमाबुबा कुलीन थिए ।  उनीहरुको छोरीको बिहेको कुरो आउँदा बिवाह गराइदिन बाबु आमा अनिच्छुक थिए ।

उनी किशोरावस्थाको शिखरमा पुगिन् । त्यसपछि उनले धेरै पत्रहरू प्राप्त गरिरहिन् । बिवाह गरौं भन्ने पत्रका खात लागे । अति सुन्दर भएकीले उच्च समाजबाट धेरै सम्राटहरूलाई आकर्षित गरिरहेकी थिइन् उनले । यो यस्तो स्थितिमा पुग्यो जहाँ यसले लुइस मोनियर (उनकी आमा) लाई धेरै रिसाउने बनायो । किनभने उनी आफ्नी छोरी बिहेको लागि अति बहुमूल्य भएको धारणामा थिईन् । त्यस दिनदेखि ब्लँस पेरिसबाट हराईन् । अथवा कहाँ गईन ? कि लुकाईयो ? उनी देखा परिनन् ।

                   (ब्लँस मोनिए सन् १९०१ मा थुनिएको अवस्थामा फेला पर्दा)

लुइस मोनियले छोरी अति सुन्दर भएकाले थुनेका थिए । झ्यालमा चढेर घाम छिर्ने सबै बाटा थुनिए ताकि सूर्यको किरण कोठामा नपरोस् । सबैभन्दा महत्त्वपूर्ण कुरा त कसैले पनि उनलाई देख्न नसकोस् । यसले ब्लँसको आमाबुबा, भाइ र घरका वरिपरिका नोकरहरू बाहेक सम्पूर्ण दुनियाँबाट अलग पारियो । उनलाई कोठाको ओछ्यानबाट तल झर्न अनुमति थिएन न त कुनै प्रकारको आधारभूत सरसफाईको लागि उनलाई अनुमति दिइयो । उनको आधा जीवनको लागि ब्लँस ओछ्यानमा पल्टिन् । उनले त्यहिँ खानुपर्थ्यो । दिसा र पिसाब ओछ्यानमै गर्नुपर्थ्यो ।

ब्लँसका बारेमा उनका साथीभाईले चासो राखे ‘खै ब्लँस ? कहिले भेट्न पाइन्छ ?’ उनका आमाबुबाले उनको साथीहरू र आफन्तहरूलाई भने कि उनलाई बेलायतको कुनै  बोर्डिङ स्कूलमा भर्ना गरिएको छ । उनको पढाईले गर्दा घर फर्कन सक्षम हुन्नन् ।’

उनले आफ्नो अध्ययन लगभग समाप्त गर्ने बेला फेरि अर्को झुट रचियो । ब्लँसले स्कटल्याण्डमा आफ्नै जीवन बनाउँदै छिन् । अब भने उनलाई फ्रान्सका कुनै आफन्तहरूबाट पूर्णरुपमा अलग गर्यो ।

डरलाग्दो खोज

२५ बर्ष पछि, मार्च २३, १९०१ मा पेरिसका महाधिवक्ताले एउटा अज्ञात पत्र प्राप्त गरे जसमा यसो भनिएको थियो ‘पेरिसका एक परिचित परिवारले बन्द ढोका पछाडि आफ्नी छोरीलाई लुकाइरहेको छ ।’ आजसम्म पनि उक्त चिठीका लेखक अज्ञात छन् तथापि इतिहासकारहरू त्यो चिठी लेख्ने त्यहि घरका नोकरहरू मध्ये एक हो भन्ने विश्वास गर्छन् ।

                  (उनी थुनिएको रिपोर्ट त्यति बेलाको फ्रान्सेली पत्रिकामा)

यो पत्र पाएपछि महाधिवक्ताले मोनिय परिवारलाई पत्र पठायो । पत्रमा लेखिएको थियो ‘मलाई असाधारण गम्भीर घटनाको बारेमा पत्र प्रप्त भएको छ । तपाईंलाई सम्मानपूर्व जानकारि दिन चाहन्छु । म एक बन्दि महिलाको बारेमा उल्लेख गर्दै छु जो श्रीमती मोनिनियको घरमा बन्द छिन् । आधा भोकाएको अवस्थामा बस्छिन् । विगत पच्चीस बर्षदेखि फोहोरमै बस्दै आएकि छन् । एक शब्दमा भन्छु ‘आफ्नै फोहरमा ।’

मोनिय परिवारलाई पेरिसको समुदायमा उच्च सम्मानका रूपमा हेरिएको थियो । उनीहरु महान्यायाधिवक्ताको चिठी पाएपछि आस्चर्यमा परे । तनाब देखियो । रिसले आगो भए । महान्यायधिवक्ताले दाबी गरेझैं स्विकार्न अनिच्छुक देखिए। तर महान्यायधिवक्ताको निर्देशन बमोजिम अधिकारीहरु मोनिनियको स्थितिकाबारेमा छानबिन गर्न गए । तिनको घरमा पुग्दा पहिलो नजरमा घर सफा सुग्घर देखिन्थ्यो । जबसम्म अन्वेषकहरूले कोठाको कुनै एक ठाउँबाट सडिरहेको गन्धको मेसो पाएनन् तबसम्म घरको सुन्दरता र सफाई देखेर प्रभावित भए ।

                                                    (सन् १९०१ मा ब्लँस मोनिए फेला परेको अवस्था)

कोठामा पुग्दा सडेको गन्ध आउँदै थियो । अन्वेषकहरूले पत्ता लगाए कि कोठा वर्षौंदेखि ताला लगाइएको रहेछ । चाबी हेर्दै खिया लागेको थियो । अधिकारीहरूले चाबी फुटाए । र त्रासले भरिएको कोठाभित्र पसे । अधिकारीहरूले उनीहरूको खोजका आधारमा एउटा गम्भीर रिपोर्ट लेखेका थिए । त्यसको सारांश यस्तो थियो-

बन्दि महिला अत्यन्त कुपोषित देखिन्थिन् ।  च्यात्तिएको, बिग्रिएको गद्दामा पूर्ण नग्न अवस्थामा थिईन् । उनको सबै छेउमा मलमूत्र र खानाको टुक्राबाट बनेको थुप्रो थियो। हामीले सुश्री ब्लँस मोनिनियको ओछ्यानमा उडुसहरु पनि दौडिरहेको देख्यौं । कोठा भित्रको हावा असाध्यै असहनीय थियो । गन्हाएको थियो । यस्तो दयनिय अवस्थामा थियो कोठा कि हामीले हाम्रो अनुसन्धान यो भन्दा अगाडि बढाउन सकेनौं ।

कोठा यति अन्धकार थियो कि अन्वेषकहरूले घामको किरण रोक्न झ्याल बाहिर लगाइएका पाटाहरु तोडिदिए। त्यो तोडेपछि सूर्यको किरण भित्र छिर्यो । २५ बर्ष पछि सूर्यको किरण देखेको पहिलो पटक थियो बन्दि ब्लँसले । उनले अन्वेषकहरूलाई भनिन् कि उनी २५ वर्ष लामो समयसम्म साङ्लाले बाँधिएकि थिईन् । न्युनतम तरिकाले बाँच्नको लागि याचना गरेकि थिईन् । उनको स्वास्थ्य अवस्था यति खराब थियो कि तौल २५ किलोग्राम थियो। आफ्नै खुट्टामा उभिन सक्ने शक्ति उनमा थिएन ।

उनलाई अस्पतालमा सारियो । उनले त्यो गन्हाईरहेको गन्ध छोडेर ताजा हावा र गन्धरहित अवस्थाको बारेमा यति आश्चर्यजनकरुपमा ब्याख्या गरिन् कि अस्पतालका डाक्टरहरुपनि चकित परे । अस्पताल आउनै रमाईलो भएको उनले उल्लेख गरिन् । डाक्टरहरूपनि अचम्ममा परे र तिनलाई अविश्वसनीय लागेको बताए । उनी धेरै वर्षसम्म कुनै आन्दोलन, बिद्रोहबिना त्यस्तो क्रूर अवस्थामा बाँच्न कसरि सफल भइन भनेर उनीहरु अचमित भएको उल्लेख गरेका छन् ।

न्याय प्रदान गरियो

एउटा ठूलो घटना भयो जहाँ मोनिनिय परिवारका सबैलाई केरकार गरियो । लुइस मोनियर पक्राउ परेकी थिइन । तर कैद मुक्त भएको १५ दिन पछि उनको मृत्यु भएको थियो । अधिकारीहरूले उनको मुटुको अवस्था खराब भएकाले हो भन्ने ठानेका थिए । तर धेरैले उनले लागुपदार्थ सेवन गरेको शंका गरे । ब्लँसका भाई मार्सेल मोनिनियले भने आफ्नी आमालाई यो अपराधको जिम्मेवार भएको दोष लगाएर आफूलाई बचाउन खोज्यो । सजायँबाट बच्न प्रदान गरिएको प्रमाणको बाबजुद पनि मार्सेललाई ब्लँसको दुर्व्यवहारको आरोप लगाएर जेलमा १५ बर्षको सजाय सुनाइएको थियो ।

अब ब्लँस स्वतन्त्र भएपनि जीवन उनको लागि सजिलो थिएन । २५ वर्ष कैदको कारण उनमा मुख्यत मानसिक समस्याहरू थिए । त्यसभन्दा बढि उनमा अन्य गम्भिर स्वास्थ्य समस्याहरू विकसित थिए । यी सबै समस्याहरूका कारण उनलाई मनोचिकित्सक अस्पतालमा भर्ना गरियो जहाँ उपचारकै क्रममा सन् १९१३ मा उनको मृत्यु भयो।

(आन्द्रेई तापालागा फ्रान्सको ईतिहासका बारेमा नयाँ नयाँ खोजमूलक तथ्यहरु लेख्ने प्रसिद्द पत्रकार हुन् उनको यो लेख मेडिया डटकमबाट ददि सापकोटाले नेपाली भाषामा भावानुवाद गरेका हुन्- नेपालप्लस)

तपाइँको प्रतिक्रिया