आँखै अगाडि बितेका आफन्त र बेलायतमा काप्दै बितेका यि दिन

-कान्ति गुरुङ श्रेष्ठ / बेलायत   

जिन्दगीलाई परिभाषित गर्ने धारणा यो कोभिड १९ ले गर्दा बेग्लै भएको छ । जीवन जगत भन्ने कुरो आफू रहुन्जेल मात्र रहेछ । अरु यो धन सम्पत्ति, सफलता अहंकार भन्ने चिज मात्र भ्रम रहेछ । सबका सबको औकात एकनाशमा ल्याइदियो, कोबीड-१९ ले । शुरुशुरुमा यस्तो भयानक स्थिति आउला भनेर पटक्कै सोचिन मैलेपनि । चीनको महामारी उतै सकिएला, यति टाढासम त के अ औला र भन्ने भयो ।

बिस्तारै युरोपियन देशहरु हुँदै म बस्ने देश बेलायतमा पनि आइपुग्यो । १० दिनको नेपाल बसाइ पश्चात सपरिवार फेब्रुअरी २१ मा बेलायत आइपुगेका थियौं हामी । म फेरि दोहोर्‍याएर जचाउन जानुपर्ने थियो मार्चको ५ तारिख । समय अनुकुल नभएकोले साँझकालागि सार्नलाई जेपी (सामान्य स्वास्थ जचाउने ठाउँ) मा फोन गरेकि थिएँ । उताबाट सोधनी भयो ‘हालसालै कुनै देश भ्रमण गर्नु भएको थियो कि ?’ मैले ‘म नेपाल गएर आएको’ भनेपछि उसले ‘१११ मा फोन गरेर कोभिड १९ को बारेमा छलफल गरेरमात्रै जिपीमा जान मिल्छ’ भन्ने जानकारि दिए । ‘म डाक्टरसँग फोनवार्ता गराउँछु’ भनेर फोन राख्यो ।

१११ मा फोन गरेपछि मुटुको धड्कन बढ्न थाल्यो । धेरै समय कुरेपछि बल्ल पालो आयो । सबै विवरणको बेलिबिस्तार लगाएपछि बल्ल जिपीमा जान पाईने भयो । स्वास्थ्य केन्द्रमा नियमित जचाउन थालेपछि जिन्दगी सामान्य ढंगले चल्दै थियो । बिस्तारै कोभिडको बारेमा हल्ला चल्दैगयो ।

बेलुका खाना खाने बेलामा श्रीमानले एकजना नेपाली दिदीलाई गाह्रो भएर अस्पताल भर्ना भएको कुरा सुनाउनु भयो । खाना खाएपछि हतार हतार सामाजिक सञ्जालमा खोज्न थालें । ति दिदी बोलेको भिडियो भेटियो । दिदीको नाम भगवती रानाभाट । एक जना नेपालीको नाताले मन त दुखेर आयो । केही समयपछि मलाइ याद भयो कि भगवती दिदी र म मे ८ तारिखमा एउटै टेबलमा मज्जाले चियापानी खाँदै बिताएका थियौँ । दिदीलाइ त्यही रातीदेखि ज्वरोले चापेको रहेछ । अब विस्तारै मेरो दिमाग हल्लिन लाग्यो । अलिकति शरिर तात्न थाल्यो कि थर्मामिटरले ज्वरो नापिहाल्थें । पछि भगवती दिदी कोरोनाको संक्राणबिरुद्दको लडाईमा सञ्चो भएर फर्किनुभएको कुराले खुसी भयौँ ।

हरेक दिनका समाचारहरुले मनमा एक किसिमको त्रास त थियो नै, त्यसमापनि नेपालीको यति क्षती भयो र उती भयो भन्ने समाचारहरुले मन झन दुःखी बनाउँथ्यो । यो त्रसित समयमा आफ्नाहरुलाइ गुमाउनुको पिडा म सोच्न पनि सक्दिनथें ।

मेरो एकजना सिरिलियोन साथीको बुबाआमाको कोभिड १९ को कारणले दुइ दिनको अन्तरालमा मृत्यु हुँदा उसलाइ फोन गरेर सान्त्वना दिनेबाहेक अरु केही गर्न पनि सकिन । साथीसँगको नजीकिएकाले उसको बुबाआमासँग पनि म नजिक थिएँ । तर विडम्बना उसको दु:खमा केही गर्न सकिएना । मात्र टेलिफोनबाट सान्त्वना दिन बाहेक ।

यस्तै केही दिन पछि मलाइ मेरो साथी (आलुको) फोन आयो । एकजना दिदीको ससुरालाइ पनि कोभिड १९ को कारण आइसियुमा भर्ना गरिएको छ भनेर । केही दिन अघि मात्र उहाँ र हामी एउटा कार्यक्रममा सहभागी भएर एउटै गाडीमा फर्केका थियौँ । मेरो शरीर फेरी गल्न थाल्यो । सास फेर्न गाह्रो भएजस्तो । शरीरको तापक्रम बढे जस्तो हुनथाल्यो । त्यसको केहि दिनमा बुबा बित्नु भयो भनेर नमिठो खबर सुन्नुपर्यो । त्यो पहिलो भेट नै अन्तिम भयो र केवल सम्झनामा सिमित रहने भयो । बुबासँग खिचिएका तस्वीरहरु अझैपनि मोबाइलमा कैद छन । बुबाको आत्मालाई शान्ति मिलोस ।

मैले दुखका खबर त्यतिमात्रै सुनेर नपुग्ने रहेछ । फेरि केहि समयपछि मेरा केही नजिकका साथीभाइलाइ पनि कोरोना पोजेटिभ देखियो भन्ने खबर आयो । तर समयक्रमसँगै सबैजना निको भए । र कति अझैपनि निको हुँदै छन ।

अचम्मको कुरा त मेरो एकजना फिलिपिनी साथी जसले भर्खरै क्यान्सरलाइ जितेकी थिइ, कुनै लक्षणबिना उसलाइ समेत कोरोनाले समातेछ । तर उसलाइ पनि दुइ हप्तामा निको भयो । मेरा केही आफन्तहरु पनि एकान्तबासमा थिए । यो बिबस समयमा चाहेर पनि कसैलाई केही गर्न नसक्नुको पिडा । हरेक दिनका ति दुखित समाचार । मन भित्रको एक प्रकारको त्रास । नेपाली उखान ‘बनको बाघले नखाएपनि मनको बाघले खायो’ भनेजस्तो मलाइ पनि त्रास र मानसिक पिडाले समात्यो ।

यो दौरनमा दुइचोटि इर्मजेन्सीमै पुर्‍यायो मलाई । पहिलो पटक सास फेर्न गाह्रो भएर । दोस्रो पटक उच्च रत्तचापका कारण । पहिलो चोटि जाँदा इसिजिको रिपोर्ट राम्रो नभएपछि अरु जाँचको लागि एक रात बर्नेट अस्पतालमा बितायौं । अर्को पटक दिनभरि अस्पताल बसेर साँझ फर्कियौं ।

अहिले सकेसम्म समाचारहरुलाइ ‘फलो’ गर्न छोडेको छु । कोभिड १९ को बारेमा धेरै लेख्ने केही साथीहरुलाइ समेत मेरो सूचीबाट हटाएकी छु । डाक्टरको सल्लाह अनुसार औषधि समेत लिँदै गरेकि छु । लाग्छ, मलाइ जस्तै धेरै जनालाइ यो महामारीले स्वास्थ्यमा थप समस्याहरु निम्त्यायो होला । अहिले म सकेसम्म आफूलाइ व्यस्त राख्ने कोशिश गर्छु । नजिकका साथीभाइसँग लागेका कुरा साझेदारि गर्छु । विहान बेलुका योग गर्छु । शत प्रतिशत नै त नभनौँ तर धेरै सहज महशुस गरेकि छु ।

हिजोआज म बस्ने देशमा पनि मृत्युका घटनाहरु कम हुँदै गएकोले आशाहरु पलाएका छन् । हाम्रो अस्पताल बसाइका क्रममा छोरा आकृतलाई हेरविचार गरिदिनुहुने छिमेकी स्टिभलाई धेरै धेरै धन्यवाद ।

अहिले जिन्दगीको झन माया लगेर आएको छ । त्यसैले भजन शिरोमणि भक्तराज आचार्यको ‘हजार सपनाहरुको माया लागेर आउँछ’ गुन्गुनाउन मन लगेर आएको छ ।

तपाइँको प्रतिक्रिया