पेरिसमा तरुल, तिलको लड्डू, चाकु, सेल रोटीसहित मगर समाजको माघे संक्रान्ति
गत बर्ष झैँ यस वर्षपनि मगर समाज फ्रान्सले मगरहरुको मुख्य चाडका रुपमा रहेको माघे संक्रान्ति पर्व बिशेष कार्यक्रम आयोजना गरी आइतवार फ़्रान्सको राजधानी पेरिसमा मनायो । नेपालकै झल्को दिने गरि चाकु, तरुल, सेल रोटी र तिलको लड्डुको परिकारसँगै बिभिन्न कलाकरले मगर संस्क्रिति झल्किने न्रित्यहरु प्रस्तुत गरेका थिए ।
सो समारोह समाजका अध्यक्ष रमेश थापा र मुख्य अतिथी नेपाली दुताबास फ्रान्सका उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरे ।
समाजका उपाध्यक्ष बिष्णु सारू मगरले मगर जाती र संस्कृतिका बारेमा प्रकाश पारे । साथै नेपाल सरकारले घोषणा गरेको “नेपाल भ्रमण बर्ष २०२०” लाइ मगर समाज फ्रान्सले सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे ।
माघे संक्रान्तिमा खाईने परिकारहरु तरुल, तिलको लड्डू, चाकु, सेल रोटी अचार सहित स्वादिस्ट भोजनको साथमा समाजकी कला संयोजक मेनुका थापाले स्थानीय भाई बैनीहरुलाई संयोजन गरी तयार पारेको मौलिक नृत्यकला प्रस्तुत गरीरहँदा आम दर्शकहरु आफु स्वदेश मैं भएको अनुभूति गरेको सुनाए । जापानी नागरिक इकोमी तोगावा स्थानीय चर्चित कलाकार भिम राइ संग “दुबो फुल्यो” गितमा नेपाली ठेट लयमा नाच्दै गर्दा आम दर्शक हरुबाट वान्स मोर वान्स मोरको हुटिङ गुन्जिएको थियो । कार्यक्रम प्रस्तोता द्वय जीवन थापा र रमा थापाले बीच बीचमा ठट्टेउली पारामा सुनाएको सायरीले दर्शकहरुलाइ थप रोमान्चित बनाएको थियो ।
उक्त कार्यक्रममा स्थानीय सबै नेपाली संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बिशेष अतिथिका रुपमा बिश्व मगर संघ बेल्जीयमका युरोप संयोजक नेत्र थापा मगर र मगर संघ पोर्तुगलका अध्यक्ष चोप बहादुर थापा थिए । उक्त समारोहको मन्तब्य दिनेक्रममा प्रमुख अतिथि नेपाली राजदुताबास फ्रान्स उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले यस्ता कार्यक्रमहरुले आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नुको साथै यही जन्मी हुर्कँदो पूस्ताहरुले आफनो मौलिक कला संस्कृतिको मूल्य मान्यता बारे जानकारी पाउने बताए ।
उक्त समारोहमा नेपालका ख्यातिप्राप्त कलाकार द्वय प्रसाद खप्तरी मगर र निता पुन मगरको प्रस्तुतिले दर्शकलाइ निकै बेर नचाएको थियो । साथै स्थानीय कलाकार जी पी गुरुङ, आभाष आचार्य, स्वर्णिम गुरुङ, सुमन ह्यंग राईको प्रतुती निकै आकर्षक रहेको थियो भने डेनमार्कबाट आएका अतिथि कलाकार एन्जल खत्रीको प्रस्तुतिले दर्शक माझ वाहवाही पाएको थियो ।
कार्यक्रमको अन्तमा समाजका अध्यक्ष रमेश थापाले उपस्थित सबैलाई समारोह सफल बनाउन दिनरात खटिने समाजका सबै साथीहरुलाई बिशेष धन्यबाद ज्ञापन गरे ।